March 13th, 2018

अनलाइन बैङ्किङ कारोबार गर्दा अपनाउनुपर्ने सावधानी

रामप्रसाद गौतम / पब्लिक वाइफाइहरू सधैं ह्यार्कसहरूको निशानामा हुन्छन् । त्यसैले पब्लिक वाइफाइको प्रयोग गरेर बैङ्किङ कारोबार गर्न हुँदैन । यस्तो ठाउँबाट पैसा ट्रान्सफर गरिएमा तपाईंको पासवर्ड लिक हुने वा जानकारी लिक हुने सम्भावना अति नै बढी हुन्छ । तसर्थ वाइफाइ पनि सुरक्षित ठाउँको मात्र प्रयोग गर्नुपर्छ । पब्लिक वा फ्रि वाइफाइ भनेको अन्य काममा प्रयोग गरिए पनि अनलाइन पेमेण्टको काम गर्न असुरक्षित मानिन्छ ।

नियमित रूपमा पासवर्ड चेञ्ज गर्नुहोस्
बैङ्किङ कारोबार अनलाइनमार्फत गर्ने मानिसले आफ्नो पासवर्ड नियमित रूपमा चेञ्ज गर्नुपर्छ । फोन वा ल्यापटपको माध्यमबाट यदि कसैले तपाईंको ट्रेक गरिरहेको छ भने पासवर्ड कुनै दिन लिक हुन सक्छ । पासवर्ड लामो राख्नुहोस् र फरक फरक बैङ्कका लागि फरक पासवर्ड प्रयोग गर्नुपर्छ । पासवर्डमा अङ्क अक्षर र चिह्नहरूको प्रयोग गर्नुहोस् । यसले पासवर्ड धेरै हदसम्म सुरक्षित हुन्छ । यसको अतिरिक्त पासवर्ड समय समयमा चेञ्ज गर्नु आवश्यक छ । किनकि यो कतैबाट लिक भएमा तपाईको एकाउण्टबाट रकम रित्तिन सक्छ ।

इमेलको माध्यमबाट साइन इन नगर्नुहोस्
कहिले काहीँ आफ्नो इमेलमा आउने लिङ्कहरूबाट साइन इन गर्ने काम नगर्नुहोस् । कहिले काहीँ इमेलमा आफ्नो खाता सुरक्षाका लागि लगइन गर्नुहोस् भन्ने सूचना आएको हुन्छ । त्यसैले यस्ता फर्जी साइडहरूबाट लगइन गर्ने काम नगरौं । किनकि बैङ्कले यस्ता सूचना पठाउँदैन । त्यसैले बैङ्कको आधिकारिक वेबसाइडबाट मात्र पैसा पठाउने काम गरौं । साइनइन पनि त्यसैबाट मात्र गरौं । किनकि मेशिन आफैमा विवेकशील हुँदैन । यो आदेशमा चल्ने हो । त्यसैले म्यानुअल कारोबारभन्दा नेट कारोबार बढी जोखीमयुक्त हुने भएकाले यसमा पाइला पाइलामा सचेत हुन जरुरी छ ।

वेबसाइडको यूआरएलमा अङ्गे्रजी एस वा सेक्कुयर छ कि छैन चेक गरौं
जुनकुनै वेबसाइडमा लगइन गर्दै हुनुहुन्छ वा काम गर्ने सोचमा हुनुहुन्छ भने त्यसको सबैभन्दा माथिको यूआरएल चेक गर्नु अनिवार्य छ । यूआरएलको शुरूआतमा अङ्ग्रेजी वर्णमालाको एचटीटीपीएस लेखिएको र सेक्कुयर वा एस लेखिएको छ भने मात्र लगइन गर्नुहोस् अन्यथा नर्गनुहोस् । यो नेटको सुरक्षा प्रणालीसँग सम्बन्धित छ ।

पैसा कमाउन अनेक जुक्ति गएिका हुन्छन् । त्यसैले कुनै प्रलोभनमा परी रकम फसाउनु हुँदैन र अनलाइनबाट कारोबार गर्दा थप सचेत हुन जरुरी छ । किनकि मेशिनले मानिस चिन्दैन, केवल पासवर्डमात्र चिनेको हुन्छ । आजसम्म सबै राम्रो भएको छ भनेर अनलाइन बैङ्किङ कारोबार गर्दा सचेत हुन सकिएन भने त्यसले अनेक समस्या सृजना गर्छ ।

अर्को कुरा युनिटीलाइफबाट ठगिएको यो समाजमा कसैले अकारण कसैलाई पैसा दिँदैन । त्यसैले चिट्ठाको लोभमा, जागीरको लोभमा फर्जी र गलत साइडमा आफ्नो खात, मेल दिनु पनि कतैबाट सुरक्षित हुँदैन । त्यसैले सुविधासँग समानान्तर रूपमा सुरक्षा चुनौती जोडिएका हुन्छन् यसबाट सचेत हुन जरुरी छ ।

जोखीमपूर्ण भए पनि ठग्ने, चोर्ने, भ्रष्टाचार गर्ने, अरूको सूचना खोज्नेहरूको बिगबिगी युगौंदेखि चलेको छ । यसबाट बच्न बैङ्कले धेरै सुरक्षा दिएको छ र पनि सावधानी आवश्यक छ ।

लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]