March 12th, 2018

के नेपालको बैंकिङ्ग क्षेत्रमा पनि “सिण्डिकेट” प्रणाली लागू भएको हो ?

राम किशोर मेहता । केहि दिन अगाडी एनआईसी एशिया बैंकले आफनो बैंकमा निक्षेप तान्नको लागि मुद्दती निक्षेपमा प्रदान गर्दै आएको ब्याज दर बढाएको निहुंमा नेपाल बैंकर्स संघले सस्थागत रुपमा नै निर्णय गरेर एनआईसी एशिया बैंकलाई अन्तरबैंक कारोबारबाट बिमुख पार्ने भनि गरेको निर्णयले नेपालको बैंकिङ्ग क्षेत्र  पनि कार्टेलिङ्ग वा सिण्डिकेट प्रणालीबाट अछुतो नरहेको प्रष्ट हुन जान्छ । 

कार्टेलिङ्ग वा सिण्डिकेट प्रणाली भनेको अर्थतन्त्रमा भएको एउटा त्यस्तो व्यवस्था हो, जसअनुसार तुलनात्मक रुपमा थोरै संख्यामा भएको संस्थाले आफुहरु सम्मिलित संघ बनाई सबै सस्ंथाको प्रतिनिधित्व गरेको भनेर स्वयम् घोषित आचरण अनुसार अन्य सदस्य संस्थाहरुको स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कुण्ठित पार्ने काम गर्दछ । सामान्यतः आफु अनुकुल निर्णय गरेर ग्राहकलाई शोषण गर्ने उदेश्य राखि सिण्डिकेट बनाईएको हुन्छ । 

नेपाल बैंकर्स एसोसियसन पनि नेपालको वाणिज्य बैंकहरुले आफनो हक हितको संरक्षण गर्नको लागि बनाईएको एक संगठन हो । यस संगठनले आफनो सदस्यहरुको हितको सम्बन्धमा निर्णय गर्ने गर्दछ । अर्थतन्त्रमा पर्याप्त तरलता भएको समयमा कर्जाको व्याज दर एक निश्चित दरभन्दा तल झर्न नदिने तथा तरलताको अभाव भएको वेलामा निक्षेप ल्याउनको लागि ग्राहकलाई दिईने व्याज दरको एक निश्चित सिमा तोकेको हुन्छ ।

अहिलेको बैंकर्स एसोसिएसन र एनआइसि एसिया बैंकविच भईरहेको टकरावको प्रमुख कारण भनेकै निक्षेप संकलन गर्नको लागि ग्राहकलाई दिईने व्याज दर हो । बैंकर्स एसोसिएसनले अनुमति प्रदान गरेको व्याज दरभन्दा बढी व्याज दर दिने भनेर गरेको विज्ञापनको कारण नै अहिलेको अवस्थाको सिर्जना भएको हो । यदि कुनै बैंकले निक्षेपमा बढी ब्याज दिन्छ भने अरु बैंक तथा बैंकको संगठनलाई यसको बारेमा टाउको दुखाउनुपर्ने कुनै कारण हुनु हुँदैन किनभने हाम्रो देशमा अवलम्बन गरिएको खुल्ला अर्थतन्त्रमा आफुले दिन सक्ने दरमा व्याज दिई निक्षेप संकलन गर्न पाउनु कुनै पनि बैंकको अधिकार हो । यस अधिकारलाई कुनै संगठनले प्रयोग गर्नबाट बञ्जित गर्नु हुँदैन । यदि सक्छ भने अन्य बैंकले पनि ब्याजको दर बढाई निक्षेप संकलन गर्न सक्छ ।

तसर्थ, केहि बैंकको हितमा भन्दा सम्रग अर्थतन्त्रको पक्षमा नेपाल राष्ट्र बैंकले समय सापेक्ष निर्देशन दिई समग्र बैकिङ्ग क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्नको बैंकहरुलाई उत्प्ररित गरि नेपालको बैकिङ्ग क्षेत्रमा विकृतिको रुपमा देखापरिरहेको कार्टेलिङ्गलाई रोक्नु आजको आवश्यकता हो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]