March 11th, 2018

२० हजार लगानीबाट लाखौँकी मालिक : विमला चौधरीको सफलताको कथा

बैंकिङ खबर । बि.सं. २०४४ सालमा राम सिखरझाला गाविस  वडा नं. ८ पहलमानपुर भन्ने गाउँमा बाबु बुधराम थारु र आमा विश्रीदेवि चौधरीको कान्छि छोरीको रुपमा जन्मिएकी विमला देवि चौधरीले मिति २०६८ आषाढ महिनादेखि निर्धन उत्थान बैंकको समुहमा आवद्ध भई कारोबार गरिरहेकी छिन् । समुहमा आवद्ध मात्र नभएर उनले केन्द्र प्रमुखको रुपमा समुहलाई नेतृत्व प्रदान गरि एउटा नमुना केन्द्रको रुपमा पनि आफनो समुहलाई उभ्याउन सफल भएकी छिन् । साविक कृष्णपुर गाविस (हाल कृष्णपुर नगरपालीका) वडा नं. ५ पटेलापट्टि प्रवृद्धित पटेलापट्टि महिला स्वावलम्वी समुह केन्द्र नं. ७१ कि सफल व्यवसायीको रुपमा आफनो परिचय समते बनाइसकेकी चौधरी यस सफलताको श्रेय आफनो श्रीमान खेम बहादुर चौधरीलाई दिन्छिन् । 

श्रीमान् र परिवारको साथ
आफनो योजना तथा श्रीमानको सहयोग अनि परिवारका सदस्यहरुको हौसला प्रेरणाबाट आफूले विस्तारै प्रगती गर्न थालेको उनी बताउँछिन् । सामान्य पारीवारिक पपृष्ठभूमी भएकी विमलाको माइतीघर परिवारमा एक छान खान लगाउन गाह्रो थिएन । २०६३ सालतिर विवाह गरि माहिली बुहारीको रुपमा घरमा भित्रिए पश्चात उनको पारिवारिक जिम्मेवारी बढ्यो । श्रीमानको कमाइ थिएन । पढेलेखेको नहुँदा श्रीमानले जागीर पनि पाउन सकेका थिएनन् । कपडा धुने, नुहाउने साबुन समेत किन्ने पैसा नहुँदा कति रातहरु रुँदै काटेको सम्झिँदा अझै पनि बिमलाका आँखा रसाउँछन् । एकातिर बेरोजगारी समस्या, त्यहाँमाथि छुट्टिएर बसेको, आफ्नो घर बनाउने कुरा त परै जावस साँझ विहानको छाक टार्न समेत धौधौ स्थिती थियो । वर्तमान नै कष्टकर वितिरहेका बेला भावी जीवनको. बारेमा स्पष्ट खाका कोर्न सक्ने त कुरै थिएन । नौ कक्षासम्म पढेकी विमलाको दिमागमा अब केहि गर्नुपर्छ भन्ने साइचाई आयो । आरआरएन भन्ने संस्थाबाट विपन्न बर्गलाई दिइएको होटेल (चाउमनि नास्ता चिया) बनाउने तालिम लिएकी विमलाले रकम अभावका कारण उक्त तालिमबाट लिएको सीपलाई व्यवसायिक रुपमा उपयोग गर्न सकिनन् ।

निर्धन उत्थान बैंकको कार्यक्रममा सहभागीता
कसरी आफ्नो अवस्था सुधार्ने भनेर सोचिरहेकै बेला २०६८ सालमा उनले बैंकबाट कर्जा लिएर केही व्यवसाय गर्न सकिने बारेमा थाहा पाइन् । ‘एक जना दिलीप रेग्मी भन्ने सर अत्तरीयाबाट बैंकको कार्यक्रम लिएर आउनुभएको पनि भर्खर जस्तो लाग्छ,’ उनी सम्झन्छिन्, ‘उहाँले समुह बनाउन सल्लाह सुझाब दिनुभयो । बचतको कुरा सिकाउनु भयो । कर्जा लिएर व्यवसायको बृद्धि गर्न सल्लाह दिनुभयो । श्रीमानलाई पनि सम्झउनुभयो ।’ सुरुमा त उनलाई, कस्तो बैंक हो, पैसा बटूलेर भाग्छ की, भन्ने शंका पनि लाग्यो । तर पनि उनले आँट गरिन् र २१ जनाको समूह बनाएर निर्धन उत्थान बैंकको कार्यक्रममा सहभागी भइन् । त्यसपछि उनमा आँट बढ्यो । 

थप पढ्ने र सिक्ने अवसर
सुरुमा बिमलाले होटल संचालनका लागि २० हजार रुपैयाँ कर्जा लिइन् । होटललाई राम्ररीस्थापित गरिसकेपछि र राम्रो आम्दानी हुन थालेपछि व्यवसाय सम्हाल्ने जिम्मा श्रीमान्ले लिए । यो समयमा उनले थप पढ्ने र सिक्ने अवसर प्राप्त गरिन् । श्रीमान्ले उनलाई पढ्ने हौसला दिए । उनले एसएलसी पास गरिन् र कृषि जेटीए पढिन् । एनएक्सडब्लुबाट च्याउ उत्पादन गर्ने तालिम लिइन् । आरआरएनबाट बंगूरपालनको तालिम पनि लिन भ्याइन् । 

तीन व्यवसाय सँगसँगै
अहिले बिमलाले बंगुरपालन, च्याउ खेती र होटल व्यवसाय सँगसँगै अघि बढाइरहेकी छिन् । कार्तिक महिनामा मात्र उनले ४४ हजारको बंगुर बेचिन् । ‘तीन वर्षदेखि १० हजार रुपैयाँ वार्षिक भाडा तिरेर सात कठ्ठा जग्गा भाडामा लिइ झन्डै सात लाख रुपैयाँ लगानीमा खोर निर्माण गरि बंगुरपालन गरिरहेका छौँ,’ उनले बताइन् । उनले प्रती गोटा तीन हजार पाँच सय रुपैयाँमा बंगुरका बच्चा विक्री गर्ने गरेकी छिन् ।

त्यस्तै, पोहोर साल १५ हजार लगानीबाट ९० हजारको च्याउ उत्पादन गरेर बेचिन् । यसबर्ष दैनिक सात किलो च्याउ प्रतिकिलो दुई सय रुपैयाँमा विक्री गरि आम्दानी गरिरहेको उनी बताउँछिन् । च्याखेती गर्ने मात्र नभएर उनले च्याखेती तालिम पनि दिने गरेकी छिन् । कैलाली च्याउ प्रसोधन केन्द्रले तालिम दिन बोलाउँदा दैनिक १५ सय रुपैयाँ भत्ता दिने गरेको छ भने एनएक्सडब्लुले ३५ सय रुपैयाँ भत्ता दिने गरेको छ ।

त्यसैगरी, होटल व्यवसायबाट उनका श्रीमानले मासिक ३० हजारभन्दा बकढी आम्दानी गरिरहेका छन् । विमला भन्छिन्, ‘हाल चोकमा मासिक दुई हजार रुपैयाँ भाडा तिरेर होटल संचालन गरेका छाँै ।’ 

आफ्नै कमाईको घर घँडेरी
समुहमा बसेर व्यवसायको विस्तार गरेसँगै बिमलाले गुलरिया २ नं. चौराहामा घडेरी जोडेकी छिन् । नौ वर्षको छोरा अमृतलाई  गुलरियाको नाम चलेको बोर्डिङ स्कुल सरस्वती विद्या निकेतनमा पढाएकी छिन् । छोरा अहिले तीन कक्षामा पढिरहेका उनले बताइन् । यति मात्र नभएर आफ्नै कमाईबाट उनले सानो घर पनि बनाएकी छिन् । श्रीमान्ले नयाँ मोटरसाइकल किनेका छन् । दुवै जनाले १।१ वटा राम्रो मोबाइल किनेका छन् । रंगीन टिभी र दुई वटा साइकल पनि किनेका छन् ।

बचत पनि
‘साँच्चै भन्ने हो भने निर्धन उत्थान बैंक हाम्रो सारथी बनेको छ,’ बिमला भन्छिन्, ‘अहिले समूहका सबै जनाले कर्जा बचतको कारोबार गर्दै आएका छन् ।’ अहिले बिमलाको समुहमा करिब १५ लाख ११ हजार आठ सय ४३ रुपैयाँ लगानीमा रहेको कर्जा रकम छ । बचत पनि सदस्यहरुको व्यक्तिगत बचततर्फ एक लाख ५८ हजार सातसय ५० रुपैयाँ पुगेको छ भने समुहको बचत एक लाख ९२ हजार एक सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, समृद्धि बचततर्फ एक लाख ८६ हजार तीन सय रपैयाँ जम्मा भइसकेको छ । बिमल खुसी हुँदै बताउँछिन्, ‘साबुन किन्ने पैसा नहुँने अवस्थामा थिएँ । निर्धन उत्थानबाट लिएको २० हजार रुपैयाँ कर्जालाई व्यवसायिक रुपमा लगानी गरेर आज सक्षम बनेकी छु ।’ अहिले विनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा लिएर चलाउने गरेको उनी बताउँछिन् । 

विमलाका श्रीमान खेम बहादुर पनि मख्ख छन् । भन्छन्, ‘किस्ता तिर्न पनि गाह्रो नहुने रहेछ व्यवसाय गरे पश्चात त । अहिले हामीले पहिलेका दुःखहरु भुलिसकेका छौँ, स्वरोजगार भएका छौँ । यो सबै कुराको श्रेय निर्धन उत्थान बैंकलाई जान्छ ।’ निर्धन उत्थान बैंकले आफ्नो जीवनस्तर सुधारी छोराको भविष्य सुन्दर बनाउन समेत सहयोग गरेको उनी बताउँछन् । अन्य महिला दिदिवहिनीहरुलाई पनि स्वरोजगार बन्न तथा उद्यमी बनी आफ्नो भविष्य बनाउन आग्रह गर्छिन् विमला । उनी भन्छिन्, ‘ तपाईँहरुसँग पैसा छैन भने निर्धन उत्थान बैंकबाट रकम लिएर उद्यमी बन्न सक्नुहुन्छ । बैँक सारथी बनि हाम्रो घर दैलोमा आएको छ ।’

(बुद्धि प्रकाश घिमिरे, शाखा प्रमुख, निर्धन उत्थान बैंक लिमिटेड, शाखा कार्यालय, अत्तरीया)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]