March 8th, 2018

रकम निकासा नभएको भन्दै चार स्थानीय तहले बाँडेनन् भत्ता

बैतडी । चालु आर्थिक वर्षको आठ महिना बित्नलाग्दासमेत जिल्लाका चारवटा स्थानीय तहले अझै पनि सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् । जिल्लाको मेलौली नगरपालिका तथा दोगडाकेदार, सुर्नया र शिवनाथ गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गरेका छैनन् । सामाजिक सुरक्षाभत्ता नपाएको भन्दै नागरिक निराश भएका छन् । 
 
सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा आफूहरुलाई दुःख लागेको दोगडाकेदार गाउँपालिका ६ का हरिसिंह ऐरीले बताए । ’सामाजिक सुरक्षाभत्ताबाटै गुजारा गर्दै आएको हुँ,’उनले भने, ’क वर्गको शारीरिक अपांगता भएको व्यक्ति हुँ, मैले आठ महिनासम्म सामाजिक सुरक्षाभत्ता नपाउँदा निकै समस्या भएको छ ।’ 
 
यस्तै सुर्नया गाउँपालिकाले पनि अहिलेसम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेको छैन् । अर्थ मन्त्रालयले सामाजिक सुरक्षाभत्ताका लागि आवश्यक रकम निकासा नगर्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले जानकारी दिए। 
 
यस्तै मेलौली नगरपालिकाले पनि बजेट निकासा नहुँदा विकास बजेटबाट तत्कालका लागि सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी गरेको नगरप्रमुख कृष्णसिंह नायकले बताए। शिवनाथ गाउँपालिकाले पनि चालु आवको आठ महिनासम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेको जनाएको छ । 
 
सामाजिक सुरक्षाभत्ताका बारेमा व्यापक गुनासो आएकाले विकास बजेटबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।
 
दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले भने विकास बजेटबाट पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गरिसकेका छन् । नागरिकको व्यापक जनगुनासोपश्चात् सामाजिक सुरक्षाभत्ता वितरण गर्न बाँकी रहेका स्थानीय तहले विकास बजेटबाट वितरण गर्ने तयारी थालेका छन् । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]