March 8th, 2018

सहकारीमय गाउँ घोषणा

प्रकाश पाक्साँवा । केही वर्षअघिसम्म तेह्रथुममा बैंक तथा वित्तीय संस्था नहुँदा स्थानीयबासिन्दाले आफूसँग भएको नगद थैलीमै राख्ने गर्दथे । ऋण चाहिनेहरू साहुमहाजनको घरमा धाउन बाध्य थिए । तर अहिले परिस्थिति फेरिएको छ । गाउँमै सहकारी संस्था खुल्न थालेपछि स्थानीयलाई सहज भएको छ ।

०६६ सालमा आठराई गाउँपालिका–६ (साविक चुहानडाँडा–२) का जगतप्रसाद थपलिया गाउँमै सहकारी खोल्न तम्सिए । गाउँका ३८ जना मिलेर चुहानडाँडा बचत तथा ऋण सहकारी संस्था खोले । “सुरु–सुरुमा गाउँका धेरैलाई सहकारीमा आवद्ध गराउन निकै गाह्रो प¥यो, कत्तिले गाली पनि गरे,” थपलियाले भने, “कत्तिले त पैसा खाई देलान् है, होस् गर भन्दै डर पनि देखाए ।” तर त्यही सहकारी अहिले गाउँघरका साना ठूला आर्थिक समस्या टार्ने माध्यम बनेको छ । गाउँका सबै घरधुरी सहकारीमा सेयर सदस्य बनेका छन् । सबैले सहकारीमा बचत गर्छन् । आवश्यक पर्दा ऋण लिन्छन् र समयमा फिर्ता गर्छन् । साहुको चर्को ब्याज पनि तिर्नु परेको छैन । अझ केहीले त सहकारीबाट ऋण लिएर व्यवसायसमेत थालेका छन् । 

०६६ सालमा सहकारी स्थापना गर्दा थपलियाले देखेको सपना अहिले पूरा भएको छ । त्यति बेला थालेको अभियानमा अहिलेसम्म आठराई गाउँपालिकाको वडा नं. ६ अर्थात् साविकको चुहानडाँडा गाविसका सबै घरधुरीको सहकारीमा कम्तिमा एक कित्ता सेयर छ । गाउँका सबै ६ सय ८१ घरधुरी नै सेयर सदस्य बनेपछि चुहानडाँडालाई जिल्लाकै पहिलो ‘सहकारीमय गाउँ’ घोषणा गरिएको छ । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरे र सहकारीकर्मीहरूले एक कार्यक्रम गरी ‘सहकारीमय गाउँ’ घोषणा गरेका हुन् । सुरुमा प्रतिसेयर सदस्य २० रुपैयाँका दरले बचत गर्न थालिएको सहकारीमा अहिलेसम्ममा ५० लाख २७ हजार ३ सय ४ रुपैयाँ निक्षेप मात्रै संकलन भएको छ । संस्थामा हाल सबै सदस्यले मासिक कम्तिमा पनि २० रुपैयाँदेखि २०० रुपैयाँसम्म बचत गर्ने गरेका छन् । संस्थामा ३ सय ६६ महिला र ३ सय १५ जना पुरुष सदस्य गरी ६ सय ८१ जना सेयर सदस्य रहेको व्यवस्थापक कृष्ण बाँस्कोटाले बताए । उनले सहकारीको कुल सेयर पुँजी ८ लाख ५३ हजार पुगेको जानकारी दिए ।

सहकारीले नियमित बचतसँगै बाल बचत, ज्येष्ठ नागरिक बचत तथा ऐच्छिक बचतको समेत सुरुवात गरेको छ । सहकारीको नियमित कार्यालय सञ्चालन र कारोबार कम्प्युटरबाटै गर्न थालिएको छ । सहकारीको भवन निर्माण गर्न गाउँमा सहकारीको अभियान भिœयाउने अध्यक्ष थपलियाले यसअघि नै जग्गा निःशुल्क दिएका छन् । 

गाउँमा उद्यम गर्न चाहनेलाई सस्तो व्याजमा ऋण, कमाएको दुई पैसा जम्मा गर्न र मुनाफा लिन सहकारीले सजिलो बनाएको स्थानीय सिर्जना थपलियाले बताइन् । “सहकारी खुलेपछि सानातिना आर्थिक समस्या पर्दा साहु काढ्न जानुपर्ने बाध्यता हटेको छ,” उनले भनिन् । 

सहकारी सुरुवातमा भन्दा अहिले स्थानीयबासीमा फरक चेतना विकास गर्न सफल भएकोमा अध्यक्ष थपलियाले खुसी व्यक्त गरे । “सीमित व्यक्तिले थालेका थियौं,” उनले भने, “अहिले सबैको चाहना सहकारीमा आवद्ध हुने र आर्थिक समृद्धि गर्ने छ ।” सहकारीले अहिलेसम्म ६८ लाख पुँजी संकलन गरेको छ । 
सहकारी खुलेपछि बचत गर्ने बानीको विकास भएको स्थानीय रामप्रसाद थपलियाले बताए । “सहकारी गाउँका गरिब र निम्न वर्गका जनताका लागि सहयोगी बन्यो,” थपलियाले भने, “सहकारी खुलेपछि गाउँमा पैसा नभएरै व्यवसाय गर्नबाट बञ्चित हुनुपर्ने अवस्था छैन ।” 

सहकारीले विना धितो ऋण दिने गरेकाले पनि दुर्गम गाउँका बासिन्दालाई सजिलो भएको छ । “दुर्गम गाउँमा समेत सहकारीको सेवा छ,” जिल्ला सहकारी संघकी अध्यक्ष रुपा कन्दङ्वाले भनिन्, “सहकारीबाटै समृद्धि सम्भव छ भन्ने चेतनाको विकास बढ्दो छ ।” गाउँगाउँमा समेत सहकारी खुलेपछि सहकारीबाट ऋण लिएर व्यवसाय गर्ने र स्वरोजगार बन्ने युवाहरूको संख्यासमेत बढ्दो छ । कारोबार दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]