March 7th, 2018

विश्वकै सबैभन्दा धनी रहेनन् ‘बिल गेट्स’

बैंकिङ खबर । १८ वर्षदेखि लगातार विश्वकै सबैभन्दा धनी व्यक्तिको स्थान ओगटिरहेका बिल गेट्स यसपाली भने एक स्थान पछि परेका छन् । माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स ९० अर्ब बराबरको सम्पत्तिका साथमा दोस्रो स्थानमा परेका छन् । 

अमेरिकाको सर्वाधिक चर्चित म्यागाजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०१८ को अर्वपतिको सूचिमा पहिलो स्थान जेफ बेजोसले ओगटेका छन् । अमेरिकन अनलाइन सपिङ साइट अमेजनका संस्थापक जेफ बेजोसले सम्पत्ति कमाउने कामलामा रेकर्ड नै कायम गरेका छन् । फोर्ब्सका अनुसार, उनको सम्पत्ति एक वर्षमा ३९ अर्ब  अमेरिकी डलरले बढेर ११२ अर्ब अमेरिकी डलर बराबर पुगेको छ ।   

सेयर बजारका बादशाह वारेन बफेट ८४ अर्ब अमेरिकी डलर सम्पत्तीसहित तेस्रो स्थानमा रहेका छन् । सूचीको चौथो स्थानमा परेका र युरोपकै धनी बर्नाड आर्नउल्टको सम्पत्ति ७२ अर्ब डलर रहेको छ । त्यस्तै, सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ अर्ब अमेरिकी डलर सम्पत्तीका साथ पाचौं स्थानमा रहेका छन् ।

अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको सम्पत्ती यो वर्ष तीन अर्ब अमेरिकी डलरमा झरेको छ । जसअनुसार, गत वर्ष अर्वपतिहरुको सूचिको ५४४औँ स्थानमा रहेका ट्रम्प यो पटक ७६६औँ स्थानमा झरेका छन् । 

देशका आधारमा अमेरिकामा सबैभन्दा धेरै ५८५ अर्बपति रहेका छन् । दोस्रो स्थानमा चीन रहेको छ । क्यालिफोर्नियामा मात्रै १४४ अर्बपति रहेका छन् । यो अमेरिका र चीन बाहेक अन्य कुनै पनि मुलुकको तुलनामा बढी हो । युरोपमा जर्मनीमा सर्वाधिक अर्बपति रहेका छन् । यो मुलुकमा १२३ अर्बपति रहेका छन् । भारतमा ११९ र रुसमा १०२ अर्बपति रहेका छन् । फोब्र्सका अनुसार बेलायतमा ५३ अर्बपति रहेका छन् । 

फोर्ब्सले हरेक वर्ष विश्वका अर्वपतिहरुको सूचि सार्वजनिक  गर्ने गरेको छ । यसपालीको सूचिअनुसार, विश्वमा दुई हजार दुई सय आठ जना अर्बपति रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]