fbpx
Sunday , September 23 2018

वित्तीय साक्षरता अभिवृद्धिका लागि नरबहादुर थापाका टिप्सहरु

March 4, 2018

विश्वको कुल जनसंख्याको ५० प्रतिशत जनसंख्या वयश्क रहेको तथ्यांक २०१४ मा सार्वजनिक भएको थियो । विश्व बैंकका अनुसार नेपालमा कुल जनसंख्याको ३४ प्रतिशत वयश्क छन् । तर एनेस्कोले ४० प्रतिशत जनसंख्या वयष्क रहेको बताएको थियो । त्यस्तै, भारतको ५३ प्रतिशत जनसंख्या वयष्क रहेको तथ्यांक रहेको छ । 

विश्वमा विभिन्न मुलुकहरुमा वित्तीय साक्षरता भएका मानिसहरुको संख्या १३ देखि ७१ प्रतिशतसम्म रहेको छ । नेपालमा भने वित्तीय साक्षरताको अवस्था ज्यादै न्युन भएको विश्व बैंकको तथ्यांकले देखाएको छ । विश्व बैंकका अनुसार १८ प्रतिशत नेपाली मात्रै वित्तीय रुपमा साक्षर रहेका छन् । छिमेकी मुलुक भारतमा २४ प्रतिशत मानिस वित्तीय रुपमा साक्षर रहेका छन् भने विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका ५७ प्रतिशत मानिसहशर वित्तीय रुपमा साक्षर छन् । यमनमा वित्तीय साक्षरताको अवस्था सबैभन्दा कमजोर रहेको छ । यहाँका १३ प्रतिशत जनता वित्तीय रुपमा साक्षर रहेको पाइएको छ । त्यस्तै, स्वीडेन र डेनमार्कमा वित्तीय साक्षरता सबैभन्दा धेरै अर्थात ७१ प्रतिशत रहेको छ । 

नेपालमा वित्तीय साक्षरता फैलाउने माध्यम भएन
नेपालमा वित्तीय साक्षरता फैलाउन नसकेकै कारण वित्तीय साक्षरताको अवस्था कमजोर रहेको हो । राजनीतिक पार्टीहरुले आमसभा गरेर, निर्वाचन गरेर वा बेलाबेला भेलाहरु गरेर राजनीतिक एजेण्डाहरुको बारेमा बारम्बार जानकारी गराएका कारण नेपालमा राजनीतिक चेतना बढी छ । यसरी नै विभिन्न कार्यक्रमहरु गरेर वित्तीय साक्षरताबारे चेतना फैलाउन नसकेका कारण नेपालमा वित्तीय साक्षरता वृद्धि हुन सकेको छैन । 

विकासका लागि वित्तीय साक्षरता अपरिहार्य छ । वित्तीय साक्षरता मार्फत वित्तीय सुरक्षा, आधुनिक बैंकिङ र यसको प्रयोग, लगायतका विषयमा जान्न सकिन्छ । आधुनिक वित्तीय प्रणालीको प्रयोग नगर्दा अन्य मुलुकसँग आवद्ध हुन सकिँदैन, जुन समग्र मुलुकका लागि नै नोक्सानीको कुरा हुन आउँछ । त्यसैले वित्तीय साक्षरता के हो ? वित्तीय साक्षरता र वित्तीय सुरक्षाबीच के सम्बन्ध छ ? वित्तीय साक्षरतालाई कसरी विस्तार गर्न सकिन्छ ? लगायतका विषयहरुमा जान्नु जरुरी छ । 

यसका लागि विद्यार्थीहरुमा वित्तीय चेतना जगाउनु पहिलो कुरा हुन आउँछ । साथै आम नागरिकलाई वित्तीय क्षेत्र, संस्थागत सुशासन लगायतबारे ज्ञान हुनु जरुरी छ । अहिले सबै स्थानीय तहमा स्थानीय सरकार बनिसहेको छ । उनीहरुले विकासका कामहरु गर्दैछन् । उनीहरुलाई पनि पारदर्शी र प्रभावकारी ढंगले काम गर्न वित्तीय साक्षरताको आवश्यकता पर्दछ । 

सबै क्षेत्रमा वित्तीय साक्षरता जरुरी
वित्तीय साक्षरता बैंकिङ क्षेत्रमा मात्र नभएर सबैका लागि जरुरी छ । सबै नागरिक वित्तीय रुपमा सुरक्षित बन्नका लागि वित्तीय चेतनाको आवश्यकता छ । वित्तीय साक्षरताको कुरा गर्दा सहकारीलाई पनि विर्सनु हुँदैन । अहिले नेपाल सरकारबाट लाइसेन्स पाएका सबैजसो सहकारीमा गरी करिव ६० लाखको हाराहारीमा सदस्यहरु छन् । त्यसैले वित्तीय चेतना सहकारी क्षेत्रमा पनि लैजानुपर्छ । रेमिट्यान्ससँग पनि वित्तीय चेतना जोडिएको छ । मुलुकमा हरेक बर्ष करिब ७ खर्ब रेमिट्यान्स भित्रिने गरेको छ । ४० लाख नेपाली विदेशमा काम गरिरहेका छन्, उनीहरुलाई पनि वित्तीय चेतना आबश्यक छ । वैदेशिक रोजगारीमा जानेहरुसँग वित्तीय चेतना भयो भने रेमिट्यान्स आधिकारिक च्यानलबाट मात्रै भित्रिन्छ । जसले व्यक्ति अथवा रेमिट्यान्स कम्पनीलाई मात्र नभएर समग्र मुलुकलाई नै फाइदा पुर्याउन्छ । 

बैंकिङ प्रविधिको विकास र महत्व
विश्व प्रविधिको इतिहास हेर्ने हो भने १९१० मा प्रविधिको विकास भएको देखिन्छ । १९१० को दशक क्रेडिट कार्डको दशक रह्यो । त्यसपछि सन् १९६० को दशक एटिएम कार्डको दशक बन्यो । १९७० को दशक भने वित्तीय स्टक कारोबारको दशक बन्यो । सन् १९८० को दशक जटिल तथ्यांकहरु कम्प्युटरको माध्यमबाट राख्ने दशक रह्यो । त्यसपछि १९९० को दशक इन्टरनेट बैंकिङको दशक रह्यो ।

नेपालमा (फाइनान्सीयल टेक्नोलोजी) फिनटेक वित्तीय क्षेत्रबाट नै शुरु भएको हो । नेपालमा सन् १९९० मा नविल बैंकले क्रेडिट कार्र्ड शुरु गरेको थियो । १९९५ मा हिमालयन बैंकले एटिएम, २००२ मा कुमारी बैंकले इन्टरनेट बैंकिङ र २००४ मा लक्ष्मी बैंकले एसएमएस मोवाइल बैंकिङ भित्राएको हो । अहिले पिओएसको प्रयोग व्यापक भइरहेको देख्न सकिन्छ । यसरी बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेको छ । 

अहिले अनलाई बैंकिङ, इकमर्श, ब्रान्चलेस बैंकिङ, बैंकिङ कार्डहरु लगायतको विकास भइसकेको छ । यि सबै फिनटेकका प्रोडक्टहरु हुन् । अहिले भारत लगायत अन्य देशले फिनटेकमा ध्यान दिनुको मूख्य कारण भनेको लागत खर्च घटाउनु हो । त्यसैले कम लागतमा राम्रो आर्थिक वृद्धि गर्ने हो भने फिनटेक अर्थात फाइनान्सियल टेक्नोलोजीको प्रयोग जरुरी छ । ग्रामिण क्षेत्रमा लागत महंगो भएका कारण नै बैंक वित्तको उपस्थिती हुन सकेको छैन । प्रविधिको विकास गर्ने हो भने ती ग्रामिण भेगमा समेत बैंकिङ सेवा पुग्छ । वित्तीय प्रविधिको महत्व उत्पादकत्वमा समेत जोडिएको छ । प्रविधिले उत्पादकत्व बढाउन मद्दत गर्छ । 

अहिले सेयर बजारमा धितोपत्र बोर्डले आस्वा प्रणाली लागु गरेको छ । यो एउटा आधुनिक प्रविधि हो । अहिले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन प्रविधिको प्रयोगबाट १५ वाणिज्य बैंकले ८ सय १२ केन्द्रबाट शाखा रहित बैंकिङ सेवा दिइरहेका छन् । यो प्रविधिकै कारण सम्भव भएको हो । 

वित्तीय क्षेत्रको सबलीकरणमा राष्ट्र बैंक
राष्ट्र बैंकले वित्तीय क्षेत्रको सवलीकरण, स्थायीत्व, वित्तीय साक्षरता बढाउने कार्यहरु एकिकृत निर्देशन मार्फत गर्दै आएको छ । यस बर्ष २३ बुँदै एकिकृत निर्देशन जारी गरेको छ । निर्देशन नम्बर ६ मा संस्थागत सुशासन सम्बन्धी कुरा उल्लेख गरेको छ । यसमा बैंकका सञ्चालक समिति, सीईकोको नियुक्ति, काम, कर्तव्य, अधिकार सबै उल्लेख छ । 

राष्ट्र बैंकले पछिल्लो समय वित्तीय साक्षरताका लागि बिशेष महत्व दिएको छ । वित्तीय साक्षरता सम्बन्धी कुरा राष्ट्र बैंकको निर्देशन नम्बर २२ मा उल्लेख गरिएको छ । राष्ट्र बैंक वित्तीय साक्षरताको क्षेत्रमा आज मात्रै होइन २०२५ सालदेखि नै लागेको हो । वि.सं. २०२५ सालमा राष्ट्र बैंकले बैंकिङ प्रवद्र्धन समिति स्थापना गरी एउटा कोष नै खडा गरेर रेडियो, पत्रपत्रिका मार्फत एवं गोष्ठि तथा सेमिनारबाट वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो । अहिले यो जिम्मेवारी बैंकर्स संघलाई दिइएको छ । बैंकहरुले वित्तीय साक्षरता अभिवृद्धि गर्न सकेनन् भने राष्ट्र बैंकले त्यो अधिकार खोस्न सक्छ । 

नेपालको सन्दर्भमा वित्तीय साक्षरता र प्रविधिमा धेरै काम गर्न बाँकी छन् । राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको नीतिले धेरै बैंकहरु मर्जर भएका छन् । मर्जरले यसको संख्या घटे पनि शाखा संख्या बढेको छ । वित्तीय स्थायित्व नेपालमा राम्रो छ । भारतमा भन्दा हाम्रो वित्तीय क्षेत्र सुरक्षित छ । हाम्रोमा खराब कर्जा २ प्रतिशत छ, भारतमा १२÷१३ प्रतिशत छ । तर पूर्ण रुपमा भने नेपालको वित्तीय अवस्था सृदृढिकरण भइसकेको छैन । वित्तीय क्षेत्रका चुनौतीहरु धेरै छन् । यि चुनौतीहरुको सामना गर्न अझै मर्जर नीतिलाई बल गरिएको छ । राष्ट्र बैंकले कानूनी सुधारहरु पनि गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत सुशासनलाई पनि जोड दिइएको छ । नेपालको वित्तीय क्षेत्र सुधार्नका लागि राष्ट्र बैंकले विश्व बैंक, एशियाली विकास बैंक लगायतका निकायसँग सहकार्य समेत गरिरहेको छ । 

नेपालको वित्तीय क्षेत्र सुधारका लागि बाह्य सहयोग
विश्व बैंकले मात्रै २००२ देखि २००९ सम्म साढे ७ अर्ब रुपैयाँ नेपालको वित्तीय क्षेत्र सुधारको लागि सहयोग गरेको थियो । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रका लागि अन्य सहयोग पनि गरेको छ । सबै तथ्यांक हेर्ने हो भने हालसम्म विश्व बैंकले २८÷३० अर्ब जति रकम सहयोग गरिसकेको छ । त्यस्तै, एसियाली विकास बैंकबाट १५ अर्ब जति सहयोग प्राप्त भएको छ । वित्तीय क्षेत्रको विकासकै लागि यति ठूलो परिणाममा वित्तीय सहयोग परिचालन गरिरहेको अवस्थामा वित्तीय चेतनामा सँगसँगै काम गरिएन भने भविष्यमा वित्तीय क्षेत्रको चुनौती ठूला हुने देखिन्छ । वित्तीय क्षेत्रको विकासलाई अघि बढाउन सबैभन्दा आवश्यक कुरा भनेको वित्तीय साक्षरता नै हो । किनकि, सँधैभरि हामीलाई विदेशीको सहयोग प्राप्त हुँदैन । 

लघुवित्तहरुमा समस्या
अहिले नेपालका लघुवित्तहरुमा केहि समस्या देखिएको छ । हाल संचालनमा रहेका लघुवित्तहरुको सहयोगका लागि राष्ट्र बैंकले विभिन्न सेवा सुविधाहरु ल्याएको छ । नेपाल राष्ट्र बैंक विश्वको एक मात्रै केन्द्रीय बैंक हो जसले वित्तीय समावेशीताको मुद्धा समाधान गर्ने उपायको रुपमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई क्रमशः ५, साढे ४ र ४ प्रतिशत अनिवार्य विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्ने नियम बनाएको छ । यस प्रकारले समग्र कर्जालाई हेर्ने हो भने एक सय ११ अर्ब रुपैयाँ शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा गएको छ । यसले गर्दा लघुवित्तहरुलाई कुनै फण्डको समस्या छैन । 

लघुवित्तहरुमा डुप्लिकेसनको समस्या रहेको छ । एउटै व्यक्ति धेरैवटा लघुवित्तमा सदस्य भएर ऋण लिएको हामीले पाएका छौँ । एउटा लघुवित्तबाट लिएको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिने प्रचलन पाइएको छ । एउटै व्यक्ति १२ वटासम्म लघुवित्तमा सदस्य बनेर लघुवित्तबाट प्राप्त कर्जाको दुरुपयोग समेत गरेको पाइएको छ । यसरी राष्ट्र बैंकले उपलब्ध गराएको वित्तीय साधन दुरुपयोग भइरहेको हामीले निरिक्षण गर्दा पाएका छौं । यस क्षेत्रमा जग्गा दलालहरु पनि प्रवेश गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुलाई बढी व्याज दिने लोभमा पारेर यस्ता दलालहरुले ठूलो रकम हात पार्ने र फरार हुने गरेका छन् । यसले पनि लघुवित्त क्षेत्रलाई समस्यामा पारेको छ । यद्यपि, लघुवित्तहरुले आफ्ना सदस्यहरुलाई कर्जा दिन बन्द नगरेका कारण यो कुरा सतहमा आएको छैन । 

गभर्नर सरले विभिन्न कार्यक्रममा गएर लघुवित्त क्षेत्रमा भएको विकृतिहरुको उजागर गर्दा नकारात्मक रुपमा बंगाएर समाचार बनाउने गरेको समेत पाइएको छ । यसलाई सकारात्मक रुपले लिइदिनुहुन म आग्रह गर्दछु । हामीले विकृतिहरुबाट लघुवित्त क्षेत्रलाई सचेत गराएका हौँ । लघुवित्त क्षेत्र नडुबोस् भन्ने भावना राष्ट्र बैंकको छ । यसका लागि राष्ट्र बैंकले कर्जा सूचना केन्द्रलाई पनि सक्रिय बनाएको छ । सूचना केन्द्रमा लघुवित्तहरु जाउन्, कर्जा दिँदा कर्जा सूचना केन्द«को वेभसाइटमा हेरेर मात्रै कर्जा दिउन् भन्ने हाम्रो चाहना छ । यसले कर्जाको दुरुपयोग रोक्न मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ । लघुवित्तहरुले कर्र्जा दिएको १५ दिनमा त्यो सूचना पोष्ट गर्नुपर्ने प्रावधान रहेपनि लघुवित्तमा काम गर्ने जनशक्तिले सूचना पोष्ट नगरेको पाइएको छ । अन्य बैंक जान नसकेका ठाउँमा लघुवित्तहरुले बैंकिङ सेवा दिएका छन् यो सराहनीय छ । यसकारण यिनीहरुलाई बढ्दो विकृतिबाट जोगाउन राष्ट्र बैंकले चिन्ता प्रकट गरेको हो । त्यसैले अब लघुवित्तमा काम गर्नेले राष्ट्रिय महत्व बुझ्नुपर्छ । आफ्नो संस्थाको मात्रै भलाई सोँच्दा समग्र लघुवित्त क्षेत्र नै ढल्न सक्छ । यसतर्फ ध्यान दिन जरुरी भइसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.