May 12th, 2016

मुद्रा वृद्धि : वार्षिक १५ देखि १७ प्रतिशत

डा.वामदेव सिग्देल – 
moneyमुद्रा व्यवस्थापन भन्नाले मुद्राको आवश्यकतासम्बन्धि सही आँकलन, छपाइ, वितरण, छपाइ भएका नयाँ लगायत नोटको व्यवस्थापन, सफा नोटको आपूर्ति, बीमा, जलान लगायत नोट/सिक्का व्यस्थापन कार्यको आधुनिकीकरण समेतलाई जनाउँदछ । विकसित मुलुकहरुका केन्द्रिय बैँकहरुले नोट छपाइदेखि मुद्रा व्यवस्थापनसम्मका सबै पाटोलाई आधुनिकीकरण गरी अर्थतन्त्रमा मुद्रा आपूर्ति पक्ष चुस्त राखेको पाइन्छ । छिमेकी मुलुकहरु भारत र चीनले चलनचल्तीमा रहेका आफ्ना मुद्राहरुलाई स्तरयुक्त तुल्याउँदै गएका छन् । यसका अलावा यी मुलुकहरुले नोटकोषहरुको व्यवस्थापन तथा नोटहरुको जलान र सर्टिङ्ग गर्ने कार्यलाई आधुनिकीकरण गरिसकेका छन् । 

मुद्रा आपूर्ति व्यवस्थापनमा केन्द्रिय बैँक
केन्द्रिय बैँकको सबैभन्दा महत्वपूर्ण काम मुद्राको आपूर्ति व्यवस्थापन पक्ष चुस्त राख्नु हो । जसअन्तर्गत, केन्द्रिय बैँकले राम्रो गुणस्तरको विश्वस्त मुद्रा तथा सिक्काहरु प्रवाह गर्ने र जनताको मागसँग यस्तो प्रवाहको तालमेल मिलाउने काम गर्दछ । त्यस्तै, जनताहरुले अर्थतन्त्रमा कारोबारको बेलामा धेरै सर्कुलेट गरेर बैँकमा दाखिला हुन आएका झुत्रा नोटहरुको व्यवस्थापन पनि केन्द्रिय बैँकको मुद्रा व्यवस्थापन पक्षको महत्वपूर्ण कार्यको अर्को पाटो हो । विश्वमा विशेषगरी केही दशक यताबाट जाली नोटहरुको प्रयोगमा वृद्धि हुँदै गएकाले चलनचल्तीमा आउने नोटहरुलाई सुरक्षित तुल्याई जनताहरुलाई विश्वस्त बनाउँदै लैजानु चुनौतीपूर्ण बन्दै गएको छ । विकसित मुलुकका केन्द्रिय बैँकहरुले मुद्राको आपूर्ति नोटकोषमार्फत गर्दा सकभर ुशभचय धबकतभ कगउउथिु को सिद्धान्तमा गर्दै आएका छन् । यद्यपि, यो सिद्धान्तमा टेकेर मुद्रा व्यवस्थापनको कार्य गर्न विकाशोन्मुख मुलुकका केन्द्रिय बैँकहरुलाई उनीहरुको विद्यमान मुद्रा व्यवस्थापन पूर्ण रुपमा आधुनिक नबनाई सम्भव देखिँदैन ।

विश्व परिवेशमा मुद्राको चलनचल्ती
विश्व परिप्रेक्षयमा हेर्दा मुद्राको चलनचल्ती समग्रमा विश्वका मुलुकहरुमा कुल गार्हस्थ उत्पादनको २.५ प्रतिशतदेखि ८ प्रतिशतबिचको हाराहारीमा रहेको पाइन्छ । तर, यो प्रतिशत भारतको हकमा १३ देखि १४ को हाराहारीमा र पाकिस्तानको हकमा ९ देखि ११ प्रतिशतमा रहेको छ । विश्वका विकसित मुलुकहरुमा मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड आदि मुद्राका आधुनिक स्वरुपतर्फ उन्मुख भएबाट उनीहरुको मुद्रा चलनचल्ती प्रतिशत कुल गार्हस्थ उत्पादनमा न्युन रहन गएको हो । तर, भारत, नेपाल, पाकिस्तान जस्ता एसियाली मुलुहरुमा अपेक्षाकृत रुपमा मुद्राको आधुनिक स्वरुपको उपयोग कम मात्रामा हुने गरेकाले कुल गार्हस्थ उत्पादनमा मुद्रा चलनचल्ती प्रतिशत बढी देखिनु स्वभाविक नै हो । नेपालमा मुद्राको चलनचल्ती कुल गार्हस्थ उत्पादनमा करिब १५ प्रतिशत रहेको अनुमान छ । सन् २०१४ मा भारतमा ७६.४७ विलियन पिस बराबरको मुद्रा चलनचल्तीमा रहेकोमा यो बेलायत, अमेरिका, अष्ट्रेलिया र क्यानेडामा क्रमशः २.९९ विलियन, ३४.५ विलियन, १.१५ विलियन र २ विलियन पिस रहेको पाइन्छ । 

मुद्रा व्यवस्थापनको आधुनिकीकरण
विकसित मुलुकहरुको मुद्रा व्यवस्थापन कार्यलाई द्रुत तवरले आधुनिकीकरण गर्दै लगेबाट मुद्राको छपाइ लागत, ढुवानी लागत क्रमशः न्यूनीकरण गर्दै लगेको पाइन्छ । त्यहाँका निजी कम्पनिहरु सफा र झुत्रो नोटहरु गन्ती गर्ने कार्यमा संलग्न हुने गरेका छन् भने करेन्सी भेरिफिकेसन, प्रोसेसिङ÷स्रेडिङ सिस्टम(सीभीपीएस), स्रेडिङ/ब्रिक्वेटिङ जस्ता पद्धति लागू गरेका छन् । यसबाट विकाशोन्मुख मुलुकहरुको मुद्रा व्यवस्थानपन कार्य अझ वैज्ञानिक, विश्वस्त र दिगो प्रकृतिको हुँदै गएको छ भने जाली नोटहरुको प्रचलनलाई दुरुत्साहित गर्दै लैजानमा समेत यी मुलुकहरुलाई सफलता मिल्दै गएको पाइन्छ । 
छिमेकी मुलुक भारतको हकमा सीभीपीएस/एसबीपी लागू भइसकेको छ । आरबीआईले एजेन्ट मोडेलमा मुद्राकोषहरुको व्यवस्थापन गर्दै आएको छ । यो अख्तियारी भारतीय वाणिज्य बैँकहरुलाई पनि दिँदै आएको छ र करेन्सी फिटनेसदेखि लिएर झुत्रो नोट व्यवस्थापन, सुकिलो नोटको चलनचल्ती, जाली नोटहरु पहिचान आदि कार्यहरु आरबीआईको निर्देशनमा बैँकहरुले गर्दै आएका छन् । त्यस्तै गरी, पाकिस्तानको केन्द्रिय बैँक स्टेट बैँक अफ पाकिस्तानले नेशनल बैँकलाई नोटकोष व्यवस्थापनको जिम्मेवारी दिँदै आएको छ । चीनमा केन्द्रिय बैँकको नोटकोष भल्ट एउटा रहेको छ भने १५ वटा मूख्य भल्ट र ३२ वटा प्रोभिन्सियल सबभल्टहरु रहेका छन् । यी भल्टहरु प्रायः यान्त्रीकीकृत भइसकेका छन् । केन्द्रिय बैँक पिपुल्स बैँक अफ चाइनाले नै यसको व्यवस्थापन गर्दै आएको छ । चिनियाँ जनताहरुमध्ये सहरका जनताहरुले २५ देखि ६० प्रतिशतसम्म र ग्रामीण जनताहरुले ६० प्रतिशतदेखि ७५ प्रतिशत कारोबार नगदमा गर्ने गरेको पाइएको छ ।

मुद्रा आपूर्ति व्यवस्थापनमा निजी कम्पनि
केही दशक यतादेखि नै बैँक अफ फिनल्याण्डले मुद्रा आपूर्ति व्यवस्थापनमा निजी ट्रान्जिट कम्पनि, वाणिज्य बैँकहरु, एटीएम कम्पनि तथा ससाना कम्पनिहरुलाई संलग्न गराउँदै आएको छ । उक्त बैँकले आफ्ना १२ वटा शाखा अफिसहरुबाट मुद्रा आपूर्ति गर्ने गर्दछ । तोडा चलान र नगद सर्टिङ्गको जिम्मा भने निजी कम्पनिहरुलाई दिइएको छ । यहाँको अर्थतन्त्रमा कार्ड पेमेन्टको हिस्सा दुई तिहाइ रहेको छ भने क्यास पेमेन्टको हिस्सा एक तिहाइ रहेको पाइएको छ । युरोपमा वयस्क र वृद्ध पुस्ताले अझैपनि मुद्रालाई नै भुक्तानी र सञ्चयको राम्रो माध्यम ठान्ने गरेका छन् । युवा पिँढीले भने एटीएम र अन्य इलेक्ट्रोनिक भुक्तानीको माध्यमहरुको प्रयोग गर्ने गरेको पाइएको छ । चिन, भारत, इन्डोनेसिया, मलेसिया, श्रीलंका, थाइल्याण्ड जस्ता मुलुकहरुले मुद्राको कुल सञ्चालन लागतमध्ये करिब ११ प्रतिशत नगद ह्यान्डलिङ कार्यमा व्यहोर्ने गरेको कुरा केही अध्ययनहरुमा देखिएको छ । पेसारहित अर्थतन्त्रतर्फ विश्वका मुलुकहरु उन्मुख हुँदै गएपनि अझै विश्वका २.५ विलियन जनसंख्याले रुपैँयाँ/पैसामै कारोबार गर्दै आएका छन् । अरु धेरै दशक मुद्राकै प्रयोग विश्वका मुलुकहरुमा हुने अनुमान गर्न सकिन्छ । 

मुद्रा चलनचल्तीको इतिहास
प्रथम विश्वयुद्धसम्म नेपालमा सुन, चाँदी, तामा, पित्तल आदिका विभिन्न आकारका सिक्काहरु मुद्राको रुपमा चलनचल्तीमा थिए । साथसाथै, तराईका भुभागमा भारतीय मुद्रा नेपाली मुद्रासँगै सरोवर रुपमा चलनचल्तीमा रहेको पाइन्छ । द्धितीय विश्वयुद्धपश्चात् वि.सं. २००२ सालमा नेपालमा रु.५, रु.१० र रु १०० दरका कागजी मुद्राहरु चलनचल्तीमा ल्याइए । योजनावद्ध विकासको थालनी, वैदेशिक सहायताको आप्रवाह, पर्यटन क्षेत्रको विस्तार, नेपालीहरुको बहिर्गमन तथा आगमन, वैदेशिक लगानीमा भएको विस्तार र विश्वसँग नेपालको सम्बन्धको क्रमिक विस्तारले मुद्राको प्रयोगमा क्रमशः वृद्धि हुँदै गयो । सन् १९६० ताका सिक्का र ५ करोड ४९ लाख रुपैँया नोटसमेत गरि ८ करोड ३९ लाख ५१ हजार बराबरको मुद्रा प्रयोग गरियो । सन् १९९० मा १० अर्ब २७ करोड ८ लाख रुपैँया बराबरको मुद्रा चलनचल्तीमा आए भने सन् २०००मा आइपुग्दा सो संख्या बढेर ४५ अर्ब २५ करोड ८० लाख रुपैँया बराबरका मुद्रा प्रचलनमा ल्याइए । त्यस्तै, सन् २०१५ जुलाईको तथ्यांक हेर्दा, ३ खर्ब १५ अर्ब ५४ करोड २५ लाख रुपैँया बराबरको मुद्रा चलनचल्तीमा रहेको देखिएको छ । विस्तृत मुद्राको सरदर वृद्धि वार्षिक १५ देखि १७ प्रतिशतको हाराहारीमा रहेको छ । जुन मौद्रिक नीतिले लिएको लक्ष्यसँग करिब तालमेलमा नै रहेको पाइएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]