February 27th, 2018

प्रदेश  नं. ५ मा शाखा बढाउँदै ‘ओम डेभलपमेन्ट बैंक’ : सीईओ अधिकारीसँगको अन्तरवार्ता

जर्मनीको सरकारी विकास बैंक (KFW Bank)सँग सहकार्य गरीरहेको राष्ट्रियस्तरको ओम डेभलमेन्ट बैंक लिमिटेडले प्रदेश न. ५ को लमही(दाङ्ग), भैरहवा(रुपन्देही), मणिग्राम(रुपन्देही) तथा बर्दघाट(नवलपरासी)मा आफ्ना शाखाहरु औपचारीक रुपमा संचालनमा ल्याएको छ । बैंकले  गतबर्ष बुटवलको पुष्पलालपार्कमा आफ्नो शाखा सञ्चालनमा ल्याइसकेको छ । यसै सन्दर्भमा ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीसँग बैंकिङ खबर डटकमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।

हालको  ओम डेभलपमेन्ट बैंकको स्थिती कस्तो छ ?
बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम ११ रहेको साथै निकट भविष्यमा काठमाडौंको न्यूरोडमा ५३औं शाखा सञ्चालनमा आउने तयारीमा रहेको छ । बैंकले निक्षेप संकलन, कर्जा प्रवाहको अतिरिक्त निशुल्क एबिबिस सेवा, निशुल्क सि–आश्वा सेवा, मोवाईल बैंकिङ सेवा, एटिएम सुविधा, लकर सुविधा, रेमिट्यान्स सेवाको साथै प्रधान कार्यालयबाट सन्ध्याकालिन काउन्टर सेवा प्रदान गर्दै आईराखेकोछ । 

प्रदेश ५ को अस्थायी राजधानी बुटवल भएको छ । नवलपरासीदेखि नेपालगन्ज र मर्चवारदेखि गुल्मी पहाडी इलकासम्मको यो प्रदेश नेपालकै एउटा आर्थिक हव बन्दैछ । यसको आसपासमा तपाईँहरु आफ्नो शाखा सञ्जालहरु स्थापना गर्न अलि बढी प्राथमिकता दिनु भएको हो ?
हामी राष्ट्रियस्तरको बैंक भएकोले काठमाडौंमा अहिले ९ वटा शाखा सञ्चालनमा छन् भने न्यूरोड शाखा शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिराखेका छौं । पोखरामा हाम्रो बलियो उपस्थिती रहेको छ भने प्रदेश नंं. ५ एउटा ठुलो सम्भावना बोकेको प्रदेश हो । बुटवलमा हामीले गतसाल देखि नै सेवा दिइरहेकाछौ । बुटवलको पुष्पलालपार्कमा रहेको बुटवल शाखाले शुरुवातदेखि नै एउटा उत्कृष्ट कारोवार गदै आएकोेछ । यसले के प्रष्ट हुन्छभने प्रदेश न. ५ सम्भावनाले भरिएको प्रदेश हो । र अर्को कुरा हामी पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म शाखा सञ्जाल फैलाएर ग्राहक सेवालाई अझ फराकिलो, सरल र सर्वसुलभ बनाउने सोच भएको कारणले गर्दा पहिलो चरणमा यस प्रदेश न. ५ को भेगमा शाखा बिस्तार गर्ने नीति लिएका हौँ ।

समग्र प्रदेश  न. ५ तथा  यसको अस्थायी राजधानी बुटवलको आसपासमा ओम डेभलपमेन्ट बैकको अवको रणनीति के हो ? कसरी अगाडी बढ्दै हुनुहुन्छ ?
प्रदेश नं. ५, त्यसमा पनि बुटवल र आसपासका क्षेत्रहरु औद्योगिक नगरीका रुपमा विकसित भएको क्षेत्र भएकोले यस क्षेत्रका उद्योगधन्दा, कलकारखाना तथा अन्य ब्यापारीक प्रतिष्ठानहरुलाई लगानी गरी यहाँको आर्थिक विकासमा टेवा दिने हाम्रो मुख्य उद्देश्य रहनेछ । त्यस्तै यो क्षेत्र पर्यटकिय क्षेत्र पनि हो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको रानिमहल, गुल्मीको रेसुंगा, अर्घाखाँचीको सुपा देउराली, प्युठानको स्वर्गद्धारी, बद्रिया निकुन्ज, कपिलबस्तु तिलौराकोट जस्ता महत्वपुर्ण स्थलहरु यस क्षेत्रमा छन् । यसले पर्यटन ब्यवसायलाई टेवा दिन्छ । त्यस्तो ठाउँहरुमा हाम्रो ध्यान केन्द्रित हुनेछ । साथै प्रदेश सरकारले तोकेको प्राथमिक क्षेत्रमा लगानी गर्नको लागि ओमले पनि प्राथमिकतामा राख्नेछ ।

अहिले लगानी योग्य पुँजीको अभावले बैंक तथा बित्तीय सस्थाले धितो राखेर कर्जा नपाइरहेको अवस्थामा ओम डेभलपमेन्ट बैंकले विना धितो कर्जा प्रवाह गरीरहेको छ ? यो कस्तो किसिमको कर्जा हो  ?
हो, अहिले बैंकिङ क्षेत्रमा लगानी योग्य पुंजीको केहि अभाव भएको अवस्था हो तर, ओमले कहिल्यै पनि कर्जा लगानी रोकेको छैन् । ओम प्रोफेशनल कर्जा भनेको मुख्य गरि केहि पेशागत कर्मचारीहरु जस्तै डाक्टर, ईन्जिनियर, वकिल, सरकारी कर्मचारीहरु, प्रोफेशर तथा शिक्षक तथा अन्य पेशावालाहरुलाई कर्जा लिन सहज होस् भन्ने हेतुले निजहरुको आम्दानीको आधारमा १५ लाख सम्म बिना धितो कर्जा लगानी गर्ने स्किम हो ।

बर्तमान अवस्थामा नेपाली बैकिङ्ग क्षेत्र निकै प्रतिष्पर्दाबाट अगाडी बढेको देखिन्छ ,यसले नेपालको बैकिङ्गलाइ कहा पुर्याउछ ?
एउटा बैंकरको हिसाबले भन्नुपर्दा अहिलेको बैंकिङ क्षेत्रमा अलि बढि अस्वस्थ प्रतिस्पर्धा रहेको देखिन्छ । बास्तवमा प्रतिस्पर्धा आफैमा राम्रो कुरा हो तर, अस्वस्थ प्रतिस्पर्धाले अस्थिरता ल्याउन सक्छ । हामिहरु यसतर्फ सजग हुनुपर्छ तर नेपालका बैंकरहरु यसभन्दा अघि बिभिन्न खराब अवस्थालाई पनि सामना गरी यस क्षेत्रलाई राम्रो अवस्थामा ल्याउन सफल भएकै हुन ।  अहिले त त्यस्तो नराम्रै अवस्था छैन । यस्ता समस्याहरु समाधान गर्न हामी सक्षम छौं ।

जर्मनीको सरकारी विकास बैंक(KFW Bank)ले ओम डेभलमेन्ट बैंकसँग सहकार्य गरेको छ, यो कस्तो सहकार्य हो ?
बैंकले केएफडब्लु डेभलपमेन्ट बैंक जर्मनीसँग अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतीमा Sustainable Economic Development in Rural Areas, Nepal कार्यक्रम कर्जा लगानी गर्नको लागि सहकार्यको लागि सम्झौता भएको हो । यस अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानीको गर्न १० बर्षको लागि ३ मिलयन युरो रकम उपलब्ध गराउनेछ । उक्त कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, बृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययन कार्यको लागि १ मिलियन युरो रकम सहयोग उपलब्ध गराउनेछ । केएफडब्लुले बिगत ३ बर्षदेखि बिभिन्न चरण अन्तर्गत बैंकको स्थलगत निरिक्षण तथा बित्तीय बिवरणहरुको अध्ययन गरेपश्चात नेपालका बैंक तथा बित्तीय संस्थाहरुमध्ये पहिलो चरणमा ओमलाई सहकार्यको लागि छनौट गरेको हो । 

यो सहकार्यले के पाउछन् यस क्षेत्रका जनताले ?
यस कार्यक्रम अन्तर्गत लगानी भएका क्षेत्रका जनताले सर्वसुलभ रुपमा केहि सहुलियत दरमा कर्जा पाउनुको साथै कर्जा परियोजनाको लागि सल्लाह तथा सुभाव समेत प्राप्त गर्न सक्नेछन् । कार्यक्रमको उद्देश्य नै ग्रामिण क्षेत्रको आर्थिक विकाससंग सम्बन्धित भएकोले यस कार्यक्रमले उक्त क्षेत्रको आर्थिक विकासमा योगदान दिन उल्लेख्य भूमिका निर्वाह गर्नेछ भन्ने हामिलाई बिश्वास छ । खास गरेर कृषि, साना तथा मझौला उद्योग ब्यापारमा हामीले लगानी गर्नेछौ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]