May 11th, 2016

यसकारण राखिन्छ स्विस बैंकमा पैसा : कालोधनको सुरक्षामा लोभिन्छन् धनाढ्यहरु 

swiss bankतपाईलाई थाहा छ ? संसारका धनाढ्यहरुले किन आफ्नो रकम राख्न स्विस बैंक रोज्छन् ? थाहा छैन भने धन्दा नमान्नुस् । बैंकिङ खबर डटकमले यसबारे जानकारी दिने जमर्को गरेको छ । हामीले बेलाबखतमा सुनेका छौँ – विभिन्न समयमा बैंकहरु लुटिएका, चोरी भएका, अत्यावश्यक पर्दा एटिएम नै नचलेका, बन्द भएका, त कहिलेकाहिँ एकाउन्ट नै ‘ह्याक’ भएका घटनाहरु । हो, यि यस्ता दोहोरीरहने घटनाबाट र संभावित समस्याबाट मुक्ति पाउन संसारभरका धनाढ्यहरुको रोजाईमा पर्ने गरेका छन्, स्विस बैंक अर्थात् स्विजरल्याण्डका बैंकहरु ।

विश्व बैंकलाई चुनौति दिँदै स्विस बैंक 
कुनै पनि देशको बैकिङ क्षेत्र भनेको त्यस देशका जनताहरूलाई चाहिने वित्तिय सेवा प्रदान गर्ने निकाय हो । सुरक्षित, भरपर्दो तथा विश्वासिलो तवरबाट पैसा जम्मा गर्न र आवश्यक पर्दा गर्जो टार्न सक्ने क्षमता बैंकसँग हुन्छ, भन्ने आम मानिसको बुझाई पनि छ । विश्वका हरेक देशसँग आ–आफ्नो प्रक्रियाबाट सञ्चालन हुने बैंकहरु छन् । यिनीहरुले आफ्नो देशको कानुनमा रहेर आफ्ना काम तथा कार्वाहि सञ्चालन गरेका हुन्छन् । हरेक बैंकले आफ्नो बैंकिङ च्यानलबाट गरेको कारोबार सुरक्षित हुन्छ, भनेर विज्ञापनिक सामाग्रीहरुबाट प्रचारप्रसार गर्ने गरेका हुन्छन् । यद्यपी बचतकर्तालाई कम ब्याजदर लगाउने र ऋण प्रवाह गर्दा मँहगो ब्याजदर लगाउने परिपाटिबाट बैंकहरु मोटाएका हुन्छन् भन्ने टिकाटिप्पणी पनि बेलाबखतमा आउने गरेको छ । यता बचतकर्ताले पनि आफ्नो रकम सुरक्षित होओस् भनेर ढुक्कसँग बैंकलाई जिम्मा दिएका हुन्छन् । संसारभरका मुलुकमा पुँजी लगानी गर्ने शक्तिशाली मानिएको विश्व बैंकलाई समेत चुनौति दिने स्विस बैंकका केहि ‘खास’ विशेषताहरु छन् । 

कालोधन सुरक्षित र गोप्य राखिन्छ, स्विस बैंकमा 
स्विस बैंकमा राखिएको अधिकांश रकम कर छली, भ्रष्टाचार, अवैध कारोबार, तथा अन्य आयस्रोतबाट आएका अतिरिक्त पैसा नै हो । यस्ता अवैधानिक बाटोबाट आएको अकुत सम्पत्ति लुकाउने ठाउँ स्विस बैंक नै हो । विश्वमा आर्थिक रुपले समृद्ध मानिएको मुलुक अमेरिकाका धनाढ्यहरुले समेत अकुत सम्पत्तिको कर छल्नका लागि स्वीस बैँक नै प्रयोग गर्ने गरेको बताइन्छ । भारतीय व्यापारी तथा केही पुर्व राजनीतिज्ञहरुको मात्रै ५ सय ४३ दशमलव ५४ विलियन डलर कालो धन स्विस बैंकमा रहेको अनुमान गरिएको छ । एकताका भारत सरकारले कालो धनको छानविन गर्ने घोषणा गरेपछि चार बर्ष भित्र १४ हजार करोड रुपैंया रकम स्विस बैंकबाट झिकिएको तथ्य फेला परेको थियो । निकै ठुलो अर्थतन्त्र भएको मुलुक भारतमा रहेको पैसाको करिब दुई तिहाइ पैसा स्विजरल्याण्डका दुइवटा बैंकसँग मात्र रहेको  बताईन्छ । यसबाहेक अन्य युरोपियन मुलुकका अवैध पैसा आर्जन गर्ने धनाढ्यहरु पनि स्विस बैँकमा पैसा राख्न पाउँदा गोपनियता र सुरक्षाका हिसाबले लोभिने गरेको तथ्यांकहरु सार्वजनिक भएको एजेन्सीहरु बताउँछन् । 

संसारमै नभएको नियम छ स्विस बैँकमा
हामीलाई थाहा छ, संसारका हरेक देशको पुलिस प्रशासन, राजस्व विभाग तथा अदालतले आवश्यक परेमा जुनसुकै खातावाला व्यक्तिका बारेमा पनि आवश्यक जानकारी लिन सक्छ । तर बैंकिङ सम्बन्धि स्विजरल्याण्डको कानुन अन्य देशभन्दा फरक किसीमको छ । स्विजरल्याण्डमा संघीय बैंक नियन्त्रण आयोग बाहेक कुनै पनि निकायले खातावालाको बारेमा जानकारी माग्न सक्दैनन् । ‘स्विस बैंकिङ एक्ट १९३४’ मा बैंकले खातावालाको अनुमतिबिना खाता नम्बर पनि सार्वजनिक गर्दैनन् । सन्  १९३४ मा कानुन लागु भएपछि देशको संघीय बैंक नियन्त्रण आयोगले मात्र सामान्य निगरानी गर्न सक्ने भनिएको छ । त्यस कारण पनि अकुत सम्पत्तिवालाहरुको एउटै गन्तव्य बन्ने गरेको छ स्विस बैँक ।

यसकारण मरिमेट्छन् धनाढ्यहरु 
संसारको बैंकहरु भन्दा फरक किसीमको अधिकार राखेको स्विस बैंक यस्तो बैंक हो, जहाँ रकम राखेपछि हराउने, एकाउन्ट ह्याक हुने, लुटिने, छानबिन हुने लगायतका कुनैपनि समस्या हँुदैन । त्यसकारण पनि यदि कसैले भ्रष्टाचार गरेर वा अन्य अवैधानिक बाटोबाट कमाएको रकम स्विस बैंकमा जम्मा गर्यो भने छानविनको लागि स्विस बैंकले सबै ढोका बन्द गरेको हुन्छ । आफूले कमाएको अकुत सम्पत्ति सुरक्षित तरीकाले बैंकमा राख्नको लागि पनि धनाढ्यहरु मरिहत्ते गर्छन् । त्यसकारण संसारभरीकै अधिकांश भ्रष्टाचार गरेको पैसा, कालो धन, अवैधानिक बाटोबाट आर्जन गरेको अतिरिक्त पैसा स्विस बैंकमा राखिन्छ । एक अध्ययन अनुसार करिब ४०० भारतीय नागरीकले स्विस बैकमा पैसा राखेका छन् । भारतले स्विजरल्याण्डमा भारतीय नागरिकले राखेको कालो धनको केहि विवरण पाएको छ । भारतीयहरुले ठुलो रकम स्विस बैंकमा राख्नुको कारण पनि सबै बचतकर्ताको जानकारी गोप्य हुनु नै हो । समाचारमा जनाईएअनुसार संसारभरका अधिकांश कालो धन होस् चाहे सेतो धनले स्विस बैंकको लगानी बढाउन सहयोग गरिरहेका छन् । हाल स्विस बैंकसँग १ हजार ५ सय ३० अर्ब स्विस फ्रयाङ्क अर्थात् १ लाख ४४ हजार अर्ब रुपैयाँ निक्षेप रहेको छ । 

१ दशमलव ७ प्रतिशत ब्याजदर !
यतिका जानकारी पाएपछि तपाईलाई लाग्न सक्छ, स्विस बैंकले धेरै नै ब्याजदर दिन्छ होला भनेर । तर हैन, स्विस बैंकको ब्याजदर निकै कम छ । सन् २००१ देखि २०१४ सम्म स्विजरल्याण्डका बैंकले दिने ब्याज १ दशमलव ७ प्रतिशतको अनुपातमा रहेको छ । यो समयको बिचमा एकताका हाल सम्मकै सबैभन्दा बढि ब्याज अर्थात् ३ दशमलव ५० प्रतिशत मात्र दिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]