February 15th, 2018

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (छ महिनाको तथ्यांक) 

आर्थिक परिदृश्य 
१. आर्थिक वर्ष २०७४/७५ को पहिलो छ महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको मिश्रित प्रगति देखाएका छन् । गैर कृषि क्षेत्रको आर्थिक गतिविधिहरुमा अपेक्षाकृत विस्तार भइरहेको छ भने कृषि क्षेत्रको उत्पादन अपेक्षा गरे भन्दा केही कम रहने देखिन्छ । उर्जा उत्पादनमा भइरहेको क्रमिक वृद्धि, आपूर्ति अवस्थामा सुधार र निर्माण क्षेत्रमा आएको तिब्रताले गैर कृषि क्षेत्र विस्तारको गति कायम राख्न सहयोग पु्याइरहेका छन् । बाढीले भू–क्षेत्र कटान गरेका कारण धानको उत्पादनमा केही ह्रास आएको भएतापनि पर्याप्त वर्षाका कारण मकैको उत्पादनमा भने उल्लेख्य वृद्धि भएको छ । तसर्थ, आर्थिक वर्ष २०७४÷७५ मा समग्र आर्थिक वृद्धिदर सन्तोषप्रद रहने देखिन्छ । 
२. हालसम्म उपभोक्ता मुद्रास्फीति न्यून नै रहेता पनि कृषिजन्य वस्तुहरुको मूल्यमा हुने उतार चढाव र निर्माण सामाग्री तथा पेट्रोलियम पदार्थको मूल्य प्रवृत्तिले मुद्रास्फीतिको आगामी परिदृष्य निर्धारण गर्ने देखिन्छ । आपूर्ति अवस्था सुदृढ रहेको र सम्भावित मुद्रास्फीतितर्फ विश्वव्यापी रुपमै ध्यान केन्द्रित भएकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्षित ७ प्रतिशतको सीमा भित्रै रहने अपेक्षा छ । 
३. बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जाको विस्तार निक्षेप वृद्धिको तुलनामा उच्च रहदैँ आएको छ । विप्रेषण आप्रवाहमा आएको कमीको कारण निक्षेप वृद्धि सामान्य रहने देखिएको छ । निक्षेप परिचालनको अवस्थालाई दृष्टिगत गरी कर्जा प्रवाह गरिएमा हाल देखिएको वित्तीय असन्तुलन आगामी दिनमा सुधार आउने छ । 
४. वाह्य क्षेत्रतर्फ, चालू आर्थिक वर्षको पहिलो छ महिनामा आयातमा उच्च वृद्धि भएको एवम्विप्रेषण आप्रवाहमा केही कमी आएकोले चालू खाता घाटामा वृद्धि भई रु. ७५ अर्ब ७१ करोड पुगेकोछ । फलस्वरुप, मुलुकको समग्र शोधनान्तर रु. ६ अर्ब ६६ करोडले घाटामा गएको छ । तथापि, देशको वैदेशिक मुद्रा संचिति १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको छ ।

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

५. २०७३ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२ प्रतिशत रहेकोमा २०७४ पुस महिनामा ४ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा खाद्यान्नको मूल्यमा भएको केही वृद्धिको कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको छ । 

खाद्य मुद्रास्फीति 
६. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशतले ऋणात्मक रहेको थियो। गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, घ्यू तथा तेल, खाद्य तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएको कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

गैर–खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.२ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, स्वास्थ्य, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
८. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत, तराई र पहाड दुबैमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा हिमाली क्षेत्र अन्तर्गत रहेको चन्दननाथ बजारकेन्द्रमा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्य वृद्धि अधिक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ४.२ प्रतिशत, तराईमा २.८ प्रतिशत, पहाडमा ५.७ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति
९. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.७ प्रतिशत तथा आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क २ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.८ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
१०. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ९.७ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.१ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत निजी प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था र शिक्षा उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः ३६.३ प्रतिशत, १०.६ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः ४.८ प्रतिशत, ६.६ प्रतिशत र ३.१ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 
११. आर्थिक बर्ष २०७४/७५ को छ महिनासम्ममा कुल वस्तु निर्यात १३.४ प्रतिशतले वृद्धि भई रु. ४१ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ १३.१ प्रतिशत, चीनतर्फ ७०.२ प्रतिशत र अन्य मुलुकतर्फ १०.३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घ्यू, जिङ्क सिट, धागो लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जि.आई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१२. समीक्षा अवधिमा कुल वस्तु आयात १५ प्रतिशतले बढेर रु. ५३४ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६७.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १५.३ प्रतिशत, चीनबाट भएको आयात ९.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, सेनिटरीवेयर्स, खाने तेल, ड्राईसेल ब्याट्री, तयारी पोशाक लगायतका वस्तुहरुको आयात घटेको छ । 
१३. भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाहा भन्सार कार्यालय, वीरगंज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१४. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले बढी रु. ४९३ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ७४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.८ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१५. आर्थिक वर्ष २०७४/७५ को छ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको र आयात मूल्य सूचकाङ्कमा ३.७ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ४.० प्रतिशतले ह्रास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त ८.९ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकाङ्कमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
१६. समीक्षा अवधिमा कुल सेवा आयमा ११.७ प्रतिशत र कुल सेवा खर्च १९.८ प्रतिशतले बढेको कारण खुद सेवा आय रु. ७६ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ४ अर्ब २९ करोडले बचतमा रहेको थियो । 
१७. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा २७.५ प्रतिशतले वृद्धि भई रु. ३३ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो आय ३०.४ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
१८. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले ह्रास भई रु. ३४० अर्ब ५४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले बढेको थियो । फलस्वरुप, खुद ट्रान्सफर आय १.७ प्रतिशतले घटी रु. ३९३ अर्ब ३४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५.६ प्रतिशतले बढेको थियो । 
१९. श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुन श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा १.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.९ प्रतिशतले घटेको थियो । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
२०. अघिल्लो वर्षको छ महिनामा रु. १ अर्ब ८ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रु. ७५ अर्ब ७१ करोडले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको छ महिनामा रु. ४५ अर्बले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ६ अर्ब ६६ करोडले ९४ लाखले घाटामा रहेको छ । 
२१. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १४ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ७ अर्ब ९३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ७ अर्ब ३९ करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चिति 
२२. २०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ पुस मसान्तमा १.१ प्रतिशतले कमी आई रु. १०६७ अर्ब ३४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ पुस मसान्तमा ०.७ प्रतिशतले वृद्धि भई रु. ९३३ अर्ब ८२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब १७ करोड रहेकोमा २०७४ पुस मसान्तमा १२.३ प्रतिशतले कमी आई रु. १३३ अर्ब ५२ करोड पुगेको छ । २०७४ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२३. आर्थिक वर्ष २०७४/७५ को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.२ महिनाको वस्तु आयात र १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत ठ मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.१ प्रतिशत, ८७.९ प्रतिशत र ३८.६ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२४. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ पुस मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५४.३७ रहेकोमा २०७४ पुस मसान्तमा २८.१ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६९.६४ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७३ पुस मसान्तमा प्रति आउन्स अमेरिकी डलर ११९०.३५ रहेकोमा २०७४ पुस मसान्तमा ११.५ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १३२६.८० पुगेको छ । 

विनिमय दर 
२५. २०७४ असार मसान्तको तुलनामा २०७४ पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.३ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर १.७ प्रतिशतले अवमूल्यन भएको थियो । २०७४ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०१.५२ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो ।

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 
२६. आर्थिक वर्ष २०७४/७५ को छ महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ३५ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको बजेट रु. ४० अर्ब २२ करोडले बचतमा रहेको थियो । 

सरकारी खर्च 
२७. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. ३६४ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २४८ अर्ब २० करोड रहेको थियो । 
२८. समीक्षा अवधिमा चालू खर्च रु. ३०३ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. १९६ अर्ब ४७ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च ३८ प्रतिशतले बढेर रु. ४२ अर्ब ७२ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ३० अर्ब ९७ करोड भएको थियो । 

सरकारी राजस्व 
२९. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन २०.७ प्रतिशतले वृद्धि भई रु. ३३५ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ६८.९ प्रतिशतले वृद्धि भई रु. २७७ अर्ब ५७ करोड पुगेको थियो । समीक्षा अवधिमा सरकारले ३३४ अर्ब १४ करोड राजस्व सङ्कलनकोलक्ष्य हासिल गरेको छ । नेपाल सरकारको राजस्व सङ्कलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग सम्वेदनशील रहदैं आएको छ । 
३०. सरकारको नगद मौज्दात स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ पुस मसान्तसम्ममा सरकारी ढुकुटीमा (स्थानीय तहको खातामा जम्मा भएको रकम रु. ९३ अर्ब ५ करोड समेत) रु. ३०३ अर्ब १७ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 
३१. आर्थिक वर्ष २०७४/७५ को छ महिनामा विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ पुस मसान्तमा विस्तृत मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ । 
३२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ६ अर्ब ६६ करोड (०.७ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ४५ अर्ब (४.७ प्रतिशत) ले बढेको थियो ।
३३. समीक्षा अवधिमा सञ्चित मुद्रा ९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ पुस मसान्तमा सञ्चित मुद्रा ७.८ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३४. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ७.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ६.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ पुस मसान्तमा यस्तो कर्जा २१.७ प्रतिशतले बढेको छ । 
३५. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ११.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १२.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७४ पुस मसान्तमा १७.३ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.७ प्रतिशतले बढेको छ । 
३७. २०७४ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, ३६.४ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ४२.१ प्रतिशत र ३२.८ प्रतिशत रहेको थियो । 
३८. २०७४ पुसमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४७.६ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३९. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२.९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.५ प्रतिशत, विकास बैंकहरुको १६.६ प्रतिशत र वित्त कम्पनीहरुको ४.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७.२ प्रतिशतले बढेको छ । 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.६ प्रतिशत र १४.३ प्रतिशत रहेको थियो । 
४१ .समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ५०.५ प्रतिशत (रु.३२ अर्ब ६१ करोड) ले वृद्धि भई रु. ९७ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.४ प्रतिशतले बढेको थियो । 
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ७.० प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा ९.६ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.५ प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
४३. आर्थिक वर्ष २०७४/७५ को ६ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी रु. १२९ अर्ब २० करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत रु. ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्फत रु. २ अर्ब १० करोड, र रिभर्स रिपोमार्पmत् रु. ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन भएको थियो । 
४४. आर्थिक वर्ष २०७४/७५ को ६ महिनासम्ममा यस बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत रु. ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत रु. २५ अर्ब २८ करोड गरी कुल रु. ६९ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १५ अर्ब ४० करोड तरलता प्रवाह भएको थियो । 
४५. समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले रु. २३ अर्ब ५८ करोड बराबरको स्थायी तरलता सुबिधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. १३ अर्ब ९८ करोड बराबरको त्यस्तो सुबिधा उपयोग गरेका थिए । 
४६. आर्थिक वर्ष २०७४/७५ को छ महिनासम्ममा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरी रु. १९८ अर्ब ४ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४ करोड खुद खरिद गरी रु. २१९ अर्ब ३५ करोड खुद तरलता प्रवाह गरेको थियो । 
४७. समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब २० करोड र युरो ४ करोड बिक्री गरी रु. २३१ अर्ब ६४ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ९८ करोड र युरो ९ करोड ५० लाख बिक्री गरी रु. २२४ अर्ब ३० करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४८. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ पुस मसान्तमा रु. १३ अर्ब २१ करोड यस बैंकले प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । 
४९. भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ पुस मसान्तसम्ममा रु. १ अर्ब १२ करोड पुनरकर्जा उपयोगमा रहेको छ । 
५०. २०७४ पुस मसान्तसम्ममा नेपाल सरकारबाट ५.० प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६२०३ जनाले उपयोग गरेका छन्। यस अन्तर्गत रु. ६ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ भने रु. ३३ करोड ७३ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

अन्तर–बैंक कारोबार 
५१. आर्थिक वर्ष २०७४/७५ को छ महिनामा वाणिज्य बैंकहरूले रु. ५८५ अर्ब २८ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ९ अर्ब ६३ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ५९५ अर्ब ५९ करोड र रु. १९७ अर्ब ९३ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५२. २०७३ पुसमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १.७४ प्रतिशत रहेकोमा २०७४ पुसमा ५.८२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ पुसको २.७१ प्रतिशतको तुलनामा २०७४ पुसमा ४.४० प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ पुसको ७.१ प्रतिशतको तुलनामा २०७४ पुसमा ९.९४ प्रतिशत पुगेको छ । 

मर्जर/प्राप्ति 
५३. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ पुस मसान्तसम्म कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये ११८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । 

वित्तीय पहुँच 
५४. संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७४ पुससम्म ३५२ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । 

पूँजी बजार 
५५. नेप्से सूचकाङ्कमा वार्षिक विन्दुगत आधारमा ३.३ प्रतिशतले ह्रास आई २०७४ पुस मसान्तमा १४३१.१ विन्दुमा झरेको छ । २०७३ पुस मसान्तमा उक्त सूचकाङ्क २४.३ प्रतिशतले वृद्धि भई १४७९.९ विन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ विन्दु कायम भएको थियो । 
५६. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ०.७ प्रतिशतले वृद्धि भई २०७४ पुस मसान्तमा रु. १,६७१ अर्ब ६१ करोड कायम भएको छ । बजार पूँजीकरण अनुपात २०७३ पुस मसान्तमा २९.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ६४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७३.९ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८०.८ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ५.१ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.६ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ९.७ प्रतिशत रहेको छ । 
५७. वार्षिक विन्दुगत आधारमा कुल सेयर कारोबार रकममा १२.३ प्रतिशतले वृद्धि भई रु. ९ अर्ब ९६ करोड हुन पुगेको छ । यस्तो कारोबार रकम २०७३ पुस मसान्तमा १०.४ प्रतिशतले ह«ास आई रु. ८ अर्ब ८६ करोड पुगेको थियो । 
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ पुस मसान्तमा १९२ रहेको छ । २०७३ पुस मसान्तमा यस्तो संख्या २१९ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १४५ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १७ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्। 
५९. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा ३५.९ प्रतिशतले वृद्धि भई २०७४ पुस मसान्तमा रु. ३२९ अर्ब ४९ करोड पुगेको छ । समीक्षा अवधिमा रु. १६ अर्ब ५६ करोड बराबरको साधारण सेयर, रु. २५ अर्ब ६० करोड बराबरको हकप्रद सेयर, रु. ७ अर्ब ६६ करोड बराबरको बोनस सेयर र रु. ३५ अर्ब १४ करोड बराबरको सरकारी ऋणपत्र गरी कुल रु. ८४ अर्ब ९६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । स्रोत : नेपाल राष्ट्र बैंक


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]