January 14th, 2018

एनआईसी एशिया म्यूचुअल फण्डको विक्री मंगलबारदेखि, उच्च प्रतिफल पाइने

काठमाडौं । एनआई सी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआईसी एशिया ग्रोथ फण्ड माघ २ गतेदेखि बिक्री खुल्ला हुँदैछ । 

औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफलभन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्ड प्रतिआर्कषण बढ्दै गइरहेको छ । उक्त म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने अपेक्षा गरिएको एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए । साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौँ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिइएको छ ।

लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनीहरुलाई प्रत्येक बर्ष नगद लाभांश वितरण गर्नेछ । 

एनआईसी एशिया क्यापिटल लि.ले यो योजनाका इकाईहरु मंगलबारदेखि बिक्री खुल्ला गर्दैछ । उक्त फण्डको आकार एक अर्ब रुपैयाँ रहेको छ । जसमध्ये सो को १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको आठ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिनेछ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्मा निष्काशन तथा बिक्री खुल्ला हुनेछ । 

यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्तिहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम् २० लाख इकाईसम्म खरिद गर्नका लागि आवेदन गर्न सकिनेछन् । उक्त इकाईहरु नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाईने प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]