January 12th, 2018

हिमालयन बैंकको बोनस पारित, ६ स्थानमा शाखा विस्तार गर्ने

हिमालयन बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस सेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ११ करोड ४५ लाख २९ हजार पुग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ४ गते सफलतापूर्वक २५ वर्ष पूरा गर्ने जानकारी सभालाई दिए ।

अध्यक्ष श्रेष्ठले २५ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष श्रेष्ठले बैंकले आ.व. २०७३/७४ अन्त्य सम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको जानकारी गराए, जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी हो । 

छ स्थानमा नयाँ शाखा विस्तार गर्ने
बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले यो वर्ष ६ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने तथा नेपाल सरकारको योजना अनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्दै जाने बताए । उनले देशका विभिन्न स्थानमा थप ए.टी.एम. सञ्जाल विस्तार गर्ने बताउनुभयो । साथै अध्यक्ष श्री श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]