January 12th, 2018

यस्ता छन्, साताका टप बैंकिङ खबरहरु

बैंकिङ खबर । यो साता बैंकिङ प्रणालीमा देखिएको तरलता समस्याको विषय चर्चामा रह्यो । बैंकहरुमा लगानीयोग्य पुँजी अभाव भएको भन्दै निक्षेप तान्ने होड चलिरहँदा राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरी बैंकहरुमा रकम पठाएको थियो । त्यसपछि पुनः बैंकहरुको व्याजदर घट्न थालेपछि राष्ट्र बैंकले यो साता बैंकहरुबाछ निक्षेप उठायो । बैंकिङ प्रणालीमा सरकारी ढुकुटीबाट पैसा पठाउने कुरा पनि उठेको थियो । यद्यपि, सो सम्भव नभएपछि बैंकहरुले तरलता समस्याको समाधान आफैँ खोज्नुपर्ने भएको छ । समग्रमा, यो साता चर्चामा रहेका बैंकिङ खबरहरु यसप्रकार रहेका छन् :

तरलता समस्या आफैँ सुल्झाउनुपर्ने
वाणिज्य बैंकहरुले सरकारी ढुकुटीको रकम नपाउने निश्चित भयो । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पूँजीको अभाव समाधान गर्न गठित अध्ययन समितिको प्रतिवेदन तत्काल नआउने भएको छ । उक्त समितिले सरकारी ढुकुटीको पर्खाइमा रहेका बैंकहरुलाई आफैँ समस्या सुल्झाउन सुझाएको छ । सरकारको बचत बाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा प्रयोग गर्न दिने प्रस्ताव नीतिगत रुपमा नमिल्ने देखिएपछि राष्ट्र बैंकले दोस्रो विकल्पमा छलफल सुरु गरेको छ । सरकार मातहत रहेका केही कोषहरुको रकम बाणिज्य बैंकलाई दिने बारेमा छलफल भएको बताइएको छ ।

सिभिल बैंकमा रकम हिनामिना
बैंकको रकम दुरुपयोग गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारी पक्राउ परे । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो । डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ । उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको छ ।

अरुण फाइनान्सको नाम परिवर्तन
पूर्वाञ्चलको पहिलो वित्तीय संस्था अरुण फाइनान्स लिमिटेडको २१औँ बार्षिक साधारणसभा विहीबार सम्पन्न भयो । साधारणसभाले संस्थापक सेयरधनीहरुका तर्फबाट तीन जना संचालक अम्बिका प्रसाद पौडेल, प्रकाश तिवारी र लिलानाथ ढकाललाई आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, साधारणसभाले संस्थाको हाल कायम चुक्तापूँजीको १८० प्रतिशत हकप्रद सेयर जारी गर्ने, संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व ६० र ४० प्रतिशत रहेकोमा संस्थापक ५१ र सर्वसाधारण ४९ प्रतिशत कायम गर्ने र अरुण फाइनान्स लिमिटेडको नाम र लोगो परिवर्तन गरी “हाथवे फाइनान्स लिमिटेड” कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

उद्यमशीलता विकासका लागि सहकार्य
पोखराको नोभेल एकेडेमीले नेपालमा उद्यमशिलताको विकाश गर्नका लागि युनुस सोसियल बिजनेस सेन्टर बंगलादेशसँग सहकार्य गर्ने सम्झौता गर्यो । उद्यमशिलताको विकाशमा उल्लेखनिय योगदान गरी समग्र बंगलादेशलाई नै आर्थिक क्रान्ति गराए बापत सन २००६ मा नोबेल पुरस्कार प्राप्त गर्न सफल माइक्रो फाइन्नासका जन्मदाता प्रो. मोहम्मद युनुसको संरक्षकत्वमा स्थापित युनुस सोसियल बिजनेस  सेन्टर र नोभेल एकेडेमी पोखराका विच आज संझौता पत्रमा हस्ताक्षर गरिएको हो । युनुस सेन्टरका तर्फबाट अध्यक्ष प्रोफेसर मोहम्मद युनुस र नोभेल एकेडेमीका तर्फबाट प्रिन्सिपल डा. कृष्णराज भण्डारीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आईएमई लाइफ इन्स्योरेन्सको पहिलो एजिएम
आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा पुुस २६ गते बुधबार काठमाडौँको लैनचौर बैङक्वेट्समा सम्पन्न भयो । उक्त वार्षिक साधारणसभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको आ. व. २०७३।७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेको छ । साथमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, ईश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी र संजय अधिकारी तथा विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनी कुमार ठाकुरलाई निर्वा्चित गरिएको छ । नवनिर्वा्चित संचालकहरुले बुधबार नै पदवहाली तथा शपथ ग्रहण गरेका छन् । बुधबार नै बसेको संचालक समितिको वैठकले डा. रामहरि अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा समेत चयन गरेको छ । नियमनकारी निकाय बीमा समितीको प्रावधानअनुसार २०७५ साल अषाढ मसान्तसम्मको चुक्तापूँजी कम्तीमा रु. २ अर्ब पुर्याउनु पर्ने  भएकाले सर्बसाधारणलाई सेयर जारी गरी पूजी बृद्धि गर्ने योजना कम्पनीले बनाएको छ ।

सात दिनमा सात शाखा
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सात दिनमा सात शाखा विस्तार गर्यो । जीवन बीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन शाखा संजाल विस्तारलाई प्राथमिकतामा राखी कम्पनीले विगत सात दिनभित्र मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा र बर्दघाट गरी सात वटा नयाँ शाखा÷उपशाखा स्थापना गरि सेवा शुभारम्भ गरेको हो । यी शाखा शाखाहरु संचालनमा ल्याएसँगै ज्योति लाइफ इन्स्योरेन्सको शाखा संख्या ३३ पुगेको छ । यी शाखा संजालबाहेक इच्छुक व्यक्तिले बैंकासुरेन्स सम्झौता अनुरुप एनएमबि बैंक लि.का ९० भन्दा बढी शाखा संजालबाट समेत यस कम्पनीले जारी गरेका बीमा योजना खरिद गर्न सक्नेछन् ।

शाखा विस्तार
सनराइज बैंक लिमिटेडले काठमाडौंको सानेपामा शाखा र मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–४, फाखेलमा १८ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गर्यो । 
बैंक अफ काठमाण्डू लिमिटेडले बिराटचोक, इमाडोल र भैरहवा र निजगढमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गर्यो ।
सिद्धार्थ बैंकले भोजपुरको आमचोक गाउँपालिकामा शाखा स्थापना गर्यो ।
एनआईसी एशिया बैंक लिमिटेडले आँबुखैरेनी गाँउपालिका वडा नं. ०३, आँबुखैरेनी, तनहुँ, गोरखा नगरपालिका वडा नं ०६, हरमटारी, गोरखा, कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुलीमाडी, सिन्धुली  र बेसीशहर नगरपालिका वडा नं ०७, बेसीशहर, लम्जुङ्गमा नयाँ शाखाहरुको औपचारिक रुपमा उद्घाटन गर्यो ।
सिभिल बैंक लिमिटेडले मोरङको बिराटचोकमा शाखा संचालनमा ल्यायो ।
प्रभु बैंक लिमिटेडले कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका, वाड नं १, भिमकालीपाटन स्थित बगर शाखालाई साविकको स्थानबाट करिव १०० मिटर दक्षिणतर्फ स्थानन्तरण गर्यो ।
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले मोरङ्ग जिल्ला स्थित ग्रामथान शाखा र झापा जिल्ला स्थित दमक शाखाको औपचारिक उद्घाटन गर्यो ।

अन्य
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गर्यो ।
बुम रेमिट्यान्स प्रा. लि. को आठौँ बार्षिक साधारणसभा सोल्टीमोड काठमाडौँमा सम्पन्न भयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]