fbpx

म्युचुअल फण्ड भनेको के हो ? किन गर्ने लगानी ?

January 11, 2018

बैंकिङ खबर । पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ताहरुबाट संकलित कोष नै म्युचुअल फण्ड हो । नेपालमा म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले नियमन र निरीक्षण गर्दछ । नेपालमा म्युचुअल फण्ड जारी गर्ने, निरीक्षण गर्ने र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य म्युचुअल फण्ड नियमावली २०६७ ले  निर्धारण गरे अनुसार र धितोपत्र बोर्डले तोके बमोजिम हुने गर्दछ । नेपालमा म्युचुअल फण्ड, म्युचुअल फण्ड नियमावली २०६७ र म्युचल फण्ड निर्देशिका २०६९ बाट नियन्त्रित छन् ।

म्युचुअल फण्ड नियमावली २०६७ ले निर्धारण गरेअनुसार, म्युुचुअल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड र ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन् । यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरुलाई वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ । 

किन गर्ने लगानी ?
म्युचुअल फण्डमा लगानी गर्नका लागि ठूलो पुँजीको आवश्यकता पर्दैन । न्युनतम एक हजार रुपैयाँमा नै लगानीको सुरुवात गर्न सकिने भएकाले ससाना लगानीकर्ताले पनि यसबाट लाभ लिन सक्छन् । कोष प्रबन्धकहरूले म्युचल फण्डको तपÞर्mबाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले बार्षिक रुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन् । प्रोफेसनल व्यवस्थापकद्धारा व्यवस्थापन गरिने, पारदर्शी हुने, न्युन कारोबार शूल्क र सानै स्रोतबाट लगानी गर्न सकिने हुँदा नयाँ लगानीकर्ता, सेयर बजारको घटबढका बारेमा जानकारी नभएका साना लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड लाभदायक मानिन्छ । यस्ता म्युचुअल फण्डहरु लगानीको विविधिकरण र कर सुविधाका साथमा सहजै र छिटो किनबेच गर्न सकिने भएकाले पनि लगानीको सुरक्षित क्षेत्र मानिन्छ । 
 
म्युचुअल फण्डका प्रकारहरु
संरचनागत रुपमा म्युचुअल फण्ड दुई प्रकारका हुन्छन् : खुल्ला समाप्ति कोष र बन्द समाप्ति कोष ।

खुल्ला समाप्ति कोष : खुल्ला समाप्ति कोष कुनै पनि समयमा किनबेचको लागि उपलब्ध हुन्छ भने दोस्रो बजार अर्थात नेप्सेमा सूचिकृत हुँदैन । यसको किनबेच कुनै पनि समयमा खुद सम्पत्ति मूल्यको आधारम ागर्न सकिन्छ । यस्तो कोषलाई यति नै ईकाई जारी गर्नुपर्छ भन्ने रोकावट वा नियम नहुने हुँदा मागको आधारमा जति ईकाई पनि जारी गर्न सकिन्छ भने ईकाईधारीहरुको बेच्न चाहेमा कोषले नै किन्न पनि सक्ने हुन्छ । 

बन्द समाप्ति कोष : बन्द समाप्ति कोषले निश्चित संख्यामा तोके बमोजिमको ईकाई सामान्यतः तीनदेखि १५ वर्षसम्मको समयको लागि जारी गर्ने गर्छन् । बन्द समाप्ति कोषले निश्चित पुंजी प्राथमिक निष्काशनद्वारा संकलन गर्ने गर्छन् । यसरी संकलित कोषलाई धितोपत्र बोर्डमा सुचिकृत गरिन्छ र दोस्रो बजारमा कारोबार गरिन्छ । तय गरेअनुसारको समय सिमा सकिएपछि लगानीकर्ताले ईकाईको लगानी सहितको लाभ फिर्ता पाउँछन् । नेपालमा हाल पाँच बर्षे र सात बर्षे बन्द समाप्ति कोषहरु संचालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.