देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति : राष्ट्र बैंकको चौमासिक समीक्षा

December 25, 2017

आर्थिक परिदृश्य 
१. हालसम्म उपलब्ध आर्थिक तथ्याङ्कहरुबाट आर्थिक तथा वित्तीय परिदृष्य मिश्रित रहने देखिन्छ । 
२. तीनवटा सकारात्मक विकासक्रमले आगामी आर्थिक परिदृष्य निर्धारण गर्ने देखिन्छ । पहिलो, निर्माण कार्यले गति लिएको छ । व्यक्तिगत घर, होटल तथा जलविद्युत परियोजनाहरुको निर्माण बढ्दो क्रममा रहेकोछ । सिमेन्ट, आल्मोनियम बार, कोल्डरोड रोड सिट इन क्वाइल, एम.एस विलेट तथा रड जस्ता निर्माण सामग्रीहरुको आयातमा भएको वृद्धिबाट निर्माण कार्यले तीव्रता लिएको प्रतिविम्वित हुन्छ । दोस्रो, औद्योगिक उत्पादनको क्षेत्रमा क्रमिक सुधार भइरहेको छ । नेपाल राष्ट्र बैंकले हालै गरेको आर्थिक गतिविधि अध्ययनले पनि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेको देखाएको छ । यस अन्र्तगत सिमेन्ट, फलाम तथा स्टिल, जस्तापाता तथा तार जस्ता उद्योगहरुको उत्पादन उत्साहप्रद देखिन्छ । औद्योगिक कच्चापदार्थको आयात र उद्योगहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको विस्तारले औद्योगिक क्षेत्रको परिदृष्य सकारात्मक रहेको देखिन्छ । तेस्रो, पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । पर्यटक आगमनसँगै होटलहरुको अकुपेन्सीदरमा भएको वृद्धि एवम् होटल निर्माण कार्यले लिएको गतिले पर्यटन क्षेत्रको सकारात्मक परिदृष्य इङ्गित गर्दछ । 
३. पछिल्ला महिनाहरुमा न्यूनस्तरमा रहेको मुद्रास्फीति २०७४ कात्तिक महिनामा केही बढेको छ । पछिल्लो समयमा विश्वका कतिपय देशहरुमा समेत मुद्रास्फीति बढ्ने प्रवृत्ति देखिएको छ । 
४. वाह्य क्षेत्र तर्फ, निर्यात भन्दा आयातमा उच्च वृद्धिको अलावा विप्रषेण आप्रवाहमा समेत कमी आएकोले चालू खाता घाटामा गएको छ । तथापि विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकोले मुलुकको वाह्य क्षेत्रको अवस्था मजबुत नै रहेको छ । 
५. वित्तीय क्षेत्रतर्फ, वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिकमा कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह र निक्षेप परिचालन बीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक छ । स्थानीय, प्रदेश एवम्संघीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेकोले सरकारी खर्च खासगरी स्थानीय तहको सरकारी खर्च वृद्धि हुने अपेक्षा रहेको छ । यसबाट वित्तीय क्षेत्रमा हाल देखिएको घर्षणमा केही सहजीकरण हुने देखिन्छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 
६. २०७४ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१ प्रतिशत रहेकोमा २०७४ कात्तिक महिनामा तरकारी, मदिराजन्य पेय पदार्थ लगायतमा भएको मूल्य वृद्धिले समग्र वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा केही वृद्धि भई ३.९ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८ प्रतिशत रहेको थियो । 

खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति २.६ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २४.१ प्रतिशत र मसलाको मूल्यमा ५.५ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । तर, समीक्षा महिनाको तरकारीको मूल्य सूचकाङ्क गत महिनाको तुलनामा ९.६ प्रतिशतले वृद्धि भएको कारण समीक्षा महिनामा मात्र खाद्य मुद्रास्फीति १.३ प्रतिशतले बढेको छ । 

गैर–खाद्य मुद्रास्फीति 
८. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ्ग तथा युटिलिटी, स्वास्थ्य लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
९. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.४ प्रतिशत, पहाडमा ४.७  प्रतिशत, तराईमा ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा ३.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा हिमाली क्षेत्र अन्तर्गत रहेको चन्दननाथ बजारकेन्द्र, जुम्लामा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्य वृद्धि अधिक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ४.० प्रतिशत, पहाडमा ६.२ प्रतिशत, तराईमा ५.१ प्रतिशत र काठमाडौं उपत्यकामा ३.० प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
१०. २०७४ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेकाले यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.० प्रतिशत रहेको छ । समीक्षा अवधिमा भारतको मुद्रास्फीति उच्च रहनुमा भारतीय बजारमा तरकारीको मूल्यमा भएको उच्च वृद्धि (२२.५ प्रतिशत) एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको प्रभाव रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ४.८ प्रतिशत र ३.६ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.२ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
११. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.३ प्रतिशतले घटेको र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.१ प्रतिशत तथा आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ६.२ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.७ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.६ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
१२. समीक्षा अवधिमा वार्षिक बिन्दुगत रुपमा राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ९.५ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.१ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः १०.६ प्रतिशत, ५.८ प्रतिशत र ०.८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः ४.८ प्रतिशत, ६.६ प्रतिशत र ३.२ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

१३. आर्थिक बर्ष २०७४/७५ को चार महिनासम्ममा कुल वस्तु निर्यात ७.५ प्रतिशतले वृद्धि भई रु. २६ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ २ प्रतिशत, चीनतर्फ ३३.५ प्रतिशत र अन्य मुलुकतर्फ १३.३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पती घ्यू, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जि.आई.पाईप, उनी गलँैचा लगायतका वस्तुहरूको निर्यात घटेको छ । 
१४. समीक्षा अवधिमा कुल वस्तु आयात १०.८ प्रतिशतले बढेर रु. ३३४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८७.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.४ प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात ४.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, विद्युतीय सामान, रासायनिक मल लगायतका वस्तुहरूको आयात घटेको छ । 
१५. भन्सार नाकाका आधारमा बिरगञ्ज भन्सार र कृष्णनगर भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र रसुवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१६. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ११.१ प्रतिशतले बढी रु. ३०७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ९७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.९ प्रतिशतमा रहको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१७. आर्थिक वर्ष २०७४/७५ कोचार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १.२ प्रतिशतले वृद्धि भएको र आयात मूल्य सूचकाङ्क ४.६ प्रतिशतले बढेका कारण व्यापारको सर्त ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अनुपात १३.१ प्रतिशतले बढेको थियो । चिया, यार्सागुम्बा, कार्पेट, कत्था, मैदाको मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, टायर, रेफ्रिजिरेटरको आयातीत मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
१८. समीक्षा अवधिमा कुल सेवा आयमा ६ प्रतिशत र कुल सेवा खर्च १३.९ प्रतिशतले बढेको कारण खुद सेवा आय रु. २ अर्ब ५८ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. १ अर्ब ९ करोडले बचतमा रहेको थियो । 
१९. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा ३२ प्रतिशतले वृद्धि भई रु. २२ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो बर्ष यस्तो आय ३३.५ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
२०. समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १.४ प्रतिशतले कमी आई रु. २२८ अर्ब ९५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.३ प्रतिशतले घटी रु. २६४ अर्ब ५७ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६.७ प्रतिशतले बढेको थियो । 
२१. वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्या (पुनः श्रमस्वीकृति बाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
२२. अघिल्लो वर्षको चार महिनामा रु. १ अर्ब ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा रु. २५ अर्ब ८१ करोडले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको चार महिनामा रु. २१ अर्ब ९८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. २ अर्ब ४० करोडले बचतमा रहेको छ । 
२३. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. ६ अर्ब ४२ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १० अर्ब १७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ३ अर्ब ३८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ५ अर्ब ७१ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२४. २०७४ असार मसान्तको रु. १०७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ कात्तिक मसान्तमा २.४ प्रतिशतले वृद्धि भई रु. ११०५ अर्ब ५२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ कात्तिक मसान्तमा २.३ प्रतिशतले वृद्धि भई रु. ९४८ अर्ब १८ करोड पुगेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब २६ करोड रहेकोमा २०७४ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई रु. १५७ अर्ब ३४ करोड पुगेको छ । २०७४ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२५. आर्थिक वर्ष २०७४/७५ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १३.५ महिनाको वस्तु आयात र ११.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.५ प्रतिशत, ९६.४ प्रतिशत र ४०.९ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.३ प्रतिशत र ४१.७ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२६. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४४.१५ रहेकोमा २०७४ कात्तिक मसान्तमा ३८.६ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६१.१८ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७३ कात्तिक मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२२६.९५ रहेकोमा २०७४ कात्तिक मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १२८० पुगेको छ । 

विनिमय दर 
२७. २०७४ असार मसान्तको तुलनामा २०७४ कात्तिक मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.१ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ०.५ प्रतिशतले अवमूल्यन भएको थियो । २०७४ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०४.०४ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 
२८. आर्थिक वर्ष २०७४/७५ को चार महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ३२ अर्ब १५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. २७ अर्ब ८ करोड रहेको थियो । 

सरकारी खर्च 
२९. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. १७६ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. १४० अर्ब ६८ करोड रहेको थियो । 
३०. समीक्षा अवधिमा चालू खर्च रु. १५२ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. १२४ अर्ब ८९ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च ५०.६ प्रतिशतले बढेर रु. १७ अर्ब ८६ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ११ अर्ब ८६ करोड भएको थियो । 

सरकारी राजस्व 
३१. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन १६.३ प्रतिशतले वृद्धि भई रु. १९५ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ८१.५ प्रतिशतले वृद्धि भई रु. १६८ अर्ब ४ करोड पुगेको थियो । समीक्षा अवधिमा राजस्व सङ्कलन लक्ष्यभन्दा कम रहेको छ । नेपाल सरकारको राजस्व सङ्कलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग सम्वेदनशील रहँदै आएको छ । 

सरकारको नगद मौज्दात 
३२. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ कार्तिक मसान्तसम्ममा सरकारी ढुकुटीमा रु. ३०८ अर्ब ७४ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 
३३. आर्थिक वर्ष २०७४/७५ को चार महिनामा विस्तृत मुद्राप्रदाय ४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको छ । 
३४. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. २ अर्ब ४० करोड (०.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. २१ अर्ब ९८ करोड (२.३ प्रतिशत) ले बढेको थियो । 
३५. समीक्षा अवधिमा सञ्चित मुद्रा १४.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिक मसान्तमा सञ्चित मुद्रा १.९ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३६. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ३.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिक मसान्तमा यस्तो कर्जा १८.६ प्रतिशतले बढेको छ । 
३७. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७४ कात्तिक मसान्तमा १७.५ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.९ प्रतिशतले बढेको छ । 
३९. २०७४ कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ४४.० प्रतिशत र ३१.२ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.४ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६.५ प्रतिशत, विकास बैंकहरूको १०.२ प्रतिशत र वित्त कम्पनीहरूको १.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७.५ प्रतिशतले बढेको छ । 
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ प्रतिशत र १४.९ प्रतिशत रहेको थियो । 
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ४३.६ प्रतिशत (रु.२८ अर्ब ११ करोड) ले वृद्धि भई रु. ९२ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.४ प्रतिशतले बढेको थियो । 
४३. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित हायर पर्चेज कर्जा ३.६ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा २.९ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.५ प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
४४. आर्थिक वर्ष २०७४/७५ को चार महिनासम्ममा यस बैंकले रु. १२७ अर्ब २० करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, निक्षेप संकलन बोलकबोल (९० दिने, ३० दिने र १४ दिने) मार्फत् रु. ४२ अर्ब ४५ करोड तथा रिभर्स रिपोमार्फत् (टर्नओभरको आधारमा) रु. ८४ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ९२ अर्ब २५ करोड तरलता प्रशोचन भएको थियो भने रिपो बोलकबोलमार्फत् रु. १० अर्ब १ करोड तरलता प्रवाह भएको थियो ।
४५. समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले रु. ५ अर्ब ५० करोड बराबरको स्थायी तरलता सुबिधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. १० अर्ब ५ करोड बराबरको त्यस्तो सुबिधा उपयोग गरेका थिए । 
४६. आर्थिक वर्ष २०७४/७५ को चार महिनासम्ममा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब १ करोड ८७ लाख खुद खरिद गरी रु. २०० अर्ब ३३ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २९ करोड ३ लाख खुद खरिद भई रु. १३७ अर्ब ८७ करोड खुद तरलता प्रवाह भएको थियो । 
४७. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ४० करोड र युरो ४ करोड बिक्री गरी रु. १४९ अर्ब ४७ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३० करोड र युरो ९ करोड ५० लाख बिक्री गरी रु. १५० अर्ब ३३ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४८. उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ कात्तिक मसान्तमा साधारण पुनरकर्जा रु. ७ अर्ब ५६ करोड २९ लाख र निर्यात पुनरकर्जा रु. ७५ करोड ४१ लाख गरी कुल रु. ८ अर्ब ३१ करोड ७० लाख पुनरकर्जा लगानीमा रहेको छ । 
४९. भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ कात्तिक मसान्तसम्ममा रु. १ अर्ब १ करोड ३४ लाख पुनरकर्जा उपयोगमा रहेको छ । 
५०. २०७४ असोज मसान्तसम्ममा नेपाल सरकारबाट ५.० प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ५९७४ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत रु. ६ अर्ब ४५ करोड ८१ लाख कर्जा बक्यौता रहेको छ भने रु. ३१ करोड १० लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

अन्तर–बैंक कारोबार 
५१. आर्थिक वर्ष २०७४/७५ को चार महिनामा वाणिज्य बैंकहरूले रु. ३२१ अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ७ अर्ब १८ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ४०० अर्ब ३३ करोड र रु. १२० अर्ब ७५ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५२. २०७३ कात्तिकमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ३.० प्रतिशत रहेकोमा २०७४ कात्तिकमा २.५५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ कात्तिकको ३.५९ प्रतिशतको तुलनामा २०७४ कात्तिकमा २.६८ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ कात्तिकको ६.५५ प्रतिशतको तुलनामा २०७४ कात्तिकमा १०.११ प्रतिशत पुगेको छ । 

मर्जर/प्राप्ति 
५३. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ कात्तिक मसान्तसम्म कुल १५६ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११६ वटा संस्थाहरूको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । 

पूँजी बजार 
५४. नेप्से सूचकाङ्कमा वार्षिक बिन्दुगत आधारमा १२.५ प्रतिशतले ह्रास आई २०७४ कात्तिक मसान्तमा १४८९.१ बिन्दुमा झरेको छ । २०७३ कात्तिक मसान्तमा उक्त सूचकाङ्क ५५.५ प्रतिशतले वृद्धि भई १७०१.९ बिन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ बिन्दु कायम भएको थियो । 
५५. धितोपत्र बजार पूँंजीकरण वार्षिक बिन्दुगत आधारमा ८.६ प्रतिशतले ह्रास आई २०७४ कात्तिक मसान्तमा रु. १,७२८ अर्ब ६८ करोड कायम भएको छ । बजार पूँजीकरण अनुपात २०७३ कात्तिक मसान्तमा ६३.६ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ६६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८४.२ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको अंश ८२.७ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.७ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.५ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ८.४ प्रतिशत रहेको छ । 
५६. २०७५ कात्तिकमा कुल सेयर कारोबार रकममा १९.६ प्रतिशतले ह्रास आई रु. ९ अर्ब ८३ करोड हुन पुगेको छ । २०७३ कात्तिकमा यस्तो रकम २७१.४ प्रतिशतले वृद्धि भई रु. १२ अर्ब २३ करोड पुगेको थियो । 
५७. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ कात्तिक मसान्तमा १९७ रहेको छ । २०७३ कात्तिक मसान्तमा यस्तो संख्या २२३ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरूको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १५१ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १७ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य वार्षिक बिन्दुगत आधारमा ३३.५ प्रतिशतले वृद्धि भई २०७४ कात्तिक मसान्तमा रु. ३०३ अर्ब ३० करोड पुगेको छ । समीक्षा अवधिमा रु. १ अर्ब ५६ करोड बराबरको साधारण सेयर, रु. १९ अर्ब ६३ करोड बराबरको हकप्रद सेयर, रु. १ अर्ब २७ करोड बराबरको बोनस सेयर र रु. ३५ अर्ब १४ करोड बराबरकोसरकारी ऋणपत्र गरी कुल रु. ५७ अर्ब ६० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *