December 24th, 2017

चार महिनाको आर्थिक तथा वित्तीय समीक्षा : महँगी बढ्यो, चालू खाता घाटामा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिती मिश्रित रहने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकको विश्लेषण गरी राष्ट्र बैंकले यस्तो प्रक्षेपण गरेको हो । 

निर्माण कार्यले लिएको गति, औद्योगिक उत्पादनको क्षेत्रमा क्रमिक रुपमा भइरहेको सुधार र पर्यटन क्षेत्रमा आएको सुधारले आगामी आर्थिक परिदृश्य निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ । व्यक्तिगत घर, होटल तथा जलविद्युत परियोजनाहरुको निर्माण बढ्दो क्रममा रहेको छ । सिमेन्ट, आल्मोनियम बार, कोल्डरोड रोड सिट इन क्वाइल, एम.एस विलेट तथा रड जस्ता निर्माण सामग्रीहरुको आयातमा भएको वृद्धिबाट निर्माण कार्यले तीव्रता लिएको प्रतिविम्वित हुन्छ । त्यस्तै, नेपाल राष्ट्र बैंकले हालै गरेको आर्थिक गतिविधि अध्ययनले औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेको देखाएको छ । यस अन्र्तगत सिमेन्ट, फलाम तथा स्टिल, जस्तापाता तथा तार जस्ता उद्योगहरुको उत्पादन उत्साहप्रद देखिन्छ । औद्योगिक कच्चापदार्थको आयात र उद्योगहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको विस्तारले औद्योगिक क्षेत्रको परिदृष्य सकारात्मक रहेको देखिन्छ । यता, पर्यटक आगमनसँगै होटलहरुको अकुपेन्सीदरमा भएको वृद्धि एवम् होटल निर्माण कार्यले लिएको गतिले पर्यटन क्षेत्रको सकारात्मक परिदृष्य इङ्गित गर्दछ । 

त्यस्तै, पछिल्ला महिनाहरुमा न्यूनस्तरमा रहेको मुद्रास्फीति २०७४ कात्तिक महिनामा भने केही बढेको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा जनाएको छ । असोजमा ३.१ प्रतिशत रहेको मूल्य वृद्धिदर कात्तिकमा ३.९ प्रतिशत पुगेको छ । यो मूल्यवृद्धिदर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धिदर ४.८ प्रतिशत थियो । पछिल्लो समय नेपालमा मात्र नभएर विश्वका कतिपय देशहरुमा समेत मुद्रास्फीति बढ्ने प्रवृत्ति देखिएको राष्ट्र बैंकले जनाएको छ । 

वाह्य क्षेत्र तर्फ, निर्यात भन्दा आयातमा उच्च वृद्धिको अलावा विप्रषेण आप्रवाहमा समेत कमी आएकोले चालू खाता घाटामा गएको छ । आर्थिक बर्ष २०७४÷७५ को चार महिनासम्ममा कुल वस्तु निर्यात ७.५ प्रतिशतले वृद्धि भई रु. २६ अर्ब ३५ करोड पुगेको छ । यता, कुल वस्तु आयात १०.८ प्रतिशतले बढेर रु. ३३४ अर्ब ३१ करोड पुगेको छ । त्यस्तै, समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १.४ प्रतिशतले कमी आई रु. २२८ अर्ब ९५ करोडमा सीमित भएको छ । यसको प्रत्यक्ष प्रभाव चालू खातामा देखिएको छ । फलस्वरुप, अघिल्लो वर्षको चार महिनामा रु. १ अर्ब ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा रु. २५ अर्ब ८१ करोडले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको चार महिनामा रु. २१ अर्ब ९८करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. २ अर्ब ४० करोडले मात्रै बचतमा रहेको छ ।

यद्यपि, विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकोले मुलुकको वाह्य क्षेत्रको अवस्था भने मजबुत नै रहेको छ । २०७४ असार मसान्तको रु. १० खर्ब ७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ कात्तिक मसान्तमा २.४ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब पाँच अर्ब ५२ करोड पुगेको छ ।

वित्तीय क्षेत्रतर्फ, वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिकमा कर्जा प्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह र निक्षेप परिचालन बीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक रहेको राष्ट्र बैंकले औँल्याएको छ । 

स्थानीय, प्रदेश एवम् संघीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेकोले सरकारी खर्च खासगरी स्थानीय तहको सरकारी खर्च वृद्धि हुने देखिएको छ । यसबाट वित्तीय क्षेत्रमा हाल देखिएको घर्षणमा केही सहजीकरण हुने अपेक्षा गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]