December 18th, 2017

विकास बैंकहरुले पनि देशैभरी शाखा फैलाउँदै

सुष्मा थापा/बैंकिङ खबर । शाखा विस्तारमा वाणिज्य बैंकहरु मात्रै नभएर विकास बैंकहरु पनि आक्रामक तवरले लागी परेका छन् । सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारी योजनालाई विकास बैंकहरुले पनि साथ दिइरहेका छन् । खासगरी, राष्ट्रिय स्तरका विकास बैंकहरुले शाखा सञ्जाल बढाएर देशैभरी फैलाउन लागिरहेका छन् ।

मुक्तिनाथ र महालक्ष्मी सबैभन्दा मजबुद
शाखा सञ्जालमा सबैभन्दा मजबुद विकास बैंक हो, मुक्तिनाथ विकास बैंक । बैंकले मुलुभर ७२ वटा शाखा विस्तार गरिसकेको छ । आगामी दिनहरुमा पनि शाखा विस्तारलाई प्राथमिकतामा राख्ने बैंकको योजना छ । त्यस्तै, महालक्ष्मी विकास बैंकले हालसम्म पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म ७० वटा शाखा विस्तार गरिसकेको छ । एक दुई वर्षभित्रमा शाखा नपुगेका स्थानहरुमा १५ देखि २० वटासम्म थप शाखा विस्तार गर्ने बैंकको योजना छ । बैंकले बैतडी, दार्चुला, बझाङ, बाजुरा जस्ता अति दुर्गम क्षेत्रमा शाखा विस्तार गर्न लागेको महालक्ष्मी विकास बैंकका सीईओ कृष्णराज लामिछानेले बताए ।

पश्चिमबाट सुरु भएका बैंक पनि पूर्वतिर विस्तारित हुँदै
गण्डकी विकास बैंकले ५३ वटा शाखामार्फत सेवा दिइरहेको छ । बैकले निकट भविष्यमा काठमाडौँको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौँडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ

पोखराबाट हालै काठमाडौँको लाजिम्पाटमा सरेको गरिमा विकास बैंकले ४९ शाखा विस्तार गरिसकेको छ । बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरीमा १० वटा शाखा कार्यालय स्थापना गर्दैछ । 

उपत्यकाभित्र ११ र उपत्यकाबाहिर ३० गरी कैलाश विकास बैंक लिमिटेडका कुल ४१ शाखा कार्यालय छन् । पोखरामा स्थापना भएर पछि राजधानी सरेको बैंकका शाखाहरु प्रायः पश्चिम क्षेत्रमा छन् । कुल ३५ शाखा रहेको सांग्रिला बैंक लिमिटेडका पनि अधिकांश शाखा पश्चिमतर्फ छन् । 

पोखरामा नै केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंकले ४१ शाखा विस्तार गरेको छ । जसमध्ये, छ वटा शाखा पोखरामा नै छन् । बाँकी शाखाहरु पनि पश्चिम क्षेत्रमा नै छन् । छिटै राजधानी सर्ने तरखरमा रहेका बैंकले पूर्वतिर पनि शाखा विस्तार गर्दै जाने बताएको छ । पोखरामा नै रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाभित्र जम्मा छ वटा गरी कुल ४१ शाखा संचालनमा ल्याइसकेको छ । 

मुलुकभर विस्तारित हुँदै अन्य बैंक पनि
देवः विकास बैंकले ४० वटा शाखा विस्तार गरिसकेको छ । उपत्यकाभित्र १२ र उपत्यकाबाहिर ३४ गरी देवः ज्योति विकास बैंकका कुल ४६ शाखा संचालनमा छन् । मेगा बैंकमा गाभिन लागको टुरिजम डेभलपमेन्ट बैंकका ३५ शाखा छन् । त्यस्तै, लुम्बिनी विकास बैंकको शाखा संख्या उपत्यकाभित्र १७ र बाहिर ४३ गरी कुल ६० वटा रहेका छ । यी बैंकहरु पनि मुलुकभर विस्तारित हुने एजेण्डाका साथ अघि बढिरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]