December 18th, 2017

वित्तीय साक्षरता अनुशासन र जीवनयापनको आधार

हरिकुमार सिलवाल / एउटा व्यक्ति र उसको परिवारमा आर्थिक विषयहरू स्वस्थ र टिकाउ बनाउन आवश्यक चेतना, ज्ञान र दक्षता हुनु नै वित्तीय रूपमा साक्षर वा शिक्षित हुनु हो । यसमा बैङ्किङ प्रणाली, मुद्राको व्यवस्थापन, लगानीका क्षेत्रहरू, बजेट, आम्दानी–खर्च, बचत गर्ने बानी, वित्तीय योजना आदि विषयहरू पर्छन् । वित्तीय ज्ञान हुनु शान्तिपूर्ण जीवनयापनका लागि जति महत्त्वपूर्ण छ, वित्तीय अनुशासन पनि त्यत्तिकै महत्त्वपूर्ण छ । वित्तीय अनुशासन भनेको आफूलाई बचाउन खर्च बचत वा नियन्त्रण गर्नु हो । यसको सजिलो र साधारण उपाय भनेको आम्दानीभन्दा खर्च कम गर्नु हो ।

व्यावहारिक र वैज्ञानिक वित्तीय व्यवस्थापनको माध्यमबाट तनावरहित घरपरिवार चलाउन, दिगो र टिकाउ वित्तीय अवस्थाको प्रत्याभूति गर्न परिवारका हरेक सदस्यले वित्तीय अनुशासन शुरू गरी अभ्यास गर्दै बानी पार्नुपर्छ ।

प्रभावकारी वित्तीय अनुशासनका नियमहरू :

  • घरमा हिसाब राख्नु र छलफल गर्नु
  • व्यावसायिक र निजी कारोबार छुट्याउनु
  • मिलेर सबै सदस्यले अर्थोपाजनमा सघाउनु
  • सामान्यतया समान खर्च गर्नु र विशेष उमेर र अवस्थाका सदस्यले सोहीअनुसार बढी खर्च गर्नु
  • वार्षिक बजेट बनाई कार्यान्वयन गर्नु
  • धेरै आम्दानी हुँदा खर्चमा नियन्त्रण (लगाम) हुनु
  • आकस्मिक कोषमा केही रकम राख्नु
  • बैङ्कमा एउटा अधिविकर्ष खाता र सीमासुविधा लिनु
  • सबैको बीमा गराउनु
  • नगद मौज्दात–३/६ महीनाको खर्चबराबर राख्नु
  • सकेसम्म कुल वार्षिक कमाइको आधा मात्र खर्च गर्नु
  • विवेकपूर्ण तरिकाले खर्च गर्नु

वेद, उपनिषद्, मनुस्मृति, याज्ञवल्क्य स्मृति, नारद स्मृति, कात्यायन स्मृति आदि ग्रन्थहरू पढ्दै र सनातन हिन्दू धर्म मान्दै परापूर्व कालदेखि एकपछि अर्को पुस्तामा कथा, श्लोक, व्यवहार र बोलीबाट सार्दै ल्याएको हाम्रा विभिन्न संस्कार, चलनचल्ती, विश्वास र व्यवहार हाम्रो आर्थिक र वित्तीय सोच र व्यवहारमा पनि झल्किन्छ । वैराग्य, दान र निःस्वार्थ कर्मजस्ता गुणलाई अँगाल्दै आएका पुर्खाहरूले सिकाएका सूत्र तथा नीतिअनुसार विकास भएका वित्तीय चेतले मात्र आजको विश्वव्यापीकरण र उपभोगवादले गाँजेको प्रतिस्पर्धात्मक युगमा टिक्न त्यति सजिलो छैन । व्यक्तिगत तथा पारिवारिक वित्तीय चेतना, सोच, व्यवहार हेर्दा नेपालीहरूमा केही विशिष्ट र अचम्मका बानीबेहोरा भेटिन्छ । न्यून आर्थिक अवस्थालाई लुकाई बनावटी ठाँटबाँठ र रवाफ देखाउने बानी धेरैमा भेटिन्छ । प्रयोगमा नै नआउने तीन÷चार तल्ले घर बनाउने र आफन्त वा छिमेकीले आफ्नोभन्दा अग्लो घर बनाएमा आवश्यक नभए पनि तला थप्ने अर्को विचित्रको बानी छ । विश्वका ठूला शहरमा भाडामा लगाइएका घरले त्यसको मूल्यको वार्षिक ८/१० प्रतिशतसम्म भाडा कमाउँछ भने नेपालमा २/३ प्रतिशत मात्र आम्दानी दिन्छ । यसै पनि लगानीका क्षेत्रहरू कम छन् । त्यसमाथि भएका विकल्प पनि तुलना नगरी अन्धाधुन्ध कृत्रिम रूपमा बढिरहेको मूल्यमा घरजग्गा किन्नु अर्को बानी हो । आयमा भन्दा सम्पत्तिमा विश्वास गर्ने सोचको उपज हो यो ।

बजेट नबनाउनु, वित्तीय साक्षर नहुनु, सिक्न नचाहनु, वास्तविक आर्थिक अवस्थाबारे परिवारमा छलफल नगर्नु, बचत नगर्नु, पुनः लगानी नगर्नु नेपालीका समस्या हुन् । निश्चित आय स्रोत नहुनु, व्यक्तिगत ऋण लिनु, बैङ्किङ प्रणालीमा छिर्न नचाहनु, अनौपचारिक आय हुनु, परिवारका अधिकांश सदस्यको आम्दानी नहुनु, बीमा नगर्नु, आम्दनीअनुसार खर्च नगर्नु, जीवनशैलीमा अस्वाभाविक उतारचढाव हुनु, राज्यले सामाजिक सुरक्षामा लगानी नगर्नु (पछिल्लो समय केही भत्ता र स्वास्थ्य बीमा शुरू हुनु सराहनीय छ) पनि समस्याका रूपमा देखिएका छन् । मजदूरको छोराले सँगै पढ्ने धनाढ्य व्यापारीको छोरासँगै प्रतिस्पर्धा गरेर खर्च गर्न चाहन्छ । समस्या यहीं छ । महीनौं सँगालेर बच्चाको शुल्क तिर्न लगेको पैसा बाटामा धैरै वर्षपछि भेटेको साथीले खाजा खुवाउन कुनै रेष्टुराँमा लग्यो भने जबर्जस्ती तिरेर आउँछन् । नसके पनि अर्काको पैसा तिरेर खुशी हुने बानी छ हाम्रो ।  पैसा मन पर्ने तर भन्न लाज लाग्ने, आय स्रोत नहुने तर महँगो जीवनशैली बाँच्ने, विदेशबाट पठाएको पैसा यसै आएजस्तो गर्ने, राजस्व तिर्नु ठूलो नोक्सान र अनावश्यक अथवा बाध्यात्मक खर्चजस्तो लाग्नेजस्ता विचित्रका बानी पनि पाइन्छ, यहाँ ।

समाधानका उपाय :

  • आफन्त, शिक्षक, साथी वा अन्य सिकाइ (माध्यम)बाट वित्तीय साक्षरता विकास गर्ने ।
  • परिवारमा छलफल गरी न्यूनतम वित्तीय अनुशासनका नियम सामूहिक रूपमा विकास गरी लागू गर्ने र अद्यावधिक गर्दै जाने ।
  • रोजगारी, स्वरोजगारी, व्यवसाय वा लगानीमध्ये आफूलाई उपयुक्त र मनपर्ने आयस्रोत अपनाउने ।
  • सानो उमेरका सदस्यसहितले बचत र पुनः लागानीको बानी विकास गर्ने ।
  • आम्दानी र जोखीमबीच सम्बन्धको ज्ञान राख्ने ।
  • नियम कानूनको जानकारी राख्ने र पालना गर्ने ।
  • आर्थिक चरणको पहिचान र सोअनुसार रणनीति निर्माण गर्ने ।
  • परिस्थितिअनुसार आफ्नो वित्तीय आकार फैलाउन वा खुम्च्याउन सक्ने क्षमताको विकास गर्ने ।
  • आफ्नो वित्तीय शाखको विकास र निरन्तरता कायम गर्ने ।
  • आय स्रोतको वैधानिकता निश्चित गर्ने ।
  • विविध कर तथा त्यसको ऐन नियमको परिपालना गर्ने ।
  • निश्चित आवधिक आम्दानी र खर्चबीचको सम्बन्ध बुझ्ने ।
  • खर्चका शीर्षकको ज्ञान, प्राथमिकता सूची र न्यूनीकरणका उपायहरू जान्ने ।
  • हरेक महीना वा वर्ष निश्चित आय हुने स्रोत विकास गरी निरन्तरता दिने ।

मानिसले आफ्नो जीवन चलाउन केही आधारभूत कुराहरू जान्नैपर्छ । यदि उसले ती कुराहरू जानेको छैन भने अरूले भनेको मान्नुपर्छ । ‘जान्ने’ वा ‘मान्ने’ बाहेक केही पनि नगर्ने व्यक्ति दुर्घटनामा पर्छ । हो, गल्ती स्वाभाविक छ । हिँड्ने लड्छ, गर्नेले बिगार्छ । त्यसो भन्दैमा लड्दै हिँड्न वा बिगार्दै गर्न पनि त पर्दैन । कम लडेरै हिँड्न वा कम बिगारेरै गर्न सके राम्रो हुन्छ । त्यसको सजिलो उपाय भनेको आवश्यक परेका अधिकांश कुरा सिक्ने र आफै जान्ने हुने हो ।  सिकाइको शुरूमा अरूको भनाइ मान्नुपर्ने अवस्था आउँछ । मान्नेबाट जान्नेमा सर्नुपर्छ ।

सिकाइ, विकास र सुधारको शुरू त्यसको आवश्यकताबाट हुन्छ । त्यसपछि सिकेरै छाड्ने र व्यवहारमा उतार्ने दृढ इच्छाशक्ति चाहिन्छ । त्यसको शुरुआत घरमूलीले नै गर्नुपर्छ । आफूले राम्रो गर्दै प्रमाणित गरेर अन्य सदस्यलाई पनि मूलधारमा ल्याउनुपर्छ । सामान्यतया, हाम्रो चलनचल्ती, संस्कार होस् वा औपचारिक शिक्षाले पनि वित्तीय साक्षरता र अनुशासन सिकाएको पाइँदैन । प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म पनि पाठ्यक्रममा वित्तीय शिक्षा र चेतना जगाउने र ज्ञान दिने विषयवस्तु राखेको पाइँदैन । घरमा अभिभावकले पनि कैयन विषय सिकाउँछन् । तर, वित्तीय विषयमा खासै जोड दिँदैनन् । अझ कति परिवारमा त बालबच्चाले आर्थिक चासो दिनुलाई नराम्रो रूपमा हेरिन्छ । यो गलत हो । उनीहरूलाई सिकाऔं, हामी पनि सिकौं । बेला होइन, ढिला भइसक्यो । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेका पुस्तकहरू, रेकर्ड गरी बजारमा ल्याइएका गीतहरू, नेशनल बैङ्किङ इन्ष्टिच्युटले प्रकाशित गरेका पुस्तक, पत्रपत्रिका तथा इण्टरनेटमा पाइने विभिन्न लेखका माध्यमबाट पनि हामी शिक्षित हुन सक्छौं । बानी सुधारौं, अनुशासित बनौं ।  सहयोग गरौं तर आफू रित्तिएर होइन । प्राङ्गारिक तरीकाले आर्थिक विकास गरौं न कि रातारात धनी बन्ने र क्षणभरमै फेरि जमीनमा आइपुग्ने । जग बसाल्दै तल्ला थप्दै जाऔं । दिगो र टिकाउ अनि सुरक्षित वित्तीय अनि आर्थिक अवस्था कायम गरी शान्तिपूर्ण जीवनयापन गरौं । अभियान दैनिकमा प्रकाशित रचना उपयुक्त देखिएकोले साभार गरिएको हो । लेखक नेपाल चार्टड एकाउण्टेण्ट्स सङ्घका अध्यक्ष हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]