December 14th, 2017

शाखा विस्तारमा आक्रामक हुँदै बैंकहरु : कसको शाखा कति ?

रुपा कोइराला/बैंकिङ खबर । सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने नीति अनुरुप बैंकहरु शाखा विस्तारमा आक्रामक तवरले लागीपरेका छन् । स्टान्डर्ड चार्टर्ड बैंकबाहेक २७ वटै वाणिज्य बैंकहरु योजनाबमोजिम शाखा विस्तारमा जुटेका छन् । हाल कृषि विकास बैंकको शाखा संख्या सबैभन्दा धेरै र स्टान्डर्ड चार्टर्ड बैंकको शाखा संख्या सबैभन्दा थोरै रहेको छ । हेरौँ, कुन बैंकका शाखा कति रहेका छन् : 

कृषि विकास बैंक लिमिटेड
५० बर्ष पहिले स्थापना भएको सरकारी स्वामित्वको कृषि विकास बैंक शाखा सञ्जाल विस्तारमा सबैभन्दा अग्रपंक्तिमा रहेको छ । मुलुकका विभिन्न ठाउँहरुमा यस बैंकको हाल दुई सय ५३ शाखा कार्यालयहरु सञ्चालनमा रहेको बैंकका सूचना अधिकारी हिमलाल पौडेलले जानकारी दिए । सूचना अधिकारी पौडेलले बैंकिङ खबरलाई दिएको जानकारी अनुसार कृषि विकास बैंकको उपत्यकाभित्र ३३ वटा र उपत्यका बाहिर दुई सय २० वटा शाखा कार्याहयहरु रहेका छन् । शाखा सञ्जाल सबैभन्दा बढी भएको यस बैंकले नयाँ संघीय संरचना अनुसार बनेका छ जिल्लाका सात स्थानीय तहमा बैंकको शाखा खोल्ने भएको छ । कृषि विकास बैंकले ओखलढुंगाको चम्पादेबी गाउँपालिका, सोलुखुम्बुको सोताङ गाउँपालिका, सुनसरीको बर्जु गाउँपालिका र सुनसरीकै कोशी गाउँपालिका, गोर्खाको गण्डकी गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका र बझाङको बुंगल गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंक शाखा सञ्जालको हिसाबले दोस्रो ठूलो वाणिज्य बैंक हो । पूर्ण सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकको जम्मा एक सय ८२ वटा शाखा कार्यालयहरु रहेका छन् । काठमाडौं उपत्यकाभित्र यस बैंकको ३८ वटा शाखा कार्यालयहरु रहेका छन् भने उपत्यका बाहिर मुलुकका विभिन्न ठाउँहरुमा एक सय ४४ वटा शाखा कार्यालयहरु रहेका छन् । यस बैंकले थपे पाँच जिल्लाको छ स्थानीय तहमा बैंक शाखा खोल्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले मोरङको कटहरी गाउँपालिका, पर्साको सुवर्णपुर गाउँपालिका, रौतहटको मौलापुर र इश्नाथ गाउँपालिका, पर्वतको महाशिला गाउँपालिका र सुर्खेतको गुर्भाकोट गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

प्रभु बैंक लिमिटेड
प्राइभेट सेक्टरको बलियो बैंकको रुपमा रहेको प्रभु बैंकले अहिले एक सय ४१ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिँदै आएको छ । यस बैंकको उपत्यकाभित्र ४६ वटा शाखा कार्यलयहरु रहेका छन् भने उपत्यका बाहिर ९५ वटा शाखा कार्यालयहरु रहेका छन् । स्थानीय तहमा प्रभुले सबैभन्दा बढी ३१ वटा स्थानीय तहहरुमा बैंक शाखा खोल्ने भएको छ । प्रभु बैंकले भोजपुरको अरुण गाउँपालिका, भाजपुरकै हतुवागढी गाउँपालिका, इलामको सन्दकपुर गाउँपालिका, सोलुखुम्बुको दुधकोशी गाउँपालिका, धनुषाको मुखियापट्टि गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, सिरहाको भगवानपुर गाउँपालिका, सिरहाकै बरियारपट्टि गाउँपालिका, बझाङको ताराखोला, तमानखोला, वरेङ, निशी खोला र वडिगाउँ गाउँपालिका, कास्कीको माछापुच्छ«े गाउँपालिका, मनाङको नाशोङ र नेस्याङ गाउँपालिका, मुस्ताङको दालोमे, थोमन्साङ र थासाङ गाउँपालिका, म्याग्दीको धवलागिरी र रघुगंगगा गाउँपालिका, पर्वतको विहादी गाउँपालिका, कपिलवस्तुको विजयनगर गाउँपालिका, रोल्पाको माडी गाउँपालिका, दैलेखको भगवती माई र गुँरास गाउँपालिका, डोल्पाको शे फोक्सुण्डे गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, बैतडीको सिगास गाउँपालिका, डडेलधुराको नवदुर्गाली गाउँपालिका र दार्जुलाको व्याँस गाउँपालिकामा शाखा खोल्ने भएको छ ।  

नेपाल बैंक लिमिटेड
नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड शाखा संख्याको हिसाले चौथो स्थानमा रहेको छ । यस बैंकको हाल उपत्यकामा २९ सहित देशका विभिन्न ठाउँहरुमा एक सय ३४ वटा शाखाहरु रहेका छन् । नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडले ५ स्थानीय तहमा शाखा खोल्ने भएको छ । नेपाल बैंकले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका, नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रुकुमको सिस्ने गाउँपालिका, सल्यानको बागचौर नगरपालिका र डोल्पाको जगदल्ला गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक शाखा सञ्जालको हिसाबले पाचौँ ठूलो वाणिज्य बैंक हो । यस बैंकको हाल एक सय २८ वटा शाखा कार्यालयहरु रहेका छन् । यस बैंककी गुनासो सुन्ने अधिकारी साफी पौड्यालले दिएको जानकारी अनुसार उपत्यकाभित्र ३२ सहित मुलुकभर एक सय २८ वटा शाखा कार्यालयहरु रहेका छन् । यस बैंकले बैंक शाखा नपुगेका पाँच स्थानीय तहमा आफ्नो शाखा खोल्ने भएको छ । एनआईसी एशिया बैंकले झापाको कचनकवल गाउँपालिका, ताप्लेजुङको मेरिङदेन गाउँपालिका, नवलपरासीको वुलिङटार गाउँपालिका, अछामको रामारोशन गाउँपालिका र कञ्चनपुरको बेदकोट नगरपालिकामा शाखा खोल्ने भएको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड
काठमाडौँ उपत्यकाभित्र ३२ र उपत्यकाबाहिर ७५ गरी ग्लोबल आईएमई बैंक लिमिटेडका कुल १०७ शाखा संचालनमा छन् । ग्लोबल आईएमई बैकले ७ स्थानीय तहमा बैंक शाखा खोलने भएको छ । यस बैंकले काभ्रेको बेथानचोक गाउँपालिका, गोर्खाको सिरानचोक गाउँपालिका, गुल्मीको गुल्मी दरबार गाउँपालिका, कालिकोटको रास्कोट नगरपालिका, बैतडीको पुर्चोडी नगरपालिका, डोटीको बोगटान गाउँपालिका र कर्णलीको मोहन्याल गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

एनएमबि बैंक लिमिटेड
उपत्यकाभित्र १८ वटा र उपत्यकाबाहिर ७३ गरी एनएमबि बैंकले कुल ९१ शाखामार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने सरकारी योजनाअनुरुप बैंकहरुले गरेको सहमति अनुसार, एनएमबि बैंकले १० जिल्लाका १० स्थानीय तहहरुमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । बैंकले सुनसरीको देवानगञ्ज गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, झापाको कन्काई गाउँपालिका, सप्तरीको सुरुङ्गा नगरपालिका, धनुषाको बटेश्व गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका, नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, डोटीको केआसी गाउँपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा शाखा खोल्नेछ ।

जनता बैंक नेपाल लिमिटेड
जनता बैंक नेपाल लिमिटेडका उपत्यकाभित्र १६ र उपत्यकाबाहिर ७५ गरी ९१ वटा शाखा संचालनमा रहेका छन् । बैंकले १५ स्थानीय तहमा शाखा विस्तार गर्दैछ । जनताले प्रदेश नं. १ को २ वटा, प्रदेश नं. २ को ३ वटा, प्रदेश नं. ३ को २ वटा, प्रदेश नं. ४ को ३ वटा, प्रदेश नं. ५ को २ वटा, प्रदेश नं. ५ को २ वटा र ७ को एउटा स्थानीय तहमा शाखा खोल्नेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कुल ८४ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । जसमध्ये, नौ वटा शाखा उपत्यकाभित्र र ७५ वटा शाखा उपत्यकाबाहिर विस्तार गरेको बैंकले जनाएको छ । बैंकले बैंक नपुगेका छ स्थानीय तहमा शाखा खोल्ने भएको छ । बैंकले खोटाङको लामिडाँडा गाउँपालिका, मोरङको ग्रामथान गाउँपालिका, सर्लाहीको गोडैटा नगरपालिका, अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र दाङको राजपुर गाउँपालिकामा शाखा खोल्नेछ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले हालसम्म ८३ वटा शाखा विस्तार गरेको छ । जसमध्ये, काठमाडौँ उपत्यकाभित्र २४ र उपत्यकाबाहिर ५९ वटा शाखा रहेका छन् । सिद्धार्थ बैंकले नौ जिल्लाका नौ वटा स्थानीय तहमा आफ्ना शाखा खोल्ने भएको छ । बैंकले भोजपुरको षडानन्द नगरपालिका, संखुवासभाको मकालु गाउँपालिका, सुनसरीको गढी गाउँपालिका, सर्लाहीको हरिपुर गाउँपालिका, काभ्रेको रोशी गाउँपालिका, रामेछापको गोकुल गंगा गाउँपालिका, कपिलवस्तुको यसोधरा गाउँपालिका, रुपन्देशीको मर्चवारी गाउँपालिका र बाजुराको बुढीगंगा गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडका उपत्यकाभित्र २५ र उपत्यकाबाहिर ५३ वटा गरी कुल ७८ वटा शाखा कार्यालय संचालनमा छन् । बैंकले बैंकिङ पहुँच नपुगेका पाँच स्थानीय तहमा शाखा खोल्दैछ । बैंकले तेह्रथुमको लाललिगुँरास गाउँपालिका, सिरहाको धनगढीमाई नगरपालिका, दाङको दगिशरण नगरपालिका, बैतडीको मेलौली नगरपालिका र कञ्चनपुरको कृष्णापुर नगरपालिकामा शाखा खोल्नेछ ।

कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले हाल ७५ शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । बैंकका कुल शाखामध्ये, २४ वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् । बैंकले बैंकिङ पहुँच नभएका १३ वटा स्थानीय तहमा शाखा खोल्ने भएको छ । बैंकले प्रदेश नं. १ र २ को १।१ वटा, प्रदेश नं. ३ को २ वटा, ४ को ४ वटा, ५ को २ वटा तथा ६ र ७ को १।१ वटा स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्नेछ । 

लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडका कुल ७४ शाखा संचालनमा छन् । जसमध्ये, १६ शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् । लक्ष्मी बैंकले ९ स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । यस बैंकले सोलखुम्बुको दुशकौशिका गाउँपालिका, सुनसरीको भोक्राहा गाउँपालिका, महोत्तरीको मनरा गाउँपालिका, मकवानपुरको बकैया गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका, पाल्पाको तिनाउ गाउँपालिका, सुर्खेतको चोकुने गाउँपालिका, सुर्खेत कै सिम्ता गाउँपालिका र दार्चुलाको सिम्ता गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेडका ७१ शाखा संचालनमा छन् । जसमध्ये, २० वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् । बैंक अफ काठमाण्डूले बैंकिङ पहुँच नपुगेका नौ स्थानीय तहमा शाखा खोल्ने भएको छ । यस बैंकले संखुवासभाको मादी नगरपालिका, रौतहटको गढीमाई गाउँपालिका, सप्तरीको छिन्नमस्ता गाउँपालिका, मकवानपुरको इन्द्र सरोबर गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका, गुल्मीको इस्मा गाउँपालिका, कपिलवस्तुको बुद्धभूमी नगरपालिका, जाजगरकोटको त्रिवेणी नलगाढ नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा शाखा खोल्ने भएको छ ।

सनराइज बैंक लिमिटेड
सनराइज बैंक लिमिटेडका कुल ७१ शाखा संचालनमा छन् । जसमध्ये, ३० वटा काठमाडौँ उपत्यकाभित्र र ४१ वटा उपत्यकाबाहिर रहेका छन् । बैंकले १९ वटा स्थानीय तहका शाखा खोल्दैछ । सनराइजले प्रदेश नं. १ को ३ वटा, प्रदेश नं. २ को ४ वटा, प्रदेश नं. ३ को २ वटा, प्रदेश नं. ४ को एउटा, प्रदेश नं. ५ को ४ वटा, प्रदेश नं. ६ को एउटा र प्रदेश नं. ७ को ५ वटा स्थानीय तहमा शाखा खोल्नेछ ।

नेपाल एसबीआई बैंक लिमिटेड
नेपाल एसबीआई बैंकले लिमिटेडले ६८ वटा शाखा विस्तार गरेको छ । जसमध्ये, १८ वटा शाखा काठमाडौँ उपत्यकाभित्र छन् । बैंकले सात स्थानीय तहमा शाखा खोल्ने सहमति गरेको छ । यस बैंकले खोटाङको साकेलो गाउँपालिका, ओखलढुंगाको लिखु गाउँपालिका, संखुवासभाको धर्मदेवी नगरपालिका, नुवाकोटको पञ्चकन्या गाउँपालिका, प्युठानको गौमुखी गाउँपालिका, दैलेखको चामुण्डा बिन्द्रशैनी नगरपालिका र बैतडीको शिवनाथ गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका उपत्यकाभित्र २४ वटासहित कुल ६६ वटा शाखा संचालनमा छन् । उपत्यकाबाहिर ४२ वटा शाखा संचालनमा ल्याइसकेको बैंकले बैंकिङ पहुँच नपुगेका छ स्थानीय तहमा शाखा खोल्न सहमति गरेको छ । जसअनुसार, रुकुमको आठबिसकोट नगरपालिका, झापाको हल्दीबारी गाउँपालिका, महोत्तरीको औरही गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, दाङको बंगलाचुली गाँउपालिका र हुम्लाको सर्केगाड गाउँपालिकामा सिटिजन्सले शाखा विस्तार गर्नेछ ।

एभरेष्ट बैंक लिमिटेड
काठमाडौँ उपत्यकाभित्र २१ र उपत्यकाबाहिर ४४ गरी एभरेष्ट बैंक लिमिटेडले कुल ६५ शाखा विस्तार गरिसकेको छ । बैंकले बैंकिङ पहुँचबाहिर रहेका छ स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । एभरेष्टले महोत्तरीको पिपरा गाउँपालिका, नुवाकोटको दुप्चेस्वर गाउँपालिका, स्यांजाको बिरुवा गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका र डोटीको शिखर नगरपालिकामा शाखा खोल्ने भएको छ ।

नविल बैंक लिमिटेड
नविल बैंक लिमिटेडले ६२ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । कुल शाखामध्ये, २० वटा शाखा उपत्यकाभित्र रहेका छन् । नविलले बैंक शाखा नपुगेका छ स्थानीय तहहरुमा बैंक शाखा खोल्ने भएको छ । नविलले पर्साको पोखरिया नगरपालिका, रुपन्देशीको सम्मरीमाई गाउँपालिका, जुम्लाको तिला गाउँपालिका, सुर्खेतको बराहताल गाउँपालिका, बझाङको वित्थडचिर गाउँपालिका र डडेलधुरको आतिलाल गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

माछापूछ्रे बैंक लिमिटेड
माछापूछ्रे बैंक लिमिटेडका ६२ शाखा संचालनमा छन् । जसमध्ये, १७ वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् । बैंकले ५ स्थानीय तहमा शाखा खोल्ने भएको छ । यस बैंकले धनुषाको गशेमान चारंगा नगरपालिका, सिरहाको कर्जन्हा गाउँपालिका, मुगुको खत्याङ गाउँपालिका, अछामको पञ्चदेवल विनायक नगरपालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिकामा शाखा खोल्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले हाल ६१ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । बैंकका कुल शाखामध्ये, २२ वटा शाखा उपत्यकाभित्र रहेका छन् । बैंकले १८ वटा स्थानीय तहमा शाखा खोल्दैछ । जसमध्ये, प्रदेश नं. १ को ३ वटा, प्रदेश नं. ३ को ५ वटा, प्रदेश नं. ४ को एउटा, प्रदेश नं. ५ को ४ वटा, प्रदेश नं. ६ को २ वटा र प्रदेश नं. ७ को ३ वटा स्थानीय तह रहेका छन् ।

सिभिल बैंक लिमिटेड
सिभिल बैंक लिमिटेडको कुल शाखा संख्या ५२ रहेको छ । जसमध्ये, १८ वटा शाखा काठमाडौँ उपत्यकाभित्र र ३४ वटा बाहिर रहेका छन् । बैंकले छ जिल्लाका नौ स्थानीय तहमा शाखा विस्तार गर्ने भएको छ । सिभिलले इलामको माईजागमाई गाउँपालिका, पाँचथरको याङवरक, हिलिहाङ र मिक्लाजुङ गाउँपालिका, रामेछापको खाँदेवी गाउँपालिका, लमजुङको राईनास, क्व्होलासोथार, दुधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा शाखा खोल्नेछ ।

प्राइम कमर्सियल बैंक लिमिटेड
उपत्यकाभित्र १७ र उपत्यकाबाहिर ३४ गरी प्राइम कमर्सियल बैंकका कुल ५१ वटा शाखा कार्यालय रहेका छन् । प्राइम कमर्शियल बैंकले बैंकिङ पहुँच नभएका छ स्थानीय तहमा बैैंकको शाखा खोल्ने भएको छ । बैंकले संखुवासभाको सभापोखरी गाउँपालिका,  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका, मकवानपुरको भिफेदी गाउँपालिका, सुर्खेतको लेकबेसी नगरपालिका, बझाङको खप्तडछान्ना गाउँपालिका र कैलालीको कैलारी गाउँपालिकामा आफ्नो शाखा खोल्नेछ ।

नेपाल बंगलादेश बैंक लिमिटेड
काठमाडौँ उपत्यकाभित्र ३६ र बाहिर १४ गरी नेपाल बंगलादेश बैंक लिमिटेडको कुल शाखा संख्या ५० पुगेकोा छ । सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने योजनाअनुरुप एनबिले सात स्थानीय तहहरुमा शाखा स्थापना गर्ने भएको छ । बैंकले भोजपुरको साल्पाछिलिचो गाउँपालिका, धनकुटाको साँघुरीगढी गाउँपालिका, संखुवासभाको पाच खपन नगरपालिका, तेह्रथुमको छथर गाउँपालिका, बाराको परवानीपुर गाउँपालिका, अर्घाखाँचीको छत्रदेव गाउँपालिका र जुम्लाको सिंजा गाउँपालिकामा शाखा खोल्नेछ ।

हिमालयन बैंक लिमिटेड
काठमाडौँ उपत्यकाभित्र १७ र उपत्यकाबाहिर ३१ गरी हिमालयन बैंक लिमिटेडका कुल ४८ वटा शाखा संचालनमा रहेका छन् । हिमालयन बैंकले बैंकिङ पहुँच नपुगेका तीन स्थानीय तहमा शाखा खोल्ने सहमति गरेको छ । बैंकले बाराको प्रसोनी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिकामा शाखा खोल्नेछ ।

सनिमा बैंक लिमिटेड
उपत्यकाभित्र १४ र उपत्यकाबाहिर ३३ गरी सानिमा बैंक लिमिटेडका ४७ वटा शाखा संचालनमा रहेका छन् । सानिमा बैंकले बैंकिङ पहुँच नपुगेका पाँच स्थानीय तहमा बैंक शाखा खोल्ने भएको छ । सानिमाले इलामको माई नगरपालिका, सुनसरीको हरिनगरा गाउँपालिका, दोलखाको मेलुङ गाउँपालिका, दैलेखको डङ्गेश्वर गाउँपालिका र डडेलधुराको भागेश्वर गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड
हालसम्म मेगा बैंक लिमिटेडले ४४ वटा शाखा विस्तार गरेको छ । जसमध्ये, ३४ वटा शाखा उपत्यकाबाहिर रहेका छन् भने १० वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् । मेगा बैंकले ११ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने भएको छ । जसमा, प्रदेश नं. १ को २ वटा, प्रदेश नं. २ को ३ वटा तथा प्रदेश नं. ३, ५ र ७ को २र२ वटा स्थानीय तह परेका छन् ।

स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड
सन् १९८७ मा नेपाल प्रवेश गरेको यस बहुराष्ट्रिय बैंकले हालसम्म नेपालमा १४ वटा शाखा सञ्चालनमा ल्याएको छ । जसमध्ये, सबैजसो शाखाहरु सहरी भेगमा मात्रै छन् । चार वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् भने अन्य शाखा पोखरा, विराटनगर, विरगञ्ज, नेपालगञ्ज, चितवन, बुटवल र धरान जस्ता ठूला सहरहरुमा मात्रै रहेका छन् । बैंकिङ पहुँच नपुगेका स्थानीय तहहरुमा शाखा खोल्न पनि यो बैंकले आनाकानी गरिरहेको छ ।  

(सम्बन्धित बैंकद्धारा आआफ्नो वेभसाइटमा उपलब्ध गराइएको विवरणको आधारमा तयार पारिएको)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]