May 6th, 2016

सकियो जोखिम व्यवस्थापन सम्मेलन : जोखिम घटाउन कसको कस्तो उपाय ?

spotlight-israel1नेसनल बैंकिङ इन्ष्टिच्यूट (एनबीआई)ले स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा संचालन गरेको ‘राष्ट्रिय जोखिम व्यवस्थापन सम्मेलन २०१६’ सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न बैंक तथा वित्तीय संस्थाका व्यवस्थापक, जोखिम विभागका प्रमुख, सञ्चयकोष, नागरिक लगानी कोष, एनसेललगायत १ सय भन्दा बढी सहभागीता जनाएका थिए ।

सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिबी नेपालले गरेका थिए । उद्घाटन गर्दै  गभर्नर डा. नेपालले बैंकको दैनिक कार्य मात्र नभई समस्या समाधानको लागि सुरक्षाको दोस्रो तह जोखिम व्यवस्थापन भएको बताए । यसैलाई मध्यनजर गर्दै राष्ट्रबैंकले विभिन्न समयमा जोखिम व्यवस्थापन निर्देशिका, आईक्याप निर्देशिका, सूूचना प्रविधि सम्बन्धी निर्देशिका जारी गरेको जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापन कार्य एउटा छुट्टै कार्यको रुपमा विकसित भएको, आन्तरिक लेखा परीक्षण स्वतन्त्र रहेको, क्रेडिट अप्रेजल तथा क्रेडिट जोखिम विश्लेषण उच्च तहको रहेको उनले बताए ।
सम्मेलनमा बोल्दै नेसनल बैंकिङ इन्ष्टिच्यूटका अध्यक्ष शोभन देव पन्तले जोखिम व्यवस्थापन एक जनाले गर्ने नभई सबैजना मिलेर मात्रै सम्भव हुने र जोखिम व्यवस्थापनका लागि ‘बटम टु टप अप्रोच’ नभई ‘टप टु बटम अप्रोच’ लिनु पर्ने कुरामा जोड दिए । व्यवसाय विस्तारका लागि विकेन्द्रिकृत प्रणाली लागु गर्न सकिने तर जोखिम व्यवस्थापनका लागि केन्द्रिकृत प्रणाली लागु गरेर मात्र गर्न सकिने व्यहोरा उल्लेख गर्दै नेपाली बैंकिङ उद्योगमा बढ्दै गइरहेको जोखिम न्यूनिकरण गर्नका लागि एनबीआईले जोखिम व्यवस्थापन सम्मेलन आयोजना गरिएको बताए ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतमा सञ्चालन जोखिम प्रमुखका रुपमा काम गरिरहेको उदय भाष्कर भेमुरी तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्म ढुङ्गानाले क्रमशः क्रेडिट जोखिम, सञ्चालन जोखिम र बजार जोखिम विषयहरुमा छुट्टा छुट्टै प्रस्तुतिकरण दिएका थिए ।

सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शसिन जोशी र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागरको नेतृत्व र सहजीकरणमा स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख जोखिम अधिकृत गोपी भण्डारी, एभरेष्ट बैंकका नायव महाप्रवन्धक राजेश गौतम, एनआईसी एशिया बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र तत्कालीन कमर्ज एन्ड ट्रष्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई सम्मिलित छुट्टा छुट्टै प्यानल डिस्कसन चलेको थियो । सम्मेलनमा विभिन्न देशका बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिसमेत गरेर सयौँ व्यक्तिहरुले सहभागीता जनाएका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]