December 8th, 2017

अमेरीकामा बीटक्वाईनको खूल्ला कारोबार सुरु, सरकारले दियो कानूनी मान्यता

सुष्मा थापा/बैंकिङ खबर । अमेरिकाले विश्वकै महँगो भर्चुअल मुद्रा बिटक्वाइनको कारोबारलाई कानुनी मान्यता दिएको छ । यसै महिनाको अन्त्यतिरबाट अमेरिकाका दुई एक्सचेञ्जहरु सीएमई ग्रुप र सीबीओई ग्लोबल मार्केट एक्सचेञ्जले विटक्वाइनको कारोबार सुरु गर्ने भएका छन् । यससँगै अब लगानीकर्ताले बिटक्वाइनमा हुने फ्युचर कन्ट्रयाक्टको खरिदविक्री गर्न पाउनेछन् । 

के हो बिटक्वाइन ?
बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । भारु, नेरु जस्ता भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । तर, बिटक्वाइन विश्वको जोकोही सर्वसाधारणले बनाउन सक्दछन् । यद्यपि, मनखुसी जति पनि सिर्जना गर्न भने सकिँदैन । यसमा नियम लागू हुन्छ । 

यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन जस्तै किन्न सकिन्छ । नेपालमा नेरु र भारुले मात्र सरसामान किन्न पाइन्छ । तर बिटक्वाइन भने विश्वका अधिकांश मुलुकमा चल्दछ । बिटक्वाइन मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्दछ । आइक्लाउड (इन्टरनेट) बाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्नुपर्छ ।

आफ्नो देशको चलनचल्तीको मुद्राले बिटक्वाइन किन्न पाइन्छ । मनी एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाइन्छ । बिट क्वाइन एटीएम मेसिनहरू पनि राखिएका हुन्छन् । त्यहाँ अन्य मुद्रा छिराएर त्यसबराबरको बिटक्वाइन आफ्नो वालेटमा प्राप्त गर्न र आफूसँग भएको बिटक्वाइन अनलाइनबाट तिरेर अन्य मुद्रा झिक्न पनि सकिन्छ । अनलाइनबाट सामान किनेजस्तै विश्वभरबाट बिटक्वाइन किन्न पाइन्छ ।

नेपालमा अवैध
नेपालमा भने विटक्वाइनको कारोबार अवैध मानिन्छ । नेपाल सरकारले नेपालभित्र नेपाली मुद्रा कारोबार मात्र वैध मानेको छ । नेपाली मुद्राबाहेक अन्य मुद्रा विदेशमा कमाएर ल्याउन पाइन्छ, तर नेपालमा त्यसलाई बैंक वा मनी चेन्जरमार्फत नेपाली मुद्रामा साटेर मात्र कारोबार गर्न पाइन्छ । विदेश जाँदा विदेशी मुद्रा चाहियो भने प्रयोजन खोलेर बैंकबाट किन्नुपर्छ । बिटक्वाइन भने यसैगरी पनि खरिद–बिक्री गर्न पाइँदैन ।

विटक्वाइनको कारोबार गर्नेलाई कारबाही
नेपालमा अवैध मानिएपनि विभिन्न समयमा विटक्वाइनको कारोबार भइरहेको पाइएको छ । अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । त्यस्तै, बिटक्वाइनमार्फत पैसाको अवैध स्थानान्तरण (हुन्डी) पनि हुने गरेको फेला परेको छ । केही समयअघि, ईसेवालाई पनि विटक्वाइनको कारोबार गरेको आरोप लागेको थियो । दोलखाको किर्नेटारमा र विटक्वाइन बनाउने गरिएको नै पत्ता लगाइएको थियो । विटक्वाइन कारोवारी प्रशान्त प्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको पत्ता लागेको थियो । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग ४० अर्ब रुपैयाँ बराबरको विटक्वाइन रहेको छ । कालोधनलाई बिटक्वाइनमा लगानी गर्ने, सम्पत्ति विदेश लैजान विटक्वाइनको प्रयोग गर्ने लगायतका कर्यहरु नेपालमा भइरहेको छ । यसबारे अनुसम्धान पनि भइरहेको छ ।

विकसित देशमा लगाइँदैन रोक
जापान सरकारले बिटक्वाइनलाई भुक्तानीको साधनका रूपमा मान्यता दिएको छ । विश्वमा अरू कुनै देशका सरकारले भुक्तानी साधनका रूपमा मान्यता दिएका छैनन् । तर, विकसित देशमा बिटक्वाइन खरिद–बिक्री गर्ने उद्देश्यले खुलेका एक्सचेन्जलाई सरकारहरूले कुनै प्रतिबन्ध लगाएका छैनन् । एक्सचेन्जसँग आयकर र कारोबारीहरूसँग पुँजीगत लाभ कर लिएका छन् ।

चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध
चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ । वित्तिय जोखिम बढेको भन्दै चीन सरकारले केही समयअघि मात्रै क्रिप्टोकरेन्सीको एक्सचेन्ज गर्ने चिनियाँ कम्पनी केस ट्रेडिङलगायत सम्पूर्ण एक्सचेञ्जहरु तुरुन्तै बन्द गर्न निर्देशन दिएको थियो । कुनैपनि क्रिप्टोकरेन्सीहरु कारोवार गर्न अब चिनमा अवैध रहेको र यसको कारोवार गरेमा कारबाही हुने बताइएको छ । सूचना जारी भएपछि चीनको सवैभन्दा ठूलो साङ्घाईको विटिसी चाइनाले कारोवार बन्द गरेको छ । त्यस्तै अर्का ठूला विटक्वाइन कारोवार गर्ने कम्पनीहरु भायबिटिसी, योबबिटिसी र युनबीले पनि कारोवार बन्द गराएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]