Sunday , December 17 2017

लघुवित्तलाई कसरी अगाडि बढाउँने ? (प्रकाशराज शर्माको सटिक विश्लेषण)

December 5, 2017

प्रकाशराज शर्मा – लघुवित्तलाई श्रोतको आवश्यकता छ, त्यो श्रोत नभए अगाडी बढ्न गाह्रो हुन्छ । जस्तो एउटा फ्याक्ट्रीलाई वस्तु उत्पादन गर्न एउटा कच्चा पदार्थको आवश्यकता पर्छ, त्यस्तै लघुवित्तको कच्चा पदार्थ भनेको पूँजी हो । लघुवित्तको पूँजी भनेको अहिले सेयर होल्डरको रकम, ग्राहकहरुले बचत गरेको रुपैयाँ, रिर्जर्भ र सापटी हो । अहिलेको राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कर्जा सापटको पाँच प्रतिशतसम्म लघुवित्त संस्था वा प्रत्यक्ष रुपमा विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्ने हुन्छ । त्यहि नै लघुवित्त संस्थाको सापटीको श्रोत हो । अहिले बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा ५ प्रतिशत लगानी गर्नुपर्नेमा ५ प्रतिशतभन्दा बढी लगानी भइरहेको अवस्था छ । त्यसैले वढ्दो कारोवारलाई श्रोतको अभाव देखिन्छ । यो भनेको कारोवारमा संकुचन आउन सक्ने अवस्था हो, जस्ले गर्दा वित्तीय पहुंचमा असर पर्न सक्ने देखिन्छ । अतः लघुवित्त बैंकहरुले वित्तीय श्रोत परिचालन गर्ने सम्वन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । बंगलादेशमा ग्रामीण बैंक जस्तो पव्लिक डिपोजिट खुल्ला गर्ने एउटा विकल्प हुन सक्छ । यसको लागि निश्चित शर्तहरु तोकि निश्चित सिमासम्म मात्र पनि पव्लिक डिपोजिट दिन सकिन्छ । कि त पव्लिक डिपोजिट दिनुपर्छ कि कतैबाट निश्चित श्रोत जुटाउनुपर्छ । त्यो वाहेक विकल्प छैन ।

राष्ट्र बैंकको प्रवद्र्धनात्मक नीतिले गर्दा नै नेपालमा लघुवित्तको विकास र विस्तार हुन सकेको कुरामा कुनै शंका छैन । नेपाल राष्ट्र बैंकले यो क्षेत्रलाई सधै संरक्षण दिई रहनुपर्छ भन्ने पनि होइन । तर नेपाल राष्ट्र बैंकको अभिभावकत्व अहिले पनि त्यतिकै आवश्यक छ ।

लघुवित्तको व्याजदर सम्वन्धमा पनि प्रष्ट नीति हुनु आवश्यक छ । अहिले लघुवित्त बैंकहरुले ७ प्रतिशत स्प्रेड रेटमा ४ प्रतिशतसम्म प्रशासनिक खर्च जोडेर व्याजदर कायम गर्न सक्ने एकातिर व्यवस्था छ भने अर्कोतिर जे भएतापनि व्याजदर १८ प्रतिशत भन्दा वढी हुन नहुने व्यवस्था छ । वाणिज्य बैंकहरुले लघुवित्त बैंकहरुलाई ४, ५ प्रतिशत व्याजदर लगाईरहेको बेलामा लगाईएको १८ प्रतिशतको व्याजदर क्याप अहिले विपन्न वर्ग कर्जाको व्याजदर १२, १३ प्रतिशत पुगेको अवस्थामा कसरी सान्दर्भिक रहन सक्छ ? अतः क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जस्तै घ वर्गका लघुवित्त बैंकहरुलाई पनि एउटै मापदण्डको आधारमा व्याजदर निर्देशित गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ ।

अब लघुवित्त बैंकहरु डिजिटल फाइनान्सिङ÷फिनटेकमा जानै पर्छ । हाम्रा ग्राहकहरुले पनि हामीलाई एटिएम कार्ड चाहिन्छ भन्ने बेला आइसक्यो । यसका लागि लघुवित्त तयार हुनुपर्छ । सञ्चालन खर्च घटाउन पनि यसको आवश्यकता छ ।

पहिले हामीले आत्मनिर्भर हुनुपर्छ भन्यौँ, स्वसक्षमता÷वित्तीय सक्षमतामा जोड दियौं, वकालत गर्यौँ । त्यसमा हामी सफल पनि भयौँ । यस्ले गर्दा कार्यक्रम विस्तार हुन सक्यो, निजी पुँजी यो क्षेत्रमा आकर्षित भयो । अबको समय भनेको उत्तरदायी वित्तीय सेवा प्रदान गर्ने समय हो । यस्को लागि स्मार्ट क्याम्पेनले प्रतिपादन गरेको ग्राहक संरक्षण सिद्धान्त पूर्ण पालना गरि लघुवित्त सेवा सञ्चालन गर्नुपर्दछ ।

लघुवित्त सुरुमा जिविकोपार्जन व्यवसायलाई लक्षित गरि सुरु भएको हो । तर अब हामीले लघुउद्यम व्यवसाय वढाउन लघुवित्त सेवा प्रयोग गर्नुपर्छ । कुल ग्राहस्थ उत्पादनमा यसको योगदान हुनुपर्छ । यसको लागि अब साना तथा मध्यम परियोजना, व्यवसायिक कृषि आदिलाई लक्षित गरि कर्जा लगानी गर्नुपर्छ । (लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शर्मासँग बैंकिङ खबर डट कमले गरेको कुराकानीमा आधारित)


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *