December 4th, 2017

कसरी भयो बीमाको ‘उत्पत्ति र विकास’ ?

बैंकिङ खबर । जोखिमको भारबाट बच्ने उपायको खोजीबाट बीमाको जन्म भएको हो । लोकजीवन र प्राचीन समाजमा मानिसले एकअर्कालाई सहयोग गर्ने र सामाजिक सम्बन्धको आधारमा सहयोगी हुने प्रक्रियाको सुरुवात गर्यो । यसको उदाहरणको रुपमा गुठीलाई लिन सकिन्छ । अरु परिवार वा समुदायका सदस्यलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने मानवीय प्रवृत्तिबाट नै बीमाले पनि हाधार प्राप्त गरेको पाइन्छ ।

हम्मुरवी कानुन
इ.पू. ३००० वर्षअघि अहिलेको इराकमा पर्ने बेबोलोनिया र सुमर राज्यका व्यापारीहरुले जहाजम हुने चोरी, डकैती तथा अन्य क्षतिबाट बच्नका लागि सामुहिक रुपमा कोषको निर्माण गर्दथे र त्यही कोषबाट जोखिमको क्षतिपूर्ति गर्दथे । इ.पू १८औँ शताब्दीमा बेबोलनेनियाका राजा हम्मुरवीले त कानुन नै बनाएर व्यापारिक क्षतिको क्षतिपूर्ति गर्ने व्यवस्था गरेका थिए । यस कानुनलाई हम्मुरवी कानुन भनिन्छ । यसमा सामुन्द्रिक मार्गमा हुने चोरी तथा डकैतीबाट हुने नोक्सानीको क्षतिपूर्तिका व्यवहारिक पक्षहरु उल्लेख गरिएका थिए । समुन्द्री मार्गबाट व्यापार गर्ने व्यापारीको सामान चोरी भएमा चोरी भएको सामान बराबरको पैसा उपलब्ध गराउने र ऋण भएमा ऋण मुक्त गराउने व्यवस्था उक्त कानुनमा गरिएको थियो । 

अन्य मुलुकहरुमा बीमाको विकास
इ.पू. ६०० वर्षअघि यस्तै व्यवस्था भारत वर्षमा पनि थियो भन्ने कुरा वैदिक ग्रन्थहरुमा उल्लेख छ भने ग्रीसमा इ.पू. ४०० वर्षअघि यस्तो व्यवस्था रहेको थियो । रोमेली समाजमा चाहिँ यस व्यवस्थालाई कानुनी आधार मानी राज्यले नै यस्तो बचत कोषको व्यवस्था गरी क्षतिपूर्ति दिने कुरा उल्लेख गरिएको थियो । रोममा मानिसको मृत्यु हुँदा समुदायका सदस्यबाट दाह संस्कार तथा क्रियाखर्च दिन पैसा संकलन गर्ने परम्परा थियो । त्यस्तै, फोनेसिया (वर्तमान लेवनान)मा व्यापारीहरुले इ.पू. ११२औँ शताब्दीमा बीमाको प्रचलन प्रारम्भ गरेको पाइन्छ । यहाँ पानी जहाज धितो राखी ऋण दिने प्रचलन पनि थियो भने जहाजमा रहेको मालसामान धितो राखेर पनि ऋण दिने प्रचलन रहेको थियो । यी व्यवस्थाहरुमा व्यापारीलाई समुन्द्री यात्राका लागि ऋण उपलब्ध गराइन्थ्यो । यसमा व्यापारीले व्यापारिक यात्रा सफल भएमा प्रत्येक यात्राका ऋण व्याजसहित तिर्दथे भने यात्रा सफल नभएम यस्तो ऋण मिनाहा गरिन्थ्यो । यसरी लिने व्याजको दर सामान्य दरभन्दा केही बढी हुन्थ्यो । यात्रा सफल नभएमा मिनाहा दिनुपर्ने अवस्थाको लागि थप शूल्कका रुपमा बढी व्याजदर लिइएको हुन्थ्यो । 

बीमाको यस्तो प्रचलन एसियाको अन्य भागमा चौथो शताब्दीमा पनि प्रयोगमा ल्याइएको पाइन्छ । पाश्चात्य सभ्यताको मध्ययुग पाचौँदेखि १५औँ शताब्दीसम्मको समय हो । यस समयमा बेलायत र इटालीमा कारखानामा काम गर्ने मजदुर विरामी भएमा वा मरेमा परिवारका सदस्यलाई विशेष आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]