December 3rd, 2017

‘आर्थिक समृद्धि नै मेरो मूख्य एजेण्डा हो’ : डिबी लिम्बु

पर्यटन व्यवसायी दल बहादुर लिम्बु यही मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको प्रतिनिधिसभामा ललितपूरको क्षेत्र नम्बर ३ बाट नयाँ शक्ति पार्टीको तर्फबाट उठेका छन् । धरानमा जन्मिएर त्यहीँ हुर्किएका डिबी लिम्बुले १४ वर्ष ब्रिटिस आर्मीमा रहेर काम गरेका छन् । ब्रिटिस आर्मीमा रिटायर भएपछि हङकङको ट्राभल एजेन्सीमा चार वर्ष काम गरेको अनुभव लिएर लिम्बुले नेपालमा १९९८ मा ललितपूरको कुमारीपार्टीमा ट्राभल एजेन्सी खोलेका थिए । झन्डै दुई दशकदेखि निरन्तर रुपमा उक्त ट्राभल एजेन्सीमार्फत पर्यटन व्यवसायमा लागिपरेका लिम्बुको राजनीतिक यात्रा भने नयाँ शक्ति नेपालको स्थापनासँगै सुरु भयो । समाज सेवाका साथमा व्यवसायलाई समेत अघि बढाइरहेका लिम्बुले अब राजनीतिक यात्रालाई कसरी अघि बढाउँदैछन् त ? प्रस्तुत छ, उनै लिम्बुसँग उनको राजनीतिक यात्रा र मुलुकको आर्थिक समृद्धिका लागि उनले बोकेका एजेण्डाहरुको विषयमा बैंकिङ खबर डट कमका लागि सहकर्मी कविता धितालले गरेको कुराकानीको सम्पादित अंश :

आफ्नो व्यवसायीकदेखि लिएर राजनीतिक यात्रासम्मको बारेमा बताइदिनुहोस् न ।
ब्रिटिस आर्मीमा १४ वर्ष काम गरेर रिटायर भएपछि मैले हङकङमा एउटा ब्रिटिसको ट्राभल एजेन्सीमा काम गरेँ । त्यहाँ चार वर्ष काम गरेपछि, अब आफूले सिकेको सीपले नेपालमै केही गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि म नेपाल फर्किएँ र ललितपूरको कुमारीपार्टीमा ट्राभल एजेन्सी खोलेँ । यसरी मेरो व्यवसायीक यात्राको थालनी भयो । अहिले म ट्राभल एजेन्सीहरुको छाता संगठन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभलको निवर्तमान अध्यक्ष छु । ग्राण्ड एकेडेमी संस्थामा पनि मैले तीन वर्ष प्रबन्ध निर्देशक र तीन वर्ष अध्यक्षको रुपमा काम गरेँ । अहिले म मानभवन टुर विकास संस्थामा अध्यक्ष छु । यसरी, धेरै वर्षदेखि मैले समाज सेवा र व्यवसायलाई सँगसँगै अघि लगिराखेको छ । दुई वर्षअघि नयाँ शक्ति पार्टीको जन्म भएदेखि मैले राजनीतिलाई पनि सँगसँगै अगाडी बढाइरहेको छु ।

तपाईँ एउटा व्यवसायी हुनुहुन्छ । राजनीतिमा आउनुको मूख्य उद्देश्य चाहिँ के हो ?
विगतका वर्षहरुमा म पनि मतदाता थिएँ । मैले पनि थुप्रै पार्टीका उम्मेदवारहरुलाई भोट हालेको छु । यद्यपि, हालसम्म मुलुकको आर्थिक समृद्धि हुन सकेको देखिएन । यहाँसम्म कि जनताको अधिकार समेत सुनिश्चित नभएको देखिएको छ । मैले सोचेँ, आखिर किन यस्तो भइरहेको छ ? नेताहरुले किन काम गरिरहेका छैनन् ? उनीहरुले आफ्नो निजी स्वार्थभन्दा बाहिर रहेर मुलुक र जनताका लागि काम गरेका थिए भने म राजनीतिमा आउँदैन थिएँ । म आफ्नै व्यवसायमा सन्तुष्ट थिएँ । यद्यपि, मुलुक र जनताको हितमा काम नभएको देखेपछि मैले अब मुलुकको मुल राजनीतिमा छिरेर पहिले बुझ्ने र मुलुकको आर्थिक विकासका लागि उल्लखनीय भूमिका निभाउने उद्देश्य लिएर नयाँ शक्ति पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरेँ ।

नेपालको विकास किन हुन सकेन ? 
नेपालको विकास हुन नसक्नुको मूल कारण भनेको राजनीतिक दलहरु नै हुन् । मुलुकको हितमा काम गर्छु भनेर राजनीतिमा लागेका नेताहरुले नै उच्च ओहदामा पुगेपछि निजी स्वार्थ र पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुक र जनताको लागि केही काम गर्न सकेका छैनन् । जसको नतिजास्वरुप, मुलुकमा कहिल्यै शान्ति कायम हुन सकेको छैन ।

अबका दिनमा मुलुकलाई समृद्ध बनाउनका लागि यहाँका योजनाहरु केके छन् ?
मेरो व्यक्तिगत योजनाले मात्रै भन्दा पनि सबै पार्टी र ती पार्टीका नेताहरुले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकको लागि केही गर्छु भनेर संकल्प लिन सके मात्रै मुलुकको आर्थिक समृद्धि सम्भव छ । अहिलेको पटक पटकको अराजकता र राजनीतिक अस्थिरताले मुलुकलाई अघि बढ्न दिएको छैन । त्यसैले, अब जनताले चुनेको प्रत्यक्ष राष्ट्रपतिको अवधारणालाई अगाडी बढाएर कम्तीमा पनि पाँच वर्षसम्म एउटा राम्रो व्यक्तिले शासन गरी विज्ञ र सक्षम व्यक्तिहरुको मन्त्री मण्डल बनाएर अघि बढ्नुपर्छ । यदि, यसो भयो भने ९।९ महिनामा सरकार परिवर्तन गरी मन्त्री बन्ने परिपार्टीको अन्त्य भई मुलुकमा राजनीतिक स्थिरताले स्थान पाउँछ । त्यसैले, यस्तो प्रणाली ल्याउनका लागि सबै जनता पनि खटिनुपर्ने देखिएको छ ।

चुनावका लागि यहाँका एजेण्डाहरु केके छन् ?
म ललितपूर जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उठ्दैछु । यदि, मतदाताहरुले मलाई जिताएको खण्डमा, सरकारद्धारा आफूले पाएको तलबभत्ता यसै क्षेत्रको लागि खर्चिनेछु । त्यस्तै, स्वच्छ खानेपानी, सरसफाई, फोहोरमैलाको व्यवस्थापन लगायतलाई बढी जोड दिनेछु ।

एक व्यवसायी भएको नाताले राजनीतिक स्तरबाट केकस्ता मुद्धा उठाइनुपर्ला जस्तो लाग्छ ?
व्यवसायी सबैलाई करको दायरामा ल्याउन सकिएन भने मुलुकको ढुकुटीमा पैसा आउँदैन र मुलुकको समृद्धिको परिकल्पना गर्न सकिँदैन । त्यसैले, व्यवसायीहरुले पाउनुपर्ने सेवा सुविधाहरु र अधिकारहरु सुनिश्चित गर्नुपर्छ । यसमा शान्ति र सुरक्षा एकदमै आवश्यक छ । साथमा, सबैलाई करको दायरामा पनि ल्याउनुपर्छ । अहिले कतिपयले घरधुरी कर नतिरिरहेको अवस्था छ । यस्तो विषयलाई ध्यानमा राखिनुपर्छ । 

अन्त्यमा, विशेषतः मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
यहाँहरुले जो उम्मेदवारलाई मत दिएपनि मेरो लागि स्वीकार्य हुनेछ । यद्यपि, मत खसाल्नुअघि, सबै उम्मेदवारहरुको पृष्ठभूमि, राम्रा नराम्रा कामहरु लगायतको विश्लेषण गरी भविष्यमा कुन उम्मेदवारले राम्रो काम गर्छ र कसलाई विश्वास गर्न सकिन्छ भन्ने कुरा सोच्नुहोस् । सुरुमा, केही नसोची पुरानै राजनीतिक दलहरुलाई भोट हाल्ने र पछि केही गरेन भनेर गाली गर्ने प्रवृत्ति त्याग्नु जरुरी छ । राम्रो उम्मेदवार नचिनिकन भोट हाल्नुभयो भने तपाईँले नै भ्रष्टाचार गर्ने लाइसेन्स दिनुभएको ठहरिन्छ । नयाँ शक्ति नेपाल नयाँ भिजन लिएर नेपालको राजनीतिमा आएको छ । यसै पार्टीको एउटा पात्र हुँ म । मुलुकका लागि केही गर्छु भन्ने अठोट लिएको छु । अन्य राजनीतिक पार्टीहरुले नै काम गरेर देखाएको भए म राजनीतिमा आउने थिइँन । त्यसैले, मलाई पनि एक पटक काम गर्ने अवसर दिनुहोस् भन्न चाहान्छु । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]