Sunday , December 17 2017

‘अन्तर्राष्ट्रिय क्वालीटी’मा नेपाली बैंकिङ, प्रयोगमै आए १५ प्रविधि

November 30, 2017

बैंकिङ खबर । अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउँदै लगेका छन् । पुरातन अवस्थामा ढड्डे र तमसुके बैंकको अवस्थाबाट आज बैंकहरू पनि डिजिटलाइज भइसकेका छन् । खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको बैंकरहरु बताउँछन् । प्रविधिले यति सम्म गरेको छ कि स्वचालित ट्रेलर मेसिनबाटै विभिन्न बैंकका शाखाहरु एक आपसमा जोडिँदै छन् । पछिल्लो केही समय यता नै थुप्रै अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरु नेपालको बैंकिङ क्षेत्रमा भित्रिएको छ । प्रविधिका कारणले बैंकिङ कारोबारमा निकै सहजता आएको छ । बैंक खाता खोल्नदेखि लिएर सेयर कारोबारसम्म घरमै बसेर गर्न सकिने सुविधा बैंकिङ प्रविधिहरुले उपलब्ध गराएका छन् । चालू आर्थिक वर्षभित्रमात्रै पाँच नयाँ प्रविधि नेपालको बैंकिङ क्षेत्रमा आइसकेको छ । 

आस्वा प्रणाली 
चालू आर्थिक वर्षदेखि प्राथमिक सेयर निष्काशनका अनिवार्य गरिएको आस्वा प्रणालीका कारण सेयरमा आवेदन दिनत सहज भएको छ । धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल दिने छन् । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ । 

सेयर बाँडफाँड सम्पन्न भएपछि बाँडफाँड भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ठ वा व्यक्तिगत रुपमा गराइने छ । सेयर बाँडफाँडको जानकारी पत्रिकामार्फत नभई वेबसाईट मार्फत आउनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने छन् । यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको सेयरबापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिनेछन् । आफ्नो खातामा जम्मा भएको दुई कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले सेयर जारी गर्ने कम्पनीको खातामा सो रकम जम्मा गरिदिनेछ । 

सेयर जारी गर्ने कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले बाँडफाँड भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । सेयर बाँडफाँड भएको भोलिपल्ट निष्काशन तथा बिक्री प्रबन्धकले आवेदकले आवेदन दिएको बैंक तथा वित्तीय संस्थालाई जानकारी दिने छ । यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेको सेयरवापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरेपछि बाँकी रकम फुकुवा हुनेछ । 

अनलाईन आस्वा प्रणाली 
आस्वा प्रणाली अनिवार्य भएलगत्तै बैंकहरुलाई अनलाइनबाटै आस्वा सेवा दिन सुरु गरे । अहिले अधिकांश बैंकहरुको वेभसाइटमा गएर सिधै आस्वा प्रणालीमार्फत सेयरमा आवेदन दिन सकिन्छ । अनलाईन आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा तपाईले धितोपत्र बोर्डबाट निक्षेप सदस्य लिएका कुनैपनि निक्षेप सदस्यकहाँ सेयर अभौतिक रुपमा जम्मा गर्ने खाता (डिम्याट एकाउन्ट) खोलेको हुनुपर्छ भने आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंक हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।

भाइबर बैंकिङ
ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक भाईबर मार्फत बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकले मोबाइल नम्बर बैंकको ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् । यो सेवा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले समेत उपयोग गर्न सक्ने बैंकले जनाएको छ । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।

मल्टि करेन्सी कार्ड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक्सिस बैंक अफ इन्डियासँगको सहकार्यमा नेपालमा नै पहिलो पटक मल्टि करेन्सी कार्डको सुरुवात गरेको छ । मल्टि करेन्सि कार्डमार्फत विश्वका १६ मुलुकमा जाँदा त्यहाँका मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्ने छन् । यसबाट नगद विदेशी मुद्रा सटहीमा समस्या झेलिरहेका ग्राहकहरुलाई राहत मिल्ने र अमेरिकी डलर गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा चोरी जस्ता जोखिमलाई समेत न्युनिकरण गर्ने विश्वास लिइएको छ । यो सेवा सुचारु भएसँगै अब नेपाल र भारतमा रेमिट्यान्स सेवा सरल र प्रभावकारी हुने र विभिन्न १६ राष्ट्रमा नोटको समस्या नहुने भएको छ । मल्टि करेन्सी कार्डको प्रयोग गरी डलर कार्ड बोक्नुपर्ने बाध्यता र बिदेशी मुद«ा विनिमयमा मुलुकलाई भइरहेको घाटा न्युनिकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

अनलाइन बैंक खाता 
गत साता मात्रै तीन वटा बैंकले अनलाइन बैंक खाता संचालनमा ल्याएका छन् । सुरुमा एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम “एनआईसी एशिया अनलाइन बचत खाता” संचालनमा ल्याएको थियो । त्यसपछि क्रमशः सनराइज बैंक लिमिटेड र ग्लोबल आईएमई बैंकले पनि यो सुविधा प्रदान गरेका छन् । देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले बैंकहरुले उक्त बचत खाता संचालनमा ल्याएका हुन् । अनलाइन बचत खाताअन्तर्गत ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न सक्ने तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने सुविधा रहेको छ । अनलाइनबाट बैंक खाता खोल्ने सुविधा चौबिसै घण्टा उपलब्ध हुनेछ । 

यसबाहेक पनि नेपालमा अन्य केही बैंकिङ प्रविधिहरुको प्रयोग भइरहेको छ । 

टेलि बैंकिङ सेवा 
हिमालयन बैंक सुरुवात भएको वर्ष ताकै उस्ले टेलि बैंकिङ सेवाको सुरुवात गरेको थियो । फोनबाटै गरिने बैंकिङ कारोबार टेलि अर्थात टेलिफोन बैंकिङ हो । यसअन्तर्गत ग्राहकले फोन गरेर भनेको आधारमा खाताबाट रकम ट्रान्सफर गर्ने, निकाल्ने तथा राख्ने कामहरु गर्न सकिन्छ । यसले सानोतिनो कारोबारका लागि पनि बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ ।

एटिएम मेसिन 
नेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । वि.सं. २०४७ सालमा हिमालयन बैंकले नेपालमा एटीएम भित्र्याएको थियो । तर, छोटै अवधिमा पनि एटीएमले कमाएको लोकप्रियता भने चर्चायोग्य छ । गत आर्थिक वर्षमा मात्रै नेपालमा ३५ हजार एटीएम प्रयोगकर्ता थपिएको तथ्यांक छ । गत आर्थिक वर्षको अन्त्यसम्मको तथ्यांक हेर्दा नेपालमा १८ सय ५९ वटा एटीएम काउन्टर छन् ।

क्रेडिट कार्ड 
तत्कालिन नेपाल अरव बैंक अर्थात हालको नविल बैंकले पहिलो पटक क्रेडिट कार्ड भित्र्याएको हो । कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । त्यसैले यसलाई ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ ’ भन्ने चलन छ । क्रेडिक कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम निब्र्याजी प्रयोग गर्न पाउँछन् । तर, त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । 

डेबिट कार्ड 
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन)बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । यसको नामबाट पनि यो विषय स्पष्ट हुन्छ । बैंकमा रकम छैन भने यसबाट नगद झिक्न वा भुक्तानी दिने दुवै कार्य गर्न सकिन्न । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । 

इन्टरनेट बैंकिङ 
टेलि बैंकिङ सेवाको सुरु भएको सात वर्षपछि इन्टरनेट बैंकिङ सुरु भएको थियो । इन्टरनेट बैंकिङ भित्राउने कुमारी बैंक पहिलो बन्न पुग्यो । इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्ट्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस (जस्तै मोबाइलको बिल तिर्ने) जस्ता कार्यहरु इन्टरनेट बैकिङबाट प्राप्त हुने केही सुविधाहरु हुन् ।

मोबाइल/ ट्यावलेट बैंकिङ 
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तीय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् ।

एसएमएस बैंकिङ 
०६१ सालबाट एसएमएस बैंकिङ सुरुवात भयो । यस्को सुरुवात लक्ष्मी बैंकले गर्यो । यो मोबाइल अर्थात ट्याबलेट बैंकिङकै एउटा रुप हो । यो सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई एसएमएसमार्फत उनीहरुको खाताको बारेमा जानकारी दिने गर्दछन् । एसएमएस बैंकिङबाट पैसाको कारोबार (लेनदेन) पनि गर्न सकिन्छ ।

ब्रान्चलेस बैंकिङ 
अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । नेपालमा ५ सय भन्दा बढी शाखारहित बैैंकहरु सञ्चालनमा आएका छन् । नेपालमा एभरेष्ट बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो । यूके एडद्धारा प्रवद्र्धित सक्षम नेपालको सहयोगमा हाल नेपाली बैंकहरुले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आइरहेका छन् ।

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली
यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । गत भदौ एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता भइसकेको छ भने क वर्गका सबै बैंकहरु आवद्ध भइसकेका छन् । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।


पस मेसिन
पस मेसिन भनेको त्यस्तो मेसिन हो, जसको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । यस्तो मेसिनहरु व्यापारिक केन्द्रहरुमा राखिएको हुन्छ । त्यहाँबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ । साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ । 


 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *