Sunday , December 17 2017

‘बैंकिङ क्षेत्रमा स्वर्णिम युग भित्रिँदैछ’

November 29, 2017

नेपालको जेठो बैंक नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गरेका कृष्णराज लामिछाने बैंकिङ क्षेत्रमा धेरै लामो अनुभव भएका बैंकर मानिन्छन् । हालै महालक्ष्मी विकास बैंकमा सीईओको कार्यभार सम्हालेका लामिछानेले सबै कोणबाट महालक्ष्मीलाई नेपालको नम्बर वान विकास बैंकको रुपमा स्थापित गराउने आफ्नो लक्ष्य रहेको प्रतिक्रिया दिएका छन् । महालक्ष्मी फाइनान्स, मालिका विकास, सिद्धार्थ फाइनान्स मिलेर बनेको महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीचको सफल मर्जरपछि चुक्तापुँजी, शाखा सञ्जाल, निक्षेप संकलन, कर्जा प्रवाह लगायतका आधारमा सबैभन्दा ठूलो विकास बैंक बनेको महालक्ष्मी विकास बैंकको नेतृत्व गर्न पाउँदा आफूलाई निकै गर्व महशूस भएको लामिछानेले बताए । अबका दिनमा महालक्ष्मीलाई अझै उत्कृष्ट बनाउनेतर्फ ध्यान दिने उनको योजना छ । यसैबीच, महालक्ष्मी विकास बैंकका नवनियुक्त सीईओ लामिछानेसँग मर्जरपछि कुनै पनि वित्तीय संस्थामा आईपर्ने समस्या तथा चुनौति, समाधान लगायतका विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

बैंकिङ क्षेत्रमा मर्जरको प्रभाव कस्तो रहन्छ ?
मर्जर तथा एक्विजिसनका कारणले बैंकको संख्या घट्दैन । मर्जरमा गएका बैंकहरुका विद्यमान शाखाहरु यथावत रहन्छन् भने कुनै स्थानमा शाखा जुधेको अवस्थामा स्थानान्तरण गरिन्छ । मर्जरमा दुई वा सोभन्दा बढी बैंकबीचको कारोबार गाभिन्छ र गाभिएपछि बन्ने बैंक थप सबल हुन्छ । मर्जर तथा एक्विजिसनपछि बन्ने बैंकको पुँजी बढ्ने भएकाले जोखिम बहन गर्न सक्ने क्षमता पनि बढ्छ । साथमा, ग्राहकहरुलाई दिने सेवामा पनि मर्जरका कारण स्तरीयता आउँछ । यस हिसाबले हेर्दा, मर्जरले बैंकको संख्या वा क्षमता घटाउनुको सट्टा अझ विस्तार गर्न सहयोग पुर्याउँछ । 

मर्जरपछि बैंकमा देखिने केही समस्या तथा चुनौतिहरु होलान् नि !
मर्जरपछि बन्ने संस्थामा समस्याभन्दा पनि व्यवस्थापनसम्बन्धी केही चुनौतीहरु देखा पर्छन् । कर्जा व्यवस्थापन, काम गर्ने शैली लगायतमा केही चुनौतिहरु आउँछन् । यी सबै कुराको सही व्यवस्थापन गर्न सकियो भने मर्जर कुनै पनि वित्तीय संस्थाको सुदृढिकरणका लागि राम्रो कदम हो ।

शाखा, सेवा तथा प्रविधि विस्तारमा विकास बैंकहरु पनि वाणिज्य बैंककै प्रतिष्पर्धामा गइरहेका छन् । अब वाणिज्य बैंक र विकास बैंकबीचको फरक मेटिँदै गएको हो ?
आजभन्दा दुई वर्ष अगाडीसम्म धेरैजसो कमर्सियल बैंकको चुक्ता पुँजी दुई अर्ब मात्रै थियो । अहिले विकास बैंकहरुकै चुक्तापुँजी दुई अर्ब ६३ करोड रुपैयाँ पुगिसकेको छ । यो हिसाबले हेर्दा, अहिले राष्ट्रिय स्तरका विकास बैंकहरु पनि चुक्तापुँजी, गभर्नेन्स, कारोबारका हिसाबले कुनै पनि कमर्सियल बैंकभन्दा कम छैनन् । अलिकति दायरा मात्रै थोरै हो । महालक्ष्मी विकास बैंककै चुक्तापुँजी दुई अर्ब ६३ करोड रुपैयाँ पुगिसकेको छ भने पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म नै शाखा विस्तार भएका छन् । आधुनिक बैंकिङ सेवामा पनि महालक्ष्मी अगाडी नै छ । 

सरकारले बैंकिङ पहुँच नपुगेका स्थानहरुमा शाखा खोल्न निर्देशन दिएपछि वाणिज्य बैंकसँगै विकास बैंकहरु पनि दुर्गममा शाखा खोल्न लागीपरेका छन् । सबै गाउँपालिका र नगरपालिकाहरुमा शखाा खुलाउने हिसाबले महालक्ष्मी विकास बैंक पनि अघि बढिरहेको छ । कारोबार र सबै क्षेत्रमा पहुँच पुर्याउने हिसाबले हेर्ने हो भने महालक्ष्मी विकास बैंकको शाखा पूर्वमेचचिदेखि पश्चिम महाकालीसम्म नै फैलिएको छ । वाणिज्य बैंकमा पनि कतिपयको शाखा अझै मुलुकभर फैलिएको छैन । त्यसैले, कारोबारका हिसाबले एकादुईभन्दा बाहेक वाणिज्य बैंक र विकास बैंकबीच फरक छैन । त्यसमाथि, अर्थ मन्त्रालयले पनि सरकारी काम गर्न ग्रामीण स्तरमा विकास बैंकहरुलाई पनि स्वीकृति दिने प्रक्रियामा छ । त्यस विषयमा अहिले छलफल चलिरहेको छ । यो प्रक्रिया पूरा भइसकेपछि विकास बैंकहरुले सरकारी कामहरु पनि गर्न थाल्नेछन् ।

सरकारको योजनाअनुरुप सबै स्थानीय तहमा बैंक शाखा पुग्न कति समय लाग्ला ?
कहिलेसम्ममा शाखा विस्तार भइसक्छन् भन्ने कुरा बैंकहरुमा भन्दा पनि सरकारले कतिसम्म सहजीकरण गर्न सक्छ भन्ने कुरामा भर पर्छ । बैंकहरुलाई दुर्गम भेगमा जान केही निश्चित पूर्वाधारहरु आवश्यक पर्छ । कुनै गाविसमा पैसा ल्याउन लैजान ४।५ दिन लाग्ने हुन सक्छ । त्यस्तो ठाउँमा सरकारले नोट कोषको व्यवस्था गर्न सक्नुपर्छ । किनकि, पैसा लैजाने क्रममा सुरक्षाको कुरा आउँछ । पैसा लुटिन सक्छ । साथमा कर्मचारीको जीउ ज्यानको सुरक्षाको कुरा पनि आउँछ । नेटवर्क, विजुली, यातायात, सुरक्षा लगायतको व्यवस्था सरकारले गर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँ जान कुनै समस्या छैन । 


फेरि कुनै गाउँपालिकामा जनसंख्या अत्यन्तै न्यून छ भने हरेक गाउँमा एक बैंक आवश्यक हो त, भन्ने कुरामा पनि विचार पुर्याउनु जरुरी छ । गाउँपालिका ठूलो हुँदा हुँदै पनि जनसंख्या नभएका कारण कारोबार नहुने हुँदा बैंकहरुलाई शाखा संचालनको लागतको भार मात्रै पर्ने हुन्छ । यस्तो ठाउँमा बैंक पुग्नु जरुरी हो कि होइन भन्ने कुरामा पनि अध्ययन हुनु जरुरी छ । जस्तै, तराईँका क्षेत्रहरुमा हरेक स्थानीय तहमा बैंक चाहिएपनि हिमाली भेगका सबै स्थानीय तहमा बैंकको आवश्यकता नहुन सक्छ । यस विषयमा पुनर्विचार गरिनु जरुरी छ । 

भर्खरै महालक्ष्मी विकास बैंकको नेतृत्व सम्हाल्नुभएको छ, कसरी अगाडी बढ्ने योजना छ ?
म महालक्ष्मी विकास बैंकमा आएको भर्खरै एक हप्ता पुगेको छ । महालक्ष्मी विकास बैंक नेपालमा सबैभन्दा धेरै चुक्तापुँजी, निक्षेप, कर्जा लगानी, शाखा संजाल र कर्मचारी भएको विकास बैंक हो । यस्तो विकास बैंकको नेतृत्व गर्न पाउँदा मलाई अत्यन्तै गर्व लागेको छ । हरेक कुरामा नम्बर वान रहेको यस संस्थालाई क्वालिटी, सम्पत्ति स्तर, कर्मचारीको दक्षता लगायतका विषयमा नम्बर वान मात्र नभएर वाणिज्य बैंककै स्तरसम्म पुर्याउने मेरो चाहना छ । एक दुई वर्षभित्रमा आफ्नो शाखा नपुगेको स्थानहरुमा १५।२० वटा शाखा विस्तार गर्ने तयारीमा छौँ । महालक्ष्मी विकास बैंकले हालसम्म साढे २५ अर्ब निक्षेप संकलन गरी सवा २० अर्ब रुपैयाँ लगानी गरेको छ । यसलाई थप विस्तार गर्ने योजना छ । त्यस्तै, हाल महालक्ष्मीको शाखा ६५ वटा रहेकामा छिटै ७० वटा पुग्दैछ । महालक्ष्मी विकास बैंकले बैतडी, दार्चुला, बझाङ, बाजुरा जस्ता अति दुर्गम क्षेत्रमा शाखा खोल्दैछ । हाल महालक्ष्मी विकास बैंकको चार लाखभन्दा बढी ग्राहक छन् । शाखा विस्तारले निक्षेप, कर्जा लगायत बैंकको समग्र व्यवसाय र ग्राहक संख्यामा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । 

अहिलेको अवस्थामा बैंकिङ नेतृत्वकर्ताको अगाडी आइपरेका समस्याहरु केके छन् ?
नेतृत्वकर्ताहरुका लागि अहिलेको मूख्य चुनौति भनेको प्रतिष्पर्धा हो । यति धेरै बैंकहरु संचालनमा छन् र सबैले पुँजी बढाएका छन् । तर, पुँजी अनुसारको व्यवसाय गर्न सकिरहेका छैनन् । त्यो सम्भव पनि हुँदैन । त्यसैले, अत्यन्तै प्रतिष्पर्धा छ । त्यो प्रतिष्पर्धाले ग्राहकलाई फाइदा भइरहेको छ । राष्ट्र बैंकले ५ प्रतिशत व्याजदर लिन भनेपनि बैंकहरुले ग्राहक तान्नको लागि कम व्याजदरमै कारोबार गर्ने गरेका छन् । त्यसैले, बैंकको व्यवस्थापनलाई कसरी अरुभन्दा चुस्त बनाउने भन्ने चुनौति रहेको छ । 

तत्कालका लागि दक्ष जनशक्ति पाउनु पनि गाह्रो छ । जुन अनुपातमा शाखा विस्तार भइरहेका छन्, त्यही अनुपातमा दक्ष कर्मचारी पाउन नसकिने अवस्था आएको छ । यसले गर्दा, शाखा संजाल विस्तारमै चुनौति थपिएको छ । 

अहिलेको समयलाई बैंकिङ क्षेत्रको विकासको मोड हो भन्न सकिन्छ ?
विगतमा नेपालमा ठूलो द्धन्द्ध भयो । उक्त द्धन्द्ध व्यवस्थापनका लागि १० वर्ष लाग्यो । चरम लोडसेडिङ थियो, बन्द हड्ताल थिए, फ्याक्ट्रीहरु बन्द थिए । अहिले त्यो अवस्था छैन । लोडसेडिङ छैन, बन्द हड्ताल छैन । संविधान बनेको छ, संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेका छौँ । स्थिर सरकार बन्ने सम्भावना छ । त्यसैले, आर्थिक कारोबारका हिसाबले अब नेपालको स्वर्णकाल आउँदैछ । अब यसमा अवरोधहरु केही देखिँदैन । अब झन् नयाँ सरकार आएर नयाँ नयाँ नियमहरु लागू भइसकेपछि नेपालको गतिविधिले धेरै फड्को मार्छ । विगत २० वर्षमा नेपालको बैंकिङ क्षेत्र यत्तिको सबल भइसकेको छ भने संविधानको पूर्ण कार्यान्वयनपछि त आर्थिक गतिविधिले फड्को मार्ने कुरामा कुनै शंकै छैन । आर्थिक गतिविधि बढ्नु भनेको वित्तीय क्षेत्रका लागि पनि अवसर बढ्नु हो । त्यसैले, अबको समयलाई बैंकिङ क्षेत्र मात्र नभएर समग्र अर्थतन्त्रका लागि नै विकासको मोड हो भन्न सकिन्छ ।

बैंकहरुको लगानी पर्यटन, जलविद्युत् लगायतमा मात्रै केन्द्रित गरिएको छ । बैंकहरुको लगानी अन्य क्षेत्रमा पनि प्रवाह गर्न सकिँदैन ?
बैंकहरु लगानीका लागि आवश्यकता र सम्भावनाका हिसाबले नयाँ क्षेत्रहरुको खोजीमा रहन्छन् । यद्यपि, यसका लागि बैंकहरुले भन्दा पनि व्यवसायीहरुले पहल गर्नुपर्छ । पहिले जलविद्युत्मा लगानी गर्ने भनेपछि बैंकहरु तर्सिन्थे । द्धन्द्धकालमा होटलमा लगानी गर्न भनेपछि बैंकहरु पछि हट्थे । आजका दिनमा होटलमा गरिएको लगानीले सबैभन्दा बढी प्रतिफल दिने गरेको छ । यो वर्ष १० लाख पर्यटक आउने भनिएको छ । पर्यटक आउँदा होटलमा बस्ने मात्र नभएर अन्य क्षेत्रमा पनि खर्च गर्छ । त्यस्तै, नेपाललाई यति धेरै विजुली चाहिएको छ, सिमेन्ट फ्याक्ट्रीहरु चाहिएको छ । एउटै विजुली फ्यक्ट्रीलाई १०।२० मेगावाट विजुली चाहिन्छ । त्यसैले, जुन सेक्टरमा लगानी गर्दिनुपर्यो भनेर उद्योगी, व्यवसायी आउँछन्, ती क्षेत्रहरुमा बैंकहरुले लगानी गरिरहेका छन् । बैंकले आफैँ कतै लगेर लगानी गर्ने चाहिँ होइन । जुन चिज सम्भाव्य छ, जुन उद्योगले बैंकबाट लिएको कर्जाबाट राम्रो प्रतिफल आर्जन गरी बैंकको कर्जा समयमा नै चुक्ता गर्छ, त्यस्तो क्षेत्रमा बैंकहरुले लगानी गर्दछन् । नयाँ नयाँ क्षेत्र बैंकहरुले पनि खोजीरहेका छन् । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन सेयर फारम, रेमिट्यान्स लगायत धेरै काम हामीले पनि गरिराखेका छौँ । यसबाहेक, यो क्षेत्र चाहिँ नेपालका लागि सम्भावित र आवश्यक छ भनेर व्यवसायीहरु आए भने बैंकहरुले लगानी गरिराखेकै छन् । 

उत्पादनशील क्षेत्रमा बैंकिङ लगानीको अवस्था कस्तो छ ?
उत्पादनशील क्षेत्रमा लगानी गर्ने विषयमा नेपाल राष्ट्र बैंक पनि अलि सजग छ । राष्ट्र बैंकले स्पष्ट रुपमा नै कुल कर्जा लगानीको यति प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ र यी क्षेत्रहरु उत्पादनमूलक हुन् भनेर तोकिदिएको छ । बैंकहरु त्योभन्दा बाहिर जान सक्ने अवस्था छैन । उत्पादनमूलक क्षेत्रमा लगानी नगरी सुखै नभएका कारण बैंकहरुले उक्त क्षेत्रहरुमा लगानी गरिरहेका छन् । बाध्यात्मक तवरले मात्र नभएर बैंकहरु आफैँले पनि उत्पादनमूलक क्षेत्रहरु जस्तै, उद्योगहरुमा लगानी गर्न लागेका छन् । मुलुकमा राजनीतिक स्थिरता आयो र विकासले गति लिन्छ अब भन्ने भयो भने बैंकहरुले आफैँ जानेर नै उत्पादनमूलक क्षेत्रमा लगानी गर्छन् । 

बैंकहरुको विकास र विस्तारपछि तुलनात्मक रुपमा बैंकहरुको नाफा घटिरहेको छ । यसका कारणहरु के हुन सक्छन् ?
दुई वर्षको बीचमा चार गुणा पुँजी बढेको अनुपातमा कारोबार नबढेको सत्य हो । यद्यपि, अबको दुई वर्षभित्र आठ अर्ब अनुसारको व्यवसाय सबै बैंकले गर्छन् । किनकि, यो समयमा आर्थिक कारोबारमा ठूलो वृद्धि आउनेछ । कतिपय बैंकले त चुक्तापुँजी आठ अर्बमा पनि थप्न थालिसकेका छन् । अहिले मुनाफा घट्नु खासै ठूलो कुरा होइन । रिटर्न हेर्नुभयो भने, पोहोर साल अधिक तरलताका कारण निक्षेपको व्याजदर कम थियो । त्यसले गर्दा बैंकमा मार्जिन बढी थियो । जसकारण नाफा बढी भयो । पछिल्लो समय निक्षेपको व्याजदर बढी, शाखा विस्तारमा खर्च लगायतका कारण पहिलो त्रैमासको नाफामा थोरै संकुचन आएको हो । आर्थिक वर्षको अन्त्यमा सबै सन्तुलनमा आइसक्छ । यद्यपि, पोहोर धेरै कमाएको कारण यसपाली पनि धेरै कमाउनुपर्छ भन्ने चाहिँ होइन । विगतमा नोक्सानमा गएका बैंक अहिले नाफामा जान्छन् भने विगतमा धेरै कमाएका बैंकहरुले अहिले थोरै कमाउँछन् । अघिल्लो आर्थिक वर्षको तुलनामा घट्यो रे भन्दामा बैंकहरुले नाफा गर्न छोडे भन्न मिल्दैन ।

नेपालमा बैंकिङ पहुँचको अवस्था कस्तो छ ? बैंकिङ पहुँचको विस्तारका लागि कस्ता कदम चाल्नु आवश्यक छ ?
विगतमा अधिकांश जनता बैंकिङ पहुँच बाहिर थिए । उनीहरु साहुमहाजनको भर पर्नुपथ्र्यो । अब सम्भवतः त्यो अवस्था रहेन । ससानो कर्जा लिन तथा आफूसँग भएको निक्षेप जम्मा गर्न पनि गाउँगाउँमा बैंक पुग्दैछन् । गाउँगाउँमा पुगेर बैंक आफैले कर्जा लिएर उद्यम गर्न जनतालाई हौसला दिन्छ । कृषि, बाख्रापालन, बंगुरपालन, गाइपालन लगायतका व्यवसाय गर्न बैंक आफैँले सिकाउँछन् । अहिले व्यापक रुपमा गाउँगाउँमा सडक विस्तार भइरहेको छ । पहिलेको जस्तो उत्पादनले बजार नपाउने अवस्था छैन । बैंक शाखा गाउँमा पुगिसकेपछि बैंक के हो र यसबाट कसरी फाइदा लिने भन्ने विषयमा सर्वसाधारण आफैँले पनि जान्न खोज्छन् । बैंकलाई पनि कारोबार गर्नुपर्ने भएकाले उसले पनि बताउँछ । त्यसैले, नेपालमा राजनीतिक स्थिरता भएसँगै आर्थिक गतिविधिले द्रुत गति लिन्छ र धेरै जनता बैंकिङ पहुँचभित्र आउँछन् ।

बैंक जनताको लागि हो र बैंकबाट कर्जा लिएर उद्यमी बन्न सकिन्छ भन्ने धारणा सर्वसाधारणमा किन विकास नभएको होला ?
साँच्चै नै धेरै जसो जताले बैंक आफ्नै लागि हो र यसबाट फाइदा लिन सकिन्छ भन्ने कुरा बुझेका छैनन् । यसको पछाडी दुई वटा करण छन् । एक त, नेपालको बैंकिङ क्षेत्रलाई सरकारी निकायले खासै वास्ता गरेको देखिँदैन । आम नागरिकलाई बैंकको विषयमा व्यापक रुपमा बुझाउनुपर्ने आवश्यकता छ । तर, राज्यले त्यो गरिरहेको छैन । स्वास्थ्य मन्त्रालयले हात धोएर खाना खाऔँ सन्देशमूलक विज्ञापन गर्छ, शिक्षा मन्त्रालयले छोरा छोरी दुवैलाई पढ्न पठाऔँ भनेर सूचना जारी गर्छ । यद्यपि, अर्थमन्त्रालयले राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट कारोबार गरौँ, खाता खोलौँ, घरमा पैसा नराखौँ भनेकै छैन । बरु, राष्ट्र बैंक र बैंकहरुले वित्तीय चेतना अभिवृद्धिका लागि कार्यक्तमहरु गरिरहेका छन् । यद्यपि, सरकारले भन्दा जति प्रभाव हुन्छ, अन्य संस्थाले भन्दा त्यति प्रभावकारी हुँदैन । सरकार त जनताको प्रतिनिधि हो, यसले हाम्रै लागि भनेको हो भन्ने मानसिकता हुन्छ । त्यसैले, सरकारले आफैँले बैंक, बैंक खाता, यसको महत्व लगायतका विषयमा जनचेतना जगाउनु आवश्यक छ । त्यस्तै, हाम्रो पाठ्यक्रमहरुमा बैंकिङसम्बन्धी गतिविधि लगायत बैंक भनेको के हो, खाता भनेको के हो ? कर्जा भनेको के हो ? जस्ता सामान्य विषवस्तुहरु पाठ्यक्रममा नै समावेश गरी विद्यार्थी लेभलदेखि नै बैंकिङ कारोबारप्रति हौसला बढाउनु आवश्यक छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *