Sunday , December 17 2017

गुहेश्वरी फाइनान्सले पनि सुरु गर्यो सि-आस्वा, अब घरमै बसेर सेयर भर्न सकिने

November 28, 2017

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले पनि अब देखि सि-आस्वा मार्फत सेयरमा आवेदन दिन सकिने सुविधा दिएको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि ले हालै मात्र सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग सि-आस्वा सेवा दिने सम्झौता गरेको  हो । 

फाइनान्सले सम्पूर्ण ग्राहकलाई सि–आस्वा सेवाका लागि कस्टुमर रिफ्रेन्स नम्बर लिन भनेको छ । सो नम्बरका लागि कुनै शुल्क नलाग्ने समेत फाइनान्सले जनाएको छ । सि-आस्वा मार्फत सेयरमा आवेदन दिँदा भने २५ रुपैयाँ शुल्क लाग्नेछ । कस्टुमर रिफ्रेन्स नम्बरको प्रयोग गरी मेरो सेयर एप्लिकेसन मार्फत अनलाइन आवेदन दिन सकिनेछ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. को सबै शाखाबाट सि-आस्वा सुविधा प्रयोग गर्न सकिने फाइनान्सले जानकारी दिएको छ । 

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाइल तथा कम्प्युटरबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सि—आस्वा भनिन्छ । यो प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफ्नो खाता भएको फाइनान्स सम्म गएर सुरुमा सि–आस्वा सेवा लिनुपर्छ । त्यसपछि फाइनान्सले लगानीकर्ताको पहिचान गरेर सफ्टवेयरमा भेरिफिकेसन गरी दिनेछ । लगानीकर्तालाई भेरिफिकेसन कोड नम्बर दिएपछि त्यही कोड नम्बरको प्रयोग गरेर फाइनान्स सम्म नगई घरमै बसेर आइपीओ तथा एफपीओ भर्न सकिनेछ । 

संस्थाले २०७४ असोज मसान्त सम्म निक्षेप २ अर्ब ५२ करोड तथा कर्जा लगानी २ अर्ब १४ करोड तथा कुल नाफा २ करोड ५० लाख आर्जन गर्न सफल भएको बताइएको छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको गुहेश्वरी फाइनान्सको चावहिल, हेटौडा, चारआली, विरगञ्ज, कलैया, दमक र जीतपुरमा शाखा कार्यालय रहेको छ । संस्थाले कार्तिक १२ गते देखि ४० प्रतिशत हकप्रद सेयर वितरण गरिरहेको छ । यसबाहेक, गत आर्थिक वर्षको बोनस सेयर वितरण पश्चात गरेर ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउने फाइनान्सको योजना छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *