November 27th, 2017

सीमावर्ति क्षेत्रमा लगानी गर्न बैंकलाई भयो सास्ती

बैंकिङ खबर । सीमावर्ती क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सास्ती भएको छ । सीमावर्ती क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण हुने भएकाले बैंकहरुले त्यस्तो क्षेत्रमा लगानी नगर्ने गरेका हुन् । 

बेलौरीका पन्तले पाएनन् ऋण
कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका १४ भुडाका किसान टीकाराम पन्तसँग दुई बिगाहा जग्गा भए पनि उनले बैंकबाट ऋण पाउन सकेका छैनन् । आफ्नै स्वामित्वमा रहेको जग्गामा केराखेती गर्न भन्दै उनी धेरै पटक बैंक धाए । तर, हालसम्म पन्तले ऋण पाउन सकेका छैनन् । दुई बिगाह जमिनको जग्गाधी प्रमाणपत्र बोकेर राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक पुगे पनि ऋण नपाएको उनी बताउँछन् । 

सीमावर्ती क्षेत्रमा लगानी गर्न मान्दैनन् बैंकहरु
जग्गा सीमावर्ती क्षेत्रमा भएका कारण बैंकले ऋण लगानी गर्न नमानेको हो । सीमावर्ती क्षेत्रको जग्गा भन्दै बैंकले ऋण दिन मानेन, उनले भने । कृषि विकास बैंक बेलौरीले केन्द्रिय नियम भन्दै सीमावर्ती क्षेत्रमा लगानी नगर्ने भन्दै पन्तलाई रित्तो हात फर्कायो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगरले सीमावर्ती क्षेत्रमा गरेको लगानी जोखिमपूर्ण हुने भन्दै ऋण दिन नमानेको पन्तले बताए । बैंकले ऋण नदिएपछि पन्त निराश मात्र हैन उद्यम गर्नबाट समेत बञ्चित भएका छन् । बैंकले ऋण नदिएपछि पन्तको व्यावसायिक केराखेती गर्ने योजना विफल भएको छ ।

उस्तै पीडामा अर्का किसान
भुडाकै अर्का किसान देवसिंह थापाले आफूसँग भएको डेढ विगाहा जग्गामा व्यावसायिक रुपमा उखुखेती गर्न राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा ऋण लिन गए र तर, बैंकले ऋण दिन नमानेपछि निराश हुँदै फर्किए । बैंकले दशगजा क्षेत्रमा जकिन भएको भन्दैऋण दिन मानेनन्, उनले दुखेसो गर्दै भने, मालपोतबापत राजस्व चाहिँ बुझ्ने अनि ऋण नदिने ?

जानीजानी लगानी जोखिममा पार्दैनन् बैंक
राष्ट्रिय वाणिज्य बैंक कञ्चनपुरका शाखा प्रबन्धक हरिशचन्द्र भट्ट बैंकले सुरक्षित क्षेत्रमा मात्रै कर्जा दिने गरेको बताउँछन् । बैंकले लगानी जोखिममा पर्ने खोलानाला, नदी क्षेत्रको जमिन र सीमावर्ती क्षेत्रको लग्गामा लगानी नगरेको उनको भनाइ छ । 

परम्परागत खेतीमै अल्झिन बाध्य
जिल्लाको ब्रम्हदेव, दोधारा, चाँदनी, रौतेली, बिचुवा, बेल्डाँडी, बेलौरी, पुनर्वास लगायतका सीमा क्षेत्रका वासिन्दा बैंकको सुविधाबाट बञ्चित हुँदै आएका छन् । बैंकबाट ऋणको व्यवस्था नभएपछि यहाँका बासिन्दाले परम्परागत खेती गर्दै आएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]