November 24th, 2017

केके भयो यो साता बैंकिङ क्षेत्रमा ? हेर्नुहोस्, टप बैंकिङ खबरहरु

बैंकिङ खबर । हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जरको विषयले बढी चर्चा पायो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

मेगा र टुरिजमको मर्जरमा संकट
मेगा बैंक नेपाल र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जरमा संकट उत्पन्न भएको छ । मर्जर पारित गर्नका लागि सोमबार डाकिएको मेगा बैंकको साधारणसभा सम्पन्न हुन नसकेपछि विगत १० महिनादेखि प्रक्रियामा रहेको मेगा र टुरिजमबीचको मर्जरमा अन्यौलता सृजना भएको हो । मेगाको साधारणसभा हुन नसकेपनि टुरिजमले भने सोही दिन सम्पन्न साधारणसभामार्फत मर्जर पारित गरिसकेको छ । 

उत्कृष्ट करदाता वित्तीय संस्थाहरुलाई सम्मान
आर्थिक वर्ष २०७२।७३मा आन्तरिक राजश्व कार्यालयमा धेरै कर बुझाउने विभिन्न बैंक तथा वित्तीय संस्था कर दिवसको अवसरमा उत्कृष्ट करदाताको रुपमा सम्मानित भए । आयकरतर्फ फाइनान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी कर दाखिला गरेको र कर विभागबाट उत्कृष्ट करदाता छनौट मापदण्डको आधारमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड सम्मानित भएको छ । आर्थिक वर्ष २०७२।०७३ मा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको कार्यक्षेत्र भेरी र कर्णाली अञ्चलका १० वटा जिल्ला अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गर्न सफल भएकोमा भार्गव विकास बैंक पनि सम्मानित भएको छ । सिन्धुपाल्चोक जिल्लाबाट आयकरतर्फ सबै भन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा सिन्धु विकास बैंक सम्मानित भएको छ । 

तारकेश्वरमा पहिलो बैंकको रुपमा पुग्यो 'ज्योति विकास बैंक'
ज्योति विकास बैंक लिमिटेडले सोमबारदेखि काठमाडौंको तारकेश्वर नगरपालिका ११, नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्यायो । उक्त शाखाकार्यालयको समुद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका छन् । तारकेश्वर नगरपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकले आफ्नो शाखा संचालनमा ल्याएको हो । 

राष्ट्र बैंकद्धारा आर्थिक तथा वित्तीय स्थितीको समीक्षा
नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्यो । समीक्षामा राष्ट्र बैंकले मुद्रास्फिर्ती न्यून रहेको, आर्थिक सूचकहरु सकारात्मक रहेको, कर्जा विस्तारमा सुधार आएको र शोधानान्तर स्थिती बचतमा फर्केको उल्लेख गरेको छ । साथमा, निर्वाचन खर्चका कारण सरकारको बजेटमा दबाब पर्ने, विप्रोषण आप्रवाहका कारण निक्षेपको वृद्धिदर सुस्त रहने लगायतका संकेत पनि गरेको छ ।

गरिमा विकास बैंकको वार्षिकोत्सव
गरिमा विकास बैंक लिमिटेड स्थापनाको १० औं बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले बिहीबार मुलुकका ५ स्थानमा  न्यानो कपडा वितरण गरेको छ । तडकभडकपुर्ण कार्यक्रमभन्दा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै बैंकले काठमाडौँ, तनहुँ, स्याङ्जा, म्याग्दी लगायत जिल्लाहरुमा अतिविपन्नहरुलाई लत्ता कपडा बितरण गरेको हो ।

अन्य,

सानिमा बैंक लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स सेवा सम्झौता भयो ।
मुक्तिनाथ विकास बैक लिमिटेड र साहारा नेपालबीच पनि रेमिट्यान्स सम्झौता भयो ।
ज्योति विकास बैंक लिमिटेडले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४, चौराहमा नयाँ शाखा विस्तार गर्यो ।
सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर भक्तपुर जिल्ला प्रशासन कार्यालयमा खोल्यो ।
जावलाखेलस्थित क्याफे कफी डे मा बीओके भिजा कार्ड प्रयोगकर्तालाई बैंक अफ काठमाण्डुले १०५ छुटको व्यवस्था गर्यो ।
हिमालयन बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास मा.वि. लाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गर्यो ।
आइएमई समुहद्धारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड का.म.न.पा २६, लैनचौर स्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा सर्यो ।
मुक्तिनाथ विकास बैंक र  सेञ्चुरी कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता भयो ।
बुम रेमिट्यान्स प्रा लिले युनाईटेड फाईनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गर्यो ।
गण्डकी विकास बैंक लिमिटेडले पर्सा जिल्लाको विरगञ्जमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्यायो ।
एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको नाम र लोगो परिवर्तन गरियो ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धनुषा जिल्लाको जनकपुरमा नयाँ शाखा विस्तार गर्यो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]