November 24th, 2017

फेरियो एनबी इन्स्योरेन्सको नाम र लोगो

एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको नाम र लोगो परिवर्तन गरिएको छ । विहीबारदेखि कम्पनीको नाम परिवर्तन गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेड राखिएको छ । निर्जीवन बीमा क्षेत्रमा २० बर्षदेखि सेवारत कम्पनी बिगतमा विविध कारणले समस्याग्रस्त भएपश्चात २०७१ साल माघ ५ गतेदेखि आईएमई गु्रप लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयां व्यवस्थापन साहित २०७२ आषाढ देखि पुनः संचालनमा आएको थियो ।

कम्पनीको गत आश्विन १० गते सम्पन्न २०औं बार्षिक साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो भने बीमा समितिले गत भदौ १४ गते नाम परिवर्तन सम्बन्धमा प्राप्त सैद्धान्तिक पत्र प्रदान गरेको थियो । गत कात्तिक ८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत कम्पनीको नाम परिवर्तन भएको सम्बन्धमा प्राप्त पत्र तथा नाम परिवर्तन सम्बन्धि कम्पनी दर्ताको प्रमाणपत्र पाएपछि विहीबारदेखि औपचारिक रुपमा नाम परिवर्तन गरिएको घोषणा विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइयो । 

नयाँ लगानीकर्ता तथा नयाँ व्यवस्थापनले कम्पनी सम्हाले पश्चात विगत ६ बर्षदेखिको हुन नसकेको बार्षिक साधारण सभा सम्पन्न गरी आ.ब. २०७३।०७४ को साधारण सभा मिति २०७४ साल आश्विन १० गते सम्पन्न गरी उक्त आ.ब.को साधारण सभा गर्ने पहिलो कम्पनी बन्न कम्पनी सफल भएको थियो । 

कम्पनीको नाम तथा लोगो परिवर्तन सम्बन्धमा जानकारीको लागि आयोजित प्रेस सम्मेलनमा आइएमई गु्रपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीको वितग र वर्तमान अवस्थाका बारेमा पे्रसलाई जानकारी दिए । कम्पनीको मुख्य आर्थिक गतिविधिहरुको बारेमा जानकारी दिँदै ढकालले चुक्ता पूंजी ५४ करोडमा थप ८० प्रतिशत हकप्रद सेयर सहित ९७ करोड २० लाख पुर्याउने प्रक्रियामा रहेको र हकप्रदपछि पाँच प्रतिशत बोनस सेयर वितरण गरी बीमा समितिले तेकेको एक अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी पुर्याउने योजना बीमा समितिमा पेश गरिएको जानकारी गराए ।

आजभन्दा झण्डै दुई बर्ष १० महिना पहिले रु.२० करोड भन्दा बढी नोक्सानी रहेको कम्पनीलाई लिएर छोटो समयमानै कम्पनीका लगानीकर्ता संचालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासबाट कम्पनीले गति लिईसकेको र आउने बर्षहरुमा कम्पनीले अझै प्रगती गर्ने कुरामा आफू विश्वस्त रहेको अध्यक्ष ढकालले बताए । छोटो समयमानै कम्पनीले नेपाली बीमा बजारमा अग्रणी कम्पनीको रुपमा आफनो स्थान सुरक्षित गर्ने उनको भनाई थियो । ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गरिरहेको जानकारी उनले दिए ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नामबाट सेवा प्रारम्भसँगै निम्न सेवा थप गरी ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्ने प्रण गरे ।
१.    कम्पनीको प्रधान कार्यालय नक्शाल काठमाण्डौंबाट ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने ।
२.    नयां प्रोडक्टः  Extended Warranty पोलिसी जारी गर्ने ।
३.    नयां प्रोडक्टः  साइवर पोलिसी जारी गर्ने ।
४.    नयां प्रोडक्टः  बैंकएसुरेन्स पोलिसी जारी गर्ने ।

कम्पनीले २०७४ आश्विन मसान्तसम्म करिब २२ करोड रुपैयाँ बीमा शूल्क र दुई करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती तथा साधारण शेयरमा गरी कूल लगानी रु.८२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा रु. २२ करोड रहेको छ । २५ शाखा र सेवा काउण्टर १० सहित ३५ स्थानबाट सेवा प्रदान गरिरहेको कम्पनीले थप १८ वटा शाखा तथा सम्पर्क कार्यालय खोल्न बीमा समितिबाट स्वीकृत प्राप्त गरिसकेको छ । हाल १६६ जना कर्मचारी कार्यरत कम्पनीमा शाखा विस्तारसंगै कर्मचारी संख्या २५० जना पुग्नेछ । चालु आ.ब.को बार्षिक प्रिमियम लक्ष्य एक अरब २० करोड मध्ये कम्पनीले हालसम्म ३० करोड संकलन गरिसकेको छ । चालू आर्थिक वर्षमा २० करोडभन्दा बढी नाफा कमाउने कम्पनीको लक्ष्य छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]