November 23rd, 2017

कोबलीमा विलय हुन लागेको माउन्ट मकालुको हकप्रद खुल्यो

बैंकिङ खबर । माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । विहीबारदेखि निष्काशन गरिएको सेयरमा पुस १२ गतेसम्म आवेदन दिन पाइनेछ । कात्तिक १६ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त सेयर भर्न पाउनेछन् । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, लगनखेल, पोखरा तथा माउण्ट मकालुको शाखा कार्यालयहरु तेह्रथुम तथा सम्पुर्ण कार्यालयहरुबाट आवेदन गर्न सकिनेछ । धितोपत्र बोर्डको निर्देशन बमोजिम उपत्यका बाहिरका मुख्य शहरबाट आवेदन गर्ने व्यवस्थाका लागि बैंकले इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढीबाट समेत हकप्रद भर्न सकिने व्यवस्था रहेको छ ।

हाल माउन्ट मकालुको चुक्ता पूँजी छ करोड ९१ लाख ६० हजार रुपैयाँ रहेका छ । बैंंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद निष्काशन गर्नेछ । हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ । बैंकलाई काबेली विकास बैंकले एक्वायर गर्ने प्रकृयामा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]