November 20th, 2017

१४६९ अंकमा झर्यो नेप्से, ३९ करोडको कारोबार हुँदा ५२ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । साताको पहिलो दिन नै दोहोरो अंकले घटेको सेयर बजार सोमबार ६.५६ अंकले घटेर १४६९.१६ अंकमा कायम भएको छ । अन्यबाहेक सबै उपसूचकहरु घटेपछि समग्र बजार नै राताम्मे भएको हो । सबैभन्दा धेरै बीमा समूह २९.२५ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र लघुवित्त क्रमशः ७, ११.५७, २०.८७, ५.२७, १३.७७, ४.२३ र १०.७६ अंकले घटेका छन् । अन्य समूह भने २.८९ अंकले बढेको छ । 

परिसूचकसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ । दिनभरिमा १६० वटा कम्पनीको ११ लाख ४६ हजार छ सय नौ कित्ता सेयर चार हजार छ सय ३० पटक खरिदविक्री हुँदा ३९ करोड ३८ लाख १७ हजार दुई सय ६१ रुपैयाँको कारोबार भएको छ । आइतबार ४५ करोडको सेयर कारोबार भएको थियो । 

कुल कारोबारमध्ये, एभरेष्ट बैंक र सिभिल बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक प्रोमोटर, नविल बैंक, बैंक अफ काठमाण्डू र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको कारोबार भएको छ । एनआईसी एशिया बैंक र सिभिल बैंक प्रोमोटरको क्रमशः ९५ लाख र ९२ लाख रुपैयाँको कारोबार भएको छ । 

जम्मा ५२ वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक र अरुण फाइनान्सका सेयरधनीले क्रमशः ९.९६ र ७.२८ प्रतिशतका दरले कमाएका छन् । मल्टिपर्पोज फाइनान्स, लक्ष्मी लघुवित्त, कन्काई विकास बैंक, ङादी ग्रुप पावर, रिलायन्स फाइनान्स, मिथिला लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, नेपाल हाइड्रो, सृजना फाइनान्स, बिशाल बजार र हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ८.९९, ७.५, ६.७७ र ६.३८ प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, किसान माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सगरमाथा इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]