November 20th, 2017

‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’बारे यस्तो छ, राष्ट्र बैंकको समीक्षा

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा गरेको छ । पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित रहेर गरिएको समीक्षामा राष्ट्र बैंक आर्थिक सुधारप्रति आशावादी देखिएको छ । राष्ट्र बैंकद्धारा सार्वजनिक गरिएको समीक्षा प्रतिवेदनको सारांश यहाँ प्रस्तुत गरिन्छ : 

आर्थिक परिदृश्य 
१. अहिलेसम्म उपलब्ध समष्टिगत आर्थिक तथ्याङ्कले आर्थिक वृद्धिको आशावादी परिदृष्य देखाएको छ । यसका पछाडि देहायका चारवटा आधारहरु रहेका छन् । पहिलो, साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने देखिन्छ । दोस्रो, उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने देखिन्छ । तेस्रो, होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार हुने देखिन्छ । चौथो, सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको प्रतिविम्वित हुन्छ । 
२. तरकारी तथा फलफूल जस्ता शीघ्र नाशवान वस्तुहरुको मूल्यमा उतार चढाव हुँदा हुँदै पनि समीक्षा अवधिमा समग्र मुद्रास्फीति ३.१ प्रतिशतमा सीमित रहेको छ । नेपालको मुद्रास्फीति तल माथि भइरहने भएता पनि अन्र्तराष्ट्रिय मुद्रास्फीतिकै प्रवृत्तितर्फ उन्मुख रहेको छ । 
३. प्रदेश तथा स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण तथा आसन्न निर्वाचन खर्चका कारण केन्द्रीय सरकारको बजेट दवावमा पर्ने देखिन्छ । वैदेशिक अनुदान प्राप्तिमा केही सुधार आएको छ भने राजस्वको वृद्धिदर सामान्य रहेको छ । 
४. कर्जा विस्तार गत वर्षको भन्दा स्वस्थ रहनुका साथै वार्षिक लक्ष्यसँग तादात्म्य मिलेको छ । सरकारले आर्थिक वर्षको शुरु देखि नै आन्तरिक ऋण उठाएकाले बैंकहरुलाई कर्जा तथा तरलता व्यवस्थापनमा सहयोग पुगेको छ । घट्दो दरमा रहेको विपे्रषण आप्रवाहका कारण निक्षेपको वृद्धिदर भने सुस्त रहने देखिन्छ । 
५. चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर स्थिति बचतमा फर्केको छ । विशेषगरी, पुँजीगत ट्रान्सफर, प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण लगायतका पुँजीगत तथा वित्तीय आप्रवाहमा सुधार आएकोले समग्र शोधनान्तर स्थिति बचतमा फर्केको हो । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 
६. २०७३ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७ प्रतिशत रहेकोमा २०७४ असोज महिनामा ३.१ प्रतिशत कायम भएको छ । गत वर्षको आधारमूल्य उच्च रहेको कारण समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । 

खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २२.९ प्रतिशत, मसलाको मूल्यमा ५.७ प्रतिशत, तरकारीको मूल्यमा ५.१ प्रतिशत र फलफूलको मूल्यमा ३.७ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । 

गैर–खाद्य मुद्रास्फीति 
८. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ७.६ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ्ग तथा युटिलिटी लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
९. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.१ प्रतिशत, तराईमा ३.६ प्रतिशत, पहाडमा ३.० प्रतिशत र काठमाडौं उपत्यकामा २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत, पहाडमा ८.९ प्रतिशत र काठमाडौं उपत्यकामा ५.७ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
१०. २०७४ असोज महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१ प्रतिशत र भारतको ३.६ प्रतिशत रहेकाले यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ६.७ प्रतिशत र ४.२ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २.५ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
११. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.२ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ७.२ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ५.८ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.१ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
१२. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ५.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १४.४ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ३.३ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः १०.६ प्रतिशत, ५.८ प्रतिशत र ०.८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः २ प्रतिशत, ६.३ प्रतिशत र ३.२ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 
१३. आर्थिक बर्ष २०७४/७५ को प्रथम तीन महिनासम्ममा कुल वस्तु निर्यात ७.९ प्रतिशतले वृद्धि भई रु. २० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १२.६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ ३.२ प्रतिशत, चीनतर्फ २७.७ प्रतिशत र अन्य मुलुकतर्फ १३.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पती घ्यू, पिना, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैंची, द्ध जि.आई.पाइप, ऊनी गलंैचा, पोलिष्टर धागोलगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१४. समीक्षा अवधिमा कुल वस्तु आयात १६.९ प्रतिशतले बढेर रु. २५७ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६९.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १७.७ प्रतिशत, चीनबाट भएको आयात ९.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९.५ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सुन, हवाईजहाजका उपकरण, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, रासायनिक मल, सेनिटेरीवेयर, विद्युतीय सामान, खाने तेल लगायतका वस्तुहरुको आयात समीक्षा अवधिमा घटेको छ । 
१५. भन्सार नाकाका आधारमा बिरगंज भन्सार र कृष्णनगर भन्सार नाकाहरुबाट भएकोनिर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय र कन्चनपुर भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१६. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.७ प्रतिशतले बढी रु. २३७ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ७७.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.९ प्रतिशतमा रहको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१७. आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ९.६ प्रतिशतले वृद्धि भएको र आयात मूल्य सूचकाङ्कमा ५.२ प्रतिशतले बढेका कारण व्यापारको सर्तमा ४.२ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अनुपात १८ प्रतिशतले बढेको थियो । यार्सागुम्बा, कार्पेट, दाल, चियाको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, टायर, ल्यापटप, सवारीसाधन, ठूला औजारको आयातीत मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
१८. समीक्षा अवधिमा कुल सेवा आय ५.४ प्रतिशत र कुल सेवा खर्च १५.४ प्रतिशतले बढेको कारण खुद सेवा आय घाटा रु. ६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा समेत खुद सेवा आय रु. २ अर्ब ४० करोडले घाटामा रहेको थियो । 
१९. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा २७.४ प्रतिशतले वृद्धि भई रु. १४ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो बर्ष यस्तो आय २७.६ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
२०. समीक्षा अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढी रु. १७६ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ४.६ प्रतिशतले वृद्धि भई रु. २०३ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.५ प्रतिशतले बढेको थियो । 
२१. वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुनः श्रम स्वीकृति बाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा गिरावट आएको छ । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
२२. अघिल्लो वर्षको पहिलो तीन महिनामा रु. १ अर्ब ९७ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रु. २१ अर्ब ९४ करोडले घाटामा रहेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ४ अर्ब २७ करोडले बचतमा फर्केको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा समग्र शोधनान्तर रु. १९ अर्ब ७० करोडले बचतमा रहेको थियो । 
२३. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. ४ अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ६ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. २ अर्ब ४१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ५ अर्ब २ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२४. २०७४ असार मसान्तको रु. १०७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ असोज मसान्तमा रु. १०९९ अर्ब ८२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ असोज मसान्तमा २.१ प्रतिशतले वृद्धि भई रु. ९४७ अर्ब १४ करोड पुगेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब २६ करोड रहेकोमा २०७४ असोज मसान्तमा ०.३ प्रतिशतले वृद्धि भई रु. १५२ अर्ब ६८ करोड पुगेको छ । २०७४ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२५. आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १३ महिनाको वस्तु आयात र ११.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.३ प्रतिशत, ९३ प्रतिशत र ४०.७ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.३ प्रतिशत र ४१.७ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२६. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ असोज मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४८.८७ रहेकोमा २०७४ असोज मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५७.४९ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७३ असोज मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२५१.८० रहेकोमा २०७४ असोज मसान्तमा ४.१ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १३०३.३० पुगेको छ । 

विनिमय दर 
२७. २०७४ असार मसान्तको तुलनामा २०७४ असोज मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ०.२ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७४ असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०३.२९ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो ।

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 
२८. आर्थिक वर्ष २०७४/७५ को तीन महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ११ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. २८ अर्ब ८४ करोड रहेको थियो । 

सरकारी खर्च 
२९. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. १३८ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. ९५ अर्ब १६ करोड रहेकोथियो । 
३०. समीक्षा अवधिमा चालू खर्च रु. १२६ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. ८६ अर्ब ७९ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च ५९.६ प्रतिशतले बढेर रु. ११ अर्ब ६४ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ७ अर्ब २९ करोड भएको थियो । 

सरकारी राजस्व 
३१. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन १०.७ प्रतिशतले वृद्धि भई रु. १३९ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ६६.७ प्रतिशतले वृद्धि भई रु. १२६ अर्ब १२ करोड पुगेको थियो । समीक्षा अवधिमा राजस्व सङ्कलन लक्ष्यभन्दा कम रहेको छ । नेपाल सरकारको राजस्व सङ्कलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग सम्वेदनशील रहदैं आएको छ । 

सरकारको नगद मौज्दात 
३२. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ असोज मसान्तसम्ममा सरकारी ढुकुटीमा रु. २४६ अर्ब ४ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 
३३. आर्थिक वर्ष २०७४/७५ को तीन महिनामा विस्तृत मुद्राप्रदाय ४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । 
३४. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति ( विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. ४ अर्ब २७ करोड (०.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १९ अर्ब ७० करोड (२.१ प्रतिशत) ले बढेको थियो । 
३५. समीक्षा अवधिमा सञ्चित मुद्रा ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ असोज मसान्तमा सञ्चित मुद्रा १३.२ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३६. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ असोज मसान्तमा यस्तो कर्जा २०.९ प्रतिशतले बढेको छ । 
३७. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७४ असोज मसान्तमा १८.५ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि निक्षेपको वृद्धिदर समान रहेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४ प्रतिशतले बढेको छ । 
३९. २०७४ असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.३ प्रतिशत, ३६.१ प्रतिशत र ४२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ४४.१ प्रतिशत र २९.९ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशत, विकास बैंकहरुको ८.३ प्रतिशत र वित्त कम्पनीहरुको १.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १८.७ प्रतिशतले बढेको छ । 
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ प्रतिशत र १५.१ प्रतिशत रहेको थियो । 
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा २५.५ प्रतिशत (रु.१६ अर्ब ४४ करोड) ले बढी रु. ८० अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.५ प्रतिशतले बढेको थियो । 
४३. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १.७ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा २.९ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रु. १ करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जा ६.७ प्रतिशतले तथा रियल स्टेट कर्जा ०.८ प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
४४. आर्थिक वर्ष २०७४/७५ को तीन महिनासम्ममा यस बैंकले रु. ११५ अर्ब ४० करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, निक्षेप बोलकबोलमार्फत् रु. ४० अर्ब ६५ करोड तथा रिभर्स रिपोमार्फत् ( टर्नओभरको आधारमा) रु. ७४ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ९० अर्ब २५ करोड तरलता प्रशोचन भएको थियो । त्यसैगरी, अघिल्लो वर्षको सोही अवधिमा रिपो बोल–कबोलमार्फत् १० अर्ब १ करोड (७ दिने र १४ दिने रिपो बोल–कबोल) र स्थायी तरलता सुबिधामार्फत् रु. ७ अर्ब ७५ करोड गरी कुल रु. १७ अर्ब ७६ करोड तरलता प्रवाह भएको थियो । 
४५. आर्थिक वर्ष २०७४÷७५ को तीन महिनासम्ममा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ९४ करोड ७५ लाख खुद खरिद गरी रु. ८९ अर्ब ८० करोड खुद तरलता प्रवाह ज्ञण् गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९२ करोड ५९ लाख खुद खरिद भई रु. ९८ अर्ब ९४ करोड खुद तरलता प्रवाह भएको थियो । 
४६. समीक्षा अवधिमा अमेरिकी डलर ९० करोड र युरो ४ करोड बिक्री गरी रु. ९७ अर्ब ४९ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ९० करोड र युरो ९ करोड ५० लाख बिक्री गरी रु. १०७ अर्ब ५९ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४७. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ असोज मसान्तमा साधारण पुनरकर्जा रु. ७ अर्ब ६१ करोड ५५ लाख र निर्यात पुनरकर्जा रु. ६७ करोड २४ लाख गरी कुल रु. ८ अर्ब २८ करोड ७९ लाख पुनरकर्जा लगानीमा रहेको छ । 
४८. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ असोज मसान्तसम्ममा रु. ९६ करोड २६ लाख पुनरकर्जा उपयोगमा रहेको छ । 
४९. २०७४ असार मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ५९२७ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत रु. ६ अर्ब २३ करोड ३२ लाख कर्जा बक्यौता रहेको छ भने रु. २३ करोड ९१ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

अन्तर–बैंक कारोबार 
५०. आर्थिक वर्ष २०७४/७५ को तीन महिनामा वाणिज्य बैंकहरूले रु. २०२ अर्ब ४० करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ७ अर्ब ८ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. २८० अर्ब ५७ करोड र रु. ८८ अर्ब ३७ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५१. २०७३ असोजमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.१२ प्रतिशत रहेकोमा २०७४ असोजमा १.१८ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ असोजको ३.२७ प्रतिशतको तुलनामा २०७४ असोजमा १.१३ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ असोजको ६.४३ प्रतिशतको तुलनामा २०७४ असोजमा १०.०८ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति 
५२. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ असोज मसान्तसम्म कुल १५३ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११३ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । 

पूँजी बजार 
५३. नेप्से सूचकाङ्कमा वार्षिक बिन्दुगत आधारमा १३.६ प्रतिशतले ह्रास आई २०७४ असोज मसान्तमा १५५९.२ बिन्दुमा झरेको छ । २०७३ असोज मसान्तमा उक्त सूचकाङ्क ५९.० प्रतिशतले वृद्धि भई १८०३.७ विन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ बिन्दु कायम भएको थियो । 
५४. धितोपत्र बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा ९.४ प्रतिशतले ह्रास आई २०७४ असोज मसान्तमा रु. १,८०९ अर्ब ८१ करोड कायम भएको छ । बजार पुँजीकरण अनुपात २०७३ असोज मसान्तमा ७०.९ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पुँजीकरणको अनुपात ६९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८८.९ प्रतिशत रहेको थियो । बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८३.८ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.५ प्रतिशत, होटलहरूको १.८ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ७.५ प्रतिशत रहेको छ । 
५५. समीक्षा अवधिमा कुल शेयर कारोबार रकममा ५७ प्रतिशतले ह्रास आई रु. ६ अर्ब ६४ करोड हुन पुगेको छ । कारोबार रकम गत वर्षको सोही अवधिमा १२३.३ प्रतिशतको उल्लेख्य वृद्धि भई रु. १५ अर्ब ४५ करोड पुगेको थियो । 
५६. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ असोज मसान्तमा १९६ रहेको छ । २०७३ असोज मसान्तमा यस्तो संख्या २२३ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १५१ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत्कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् । 
५७. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक बिन्दुगत आधारमा ३४.४ प्रतिशतले वृद्धि भई २०७४ असोज मसान्तमा रु. २९८ अर्ब ५१ करोड पुगेको छ । समीक्षा अवधिमा रु. १ अर्ब २० करोड बराबरको साधारण शेयर, रु. १४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, रु. ७० करोड बराबरको बोनस शेयर र रु. ७ अर्ब बराबरको सरकारी ऋणपत्र गरी कुल रु. २३ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]