November 20th, 2017

सुधारोन्मुख गतिमा अर्थतन्त्र, कर्जा विस्तार लक्ष्यअनुरुप : राष्ट्र बैंक

बैंकिङ खबर । नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाप्रति नेपाल राष्ट्र बैंक आशावादी देखिएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गर्दै राष्ट्र बैंकले अहिलेसम्म उपलब्ध समष्टिगत आर्थिक तथ्याङ्कले आर्थिक वृद्धिको आशावादी परिदृष्य देखाएको बताएको छ । 

राष्ट्र बैंकका अनुसार, साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने देखिएको छ भने उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने देखिएको छ । साथमा होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार हुने अपेक्षा गरिएको छ । सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको संकेत गरेको छ ।

तरकारी तथा फलफूल जस्ता शीघ्र नाशवान् वस्तुहरुको मूल्यमा उतार चढाव हुँदा हुँदै पनि समीक्षा अवधिमा समग्र मुद्रास्फीति ३.१ प्रतिशतमा सीमित रहनुलाई राष्ट्र बैंकले सकारात्मक रुपमा लिएको छ । राष्ट्र बैंकले आफ्नो समीक्षा प्रतिवेदनमा भनेको छ, ‘नेपालको मुद्रास्फीति तल माथि भइरहने भएता पनि अन्र्तराष्ट्रिय मुद्रास्फीतिकै प्रवृत्तितर्फ उन्मुख रहेको छ ।’ 

त्यस्तै, प्रदेश तथा स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण तथा आसन्न निर्वाचन खर्चका कारण केन्द्रीय सरकारको बजेट दवावमा पर्ने देखिएको राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा वैदेशिक अनुदान प्राप्तिमा केही सुधार आएको र राजस्वको वृद्धिदर सामान्य रहेको जानकारी राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकका अनुसार, कर्जा विस्तार गत वर्षको भन्दा स्वस्थ रहनुका साथै वार्षिक लक्ष्यसँग तादात्म्य मिलेको छ भने सरकारले आर्थिक वर्षको शुरु देखि नै आन्तरिक ऋण उठाएकाले बैंकहरुलाई कर्जा तथा तरलता व्यवस्थापनमा सहयोग पुगेको छ । घट्दो दरमा रहेको विपे्रषण आप्रवाहका कारण निक्षेपको वृद्धिदर भने सुस्त रहने देखिन्छ । 

चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर स्थिति तेस्रो महिनामा बचतमा फर्केको छ । विशेषगरी, पुँजीगत ट्रान्सफर, प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण लगायतका पुँजीगत तथा वित्तीय आप्रवाहमा सुधार आएकोले समग्र शोधनान्तर स्थिति बचतमा फर्केको राष्ट्र बैंकको तर्क छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]