November 20th, 2017

पहिलो त्रैमासको समष्टिगत आर्थिक परिदृश्य : एफडीआईले सुधार्‍यो शोधनान्तर

रञ्जु काफ्ले / चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो २ महीनासम्म लगातार घाटामा रहेको देशको शोधान्नतर स्थिति तेस्रो महीनामा नाफामा देखिएको छ । यसले देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको सङ्केत गरेको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको पछिल्लो समष्टिगत आर्थिक प्रतिवेदनले यस्तो देखाएको हो ।

असोज महीनामा विदेशबाट नेपाल भित्रिने पूँजीगत रकम र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सुधार आएपछि भदौसम्म ऋणात्मक रहेको शोधनान्तर बचतमा आएको हो । सो अवधिमा रू. ४ अर्ब ९६ करोड पूँजीगत रकम नेपाल भित्रिएको छ भने प्रत्यक्ष वैदेशिक लगानी रू. ६ अर्ब ७ करोड प्राप्त भएको छ । फलस्वरूप, पूँजीगत खाता बचतमा रहेको र समग्र शोधनान्तर स्थितिमा सुधार आएको राष्ट्र बैङ्कले बताएको छ ।

राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार चालू आवको पहिलो ३ महीनामा शोधनान्तर स्थिति रू. ४ अर्ब २७ करोडले नाफामा छ । गत आवको पहिलो त्रैमासमा यस्तो शोधनान्तर रू. १९ अर्ब ७० करोड नाफामा थियो । समष्टिगत आर्थिक प्रतिवेदनले अघिल्लो आवको पहिलो २ महीनामा पनि शोधनान्तर घाटामै रहेर तेस्रो महीना नाफामा आएको देखाउँछ ।

समीक्षा अवधिमा आम मानिसको दैनिकीमा प्रत्यक्ष असर पर्ने मूल्य वृद्धिदर पनि नियन्त्रणमै रहेको देखिएको छ । भदौमा ३ दशमलव ४ प्रतिशत रहेको उपभोक्ता मूल्य वृद्धिदर असोजमा घटेर ३ दशमलव १ प्रतिशतमा सीमित भएको छ । समष्टिगत आर्थिक प्रतिवेदनले दाल गेडागुडी, तरकारी, फलफूल, मसलाको मूल्य वृद्धिदर ऋणात्मक भएकाले समग्र उपभोक्ता मूल्य वृद्धिदर घटेको राष्ट्र बैङकको भनाइ छ ।

समीक्षा अवधिमा खाद्य वस्तुको मूल्य वृद्धिदर शून्य दशमलव ५ प्रतिशत र गैर खाद्य वस्तुको मूल्य वृद्धिदर ५ दशमलव २ प्रतिशत छ । गैर खाद्य वस्तुमा मुख्यगरी लत्ता कपडा, जुत्तालगायतको मूल्य वृद्धिदर कम छ । सो अवधिमा सबैभन्दा कम मूल्यवृद्धि काठमाडौंमा २ दशमलव ३ प्रतिशत रहेको देखाउँछ । त्यसपछि पहाडमा ३ प्रतिशत, तराईमा ३ दशमलव ६ प्रतिशत र हिमालमा ५ दशमलव १ प्रतिशत मूल्यवृद्धि भएको छ ।

शोधनान्तर स्थितिमा सुधार भए पनि निर्यातको तुलनामा आयात उच्च दरले बढ्दा वस्तु व्यापार घाटा भने १६ दशमलव ७ प्रतिशतले बढेर रू. २ खर्ब ३७ अर्ब पुगेको छ । सो अवधिमा देशमा रू. २ खर्ब ५७ अर्बको सामान आयात हुँदा देशबाट रू. २० अर्बको वस्तु तथा सेवा मात्र बाहिरिएको तथ्याङ्कले देखाउँछ ।

सबैभन्दा धेरै वस्तु तथा सेवा आयात हुने भारतसँगको व्यापार घाटा रू. १ खर्ब ५७ अर्ब रहेको छ भने अन्य देशसँगको व्यापार घाटा रू. ८० अर्ब छ ।

भदौको तुलनामा असोजमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह दरमा केही सुधार भएको छ । भदौमा शून्य दशमलव ७ प्रतिशतले बढेको विप्रेषण आप्रवाह असोजमा २ दशमलव ६ प्रतिशतले बढेको राष्ट्र बैङ्कले बताएको छ । समीक्षा अवधिमा रू. १ खर्ब ७६ अर्ब बराबरको विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो आवको तेस्रो महीनामा यस्तो वृद्धिदर ३ दशमलव २ प्रतिशत थियो ।

कतारमा नाकाबन्दी भएपछिको समयमा रोजगारीका लागि अन्तरराष्ट्रिय श्रमबजार जानेको सङ्ख्या घटेकाले विप्रेषणको वृद्धिदर खुम्चिदै गएको थियो । विप्रेषण घटे पनि देशमा सञ्चित विदेशी मुद्राले आउने ११ महीनाको वस्तु तथा सेवा आयात धान्न सकिने तथ्याङ्कमा उल्लेख छ । नेपालको वित्तीय प्रणालीमा अहिले रू. १० खर्ब ९९ अर्ब बराबरको विदेशी मुद्रा सञ्चित रहेको छ । अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]