Sunday , December 17 2017

व्याजदर करिडोर के हो ? के के छन् फाइदाहरु ?

November 19, 2017

आरपी पौडेल. बैंकिङ खबर / सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ ।

 बजार व्याजदरले स्थायीत्व पाओस्, तरलता व्यवस्थापन गर्न सकियोस्, तरलता र व्याजदरमा उतारचढाव नआओस् भन्ने उद्देश्यका साथ व्याजदर करिडोर लागू गरिएको हो । यसबाहेक, वित्तीय क्षेत्रको स्थायीत्व र निक्षेपकर्ता, व्यवसायी तथा ऋणीहरुले सुलभ तरिकाले कर्जा पाउन्, सस्तो दरमा कर्जा पाउन् र निक्षेपकर्ताले पनि सम्माजनक व्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुमा बचत गर्न पाउन् भन्ने कुरालाई ध्यानमा राखेर यो वर्षदेखि परिमार्जित व्याजदर करिडोर लागू गरिएको हो ।

व्याजदर करिडोरको तल्लो सीमा
व्याजदर करिडोरको तल्लो सीमा तीन प्रतिशत तोकिएको छ । जसअनुसार, अब राष्ट्र बैंकले तीन प्रतिशतमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग रहेको अधिक तरलतालाई खिच्छ र अन्तरबैंक ब्याजदर तीन प्रतिशतभन्दा तल जान दिँदैन । अन्तरबैंक व्याजदर भनेको बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा कारोबार गर्दा लिने र दिने व्याजदर हो । यो लागू भइसकेपछि अन्तरबैंक मात्र नभएर सर्वसाधारणले पाउने आवधिक निक्षेपको व्याजदर पनि तीन प्रतिशतभन्दा माथि कम्तीमा पनि पाँच प्रतिशत हुनेछ र उनीहरुले पनि फाइदा लिन पाउनेछन् ।

व्याजदर करिडोरको माथिल्लो सीमा
व्याजदर करिडोरको माथिल्लो सीमा सात प्रतिशत तोकिएको छ । राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा दिएको छ । विना रोकटोक नेपाल सरकारको ट्रेजरी बिल्स, विकास ऋणपत्र धरौटी राखेर राष्ट्र बैंकबाट कुनै पनि समयमा तरलता पाउन सक्ने सुविधालाई राष्ट्र बैंकले स्थानीय तरलता सुविधा नामाकरण गरेको छ । आवश्यकता अनुसार आफ्नै अग्रसरतामा बैंक तथा वित्तीय संस्थाले यस्तो सुविधा लिन सक्छन् । यसका लागि गभर्नर वा डेपुटी गभर्नरकहाँ जानुपर्दैन । मुलुकमा भुक्तानीमा व्यावधान नआओस् भनेर राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो । किनकि, आर्थिक गतिविधि सुचारु भइरहनका लागि भुक्तानी सहज हुनु जरुरी हुन्छ । उद्योग व्यवसायी, सर्वसाधारण लगायतलाई भुक्तानीमा समस्या पर्यो भने आर्थिक गतिविधि अवरुद्ध हुन्छ । भुक्तानी प्रणाली भनेको आर्थिक गतिविधिको लुम्ब्रिक्यान्ट हो । त्यसैले, भुक्तानी सुविधालाई मार्गप्रशस्त गर्नुपर्छ । यसमा राष्ट्र बैंक सचेत छ । 

करिडोरले जनतालाई के फाइदा गर्छ ?
निक्षेपकर्ताले सँधै बढी व्याज खोज्छन् भने ऋणीले स्वभावैले न्यून व्याज खोज्छन् । व्याजदर बढ्दा निक्षेपकर्ताहरु उत्साहित हुन्छन् भने ऋणीहरु निरुत्साहित हुन्छन् । त्यसैले दुवैलाई सन्तुलित गर्नेगरी राष्ट्र बैंकले यो नीति अबलम्बन गरेको हो । केही वर्षयता व्याजदर न्यून हुँदा निक्षेपकर्ताहरु निरुत्साहित हुँदै आएका थिए । यस्तो अवस्थामा संसारभरका केन्द्रिय बैंकहरुले करिडोरमार्फत व्याजदर स्थिर राख्ने गर्दछन् । व्याजदर निश्चित दायरामा भएन भने अर्थतन्त्रमा ठूलो नोक्सनी हुन्छ । त्यसैले, करिडोर लागू भएपछि निक्षेपकर्ता, ऋणी र अर्थतन्त्र सबैलाई फाइदा पुगेको छ । 

 

 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *