November 19th, 2017

लक्ष्मी लघुवित्तको २६.३२ प्रतिशत लाभांश पारित

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट १६.३२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त बोनस सेयर वितरण पश्चात्, लक्ष्मी लघुवित्तको चुक्तापुँजी २४ करोड २० लाख रुपैयाँ पुग्नेछ । 

साधारणसभामा लघुवित्तका अध्यक्ष अजय विक्रम शाहद्धारा प्रस्तुत संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष ०७३।७४ को वित्तीय विवरणमाथि छलफल पनि भएको थियो । 

नेपाल राष्ट्र बैंकबाट ०६८ साल फागुन २३ गते घ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको यस लघुवित्तमा लक्ष्मी बैंकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । हालसम्म ३९ जिल्खलामा ५४ वटा शाखा विस्तार गरिसकेको लघुवित्तले ५८ हजारभन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ । चालू आर्थिक वर्षभित्रमा नै थप १० शाखा विस्तार गर्ने संस्थाको योजना रहेको छ । 

आर्थिक वर्ष २०६८।६९ को अन्त्यतिर मात्रै कारोबार सुरु गरेको यस लघुवित्तको लगानीमा रहिरहेको कर्जा दुई अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने सदस्य ग्राहकहरुको बचत निक्षेप ७३ करोड रुपैयाँ रहेको छ । ०७४ असोज मसान्तसम्ममा संस्थाले तीन करोड ५४ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]