November 19th, 2017

फड्को मार्दैछ बैंकिङ प्रविधिले, प्रतिष्पर्धामा ‘अनलाईन बैंक खाता’

बैंकिङ खबर । नेपालमा बैंकिङ प्रविधिको विकासले फड्को मारिरहेको छ । पछिल्लो केही समयमा नै ब्रान्चलेस बैंकिङ, पस मेसिन, चिपमा आधारित बैंकिङ कार्डहरु, आस्वा प्रणाली, अनलाइन आस्वा, भाइबर बैंकिङ, लगायत थुप्रै प्रविधिहरु नेपालको बैंकिङ क्षेत्रमा भित्रिएका छन् । अब भने अनलाइन बैंक खाता संचालनमा बैंकहरुबीच प्रतिष्पर्धा हुन थालेको छ । 

तीन बैंकको अनलाइन खाता संचालनमा
गत साता मात्रै तीन वटा बैंकले अनलाइन बैंक खाता संचालनमा ल्याए । सुरुमा एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम “एनआईसी एशिया अनलाइन बचत खाता” संचालनमा थियो । त्यसपछि क्रमशः सनराइज बैंक लिमिटेड र ग्लोबल आईएमई बैंकले पनि यो सुविधा प्रदान गरेका छन् । देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले बैंकहरुले उक्त बचत खाता संचालनमा ल्याएका हुन् । 

केके पाइन्छन् सुविधा ?
अनलाइन बचत खाताअन्तर्गत ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न सक्ने तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने सुविधा रहेको छ । अनलाइनबाट बैंक खाता खोल्ने सुविधा चौबिसै घण्टा उपलब्ध हुनेछ । 

अनलाइन बैंक खाताको संचालनसँगै अब बैंकिङ पहुँच विस्तार हुनेछ । बैंक नपुगेका तर इन्टरनेट सुविधा भएका स्थानका जनताले पनि अब बैंक खाता खोल्न सक्नेछन् । त्यस्तै, विदेशमा रहेका नेपालीहरुले पनि अनलाइन मार्फत बैंक खाता खोल्न सक्ने भएकाले बैंकको ग्राहक संख्यामा पनि वृद्धि हुनेछ । साथमा, बैंक खाता खोल्न बैंक नै पुग्नुपर्ने झन्झटबाट मुक्ति मिल्नुका साथै बैंक गएर लाइन बस्ने समय पनि बचत हुने भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]