November 17th, 2017

गरीबी निवारणका लागि सहकारी मोडलको अर्थतन्त्रमा जोड

बैंकिङ खबर । गरीबी निवारणका लागि सहकारी मोडलको अर्थतन्त्र विकासमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को क्वालालम्पुर मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय सहकारी सम्मेलन तथा साधारणसभामा सहभागी विश्वका अर्थशास्त्री र सहकारीकर्मीले यस्तो बताएका हुन् । सहकारी मोडल सदस्य केन्द्रित र समुदायमा आधारित हुने बिजनेस मोडल भएकाले यसमार्फत तल्लो तहमा पुगेर काम गर्न सकिने उनीहरुको भनाइ छ । 

विश्वमा गरिबी निवारण र दिगो विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने सम्मेलनको मुख्य वक्ता अर्थशात्री लिन्दा युचले बताइन् । सहकारी संस्थाले समुदाय बुझेको हुनाले उनीहरूको आवश्यक्ताअनुसार काम गर्न सक्ने उनको भनाइ थियो । यसैगरी नर्वेका पूर्वप्रधानमन्त्री ग्रो हर्लेम ब्रन्डल्यान्डले संयुक्त राष्ट्रसंघले निर्धारण गरेका दिगो विकास लक्ष्य पूरा गर्न सहकारी क्षेत्र ‘मुख्य शक्ति’ बन्ने दाबी गरे ।

सम्मेलनमा सहकारीको मोडको भविष्य, सदस्य केन्द्रित सेवा, हाउजिङ सहकारी, सहकारीबीच नेटवर्किङ, सहकारीमा आधुनिक प्रविधिको प्रयोगलगायतका विषयमा छलफल भएको छ । विश्वमा अझै ७६७ मिलियन मानिस गरिब रहेको तथ्यांक रहेको छ । सम्मेलनमा सार्वजनिक गरिएको तथ्यांक अनुसार विश्वका उत्कृष्ट ३ सय सहकारीले मात्र २० खर्ब १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक कारोबार गरेका छन् । हाल विश्वका १ सयभन्दा बढी देशमा १ अर्ब भन्दा बढी सहकारीका सदस्य छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]