November 17th, 2017

यी हुन्, साताभरका टप बैंकिङ खबरहरु

बैंकिङ खबर । हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

व्याजदर करिडोर लागू
बुधबार(कात्तिक २९ गते)देखि ब्याजदर करिडोर लागू भयो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले बुधबारबाट ब्याजदर करिडोर लागू गरेको हो । यसअघि आफैँले व्याजदर निर्धारण गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरुले अब राष्ट्र बैंकले तोकेको निश्चित ब्याजदरमा कारोबार गर्नुपर्ने भएको छ । मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोर मार्पmत् तरलता प्रवाह तथा प्रशोचन गरिने राष्ट्र बैंकले जनाएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत रहेको छ । त्यस्तै, ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत रहेको छ । त्यस्तै, ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा प्रदान गर्नको निमित्त स्थायी तरलता सुविधा सम्बन्धी कार्य्विधि, २०७३ अनुसारका प्रक्रियाहरु अवलम्बन गरिने भएको छ ।

खाता खोल्न बैंक जानुनपर्ने
एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम “एनआईसी एशिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ । देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले उक्त बचत खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ । अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नम्बर प्राप्त गर्न सक्ने तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने सुविधा रहेको छ । ग्लोबल आईएमई बैंकले पनि यसै सातादेखि अनलाइन बचत खाता संचालनमा ल्याएको छ । 

नेपालमै पहिलोपटक मल्टि करेन्सी कार्ड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक्सिस बैंक अफ इन्डियासँगको सहकार्यमा नेपालमा नै पहिलो पटक मल्टि करेन्सी कार्डको सुरुवात गर्यो । साथमा इन्डो नेपाल इजि रेमिट र मोबाइल बैंकिङ एप्सको पनि शुरुवात गरेको छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधबार तीनवटै आधुनिक सेवाहरुको शुभारम्भ गरे । मल्टि करेन्सि कार्डमार्फत विश्वका १६ मुलुकमा जाँदा त्यहाँका मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्ने छन् । यसबाट नगद विदेशी मुद्रा सटहीमा समस्या झेलिरहेका ग्राहकहरुलाई राहत मिल्ने र अमेरिकी डलर गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा चोरी जस्ता जोखिमलाई समेत न्युनिकरण गर्ने विश्वास लिइएको छ । मोबाइल बैंकिङ एप्सबाट रकम भुक्तानी ट्रान्सफर तथा युटिलिटि बिल भुक्तानी गर्न सकिनेछ । त्यस्तै, इन्डो नेपाल इजि रेमिट सेवाबाट भारतमा रहेका नेपालीहरुले एक्सिस बैंकका तीन हजार पाँच सय शाखा कार्यालयहरुबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।

बैंकिङ ट्रेनिङ सम्पन्न
राजधानीमा आयोजित पाँच दिने बैंकिङ ट्रेनिङ विहीबार सम्पन्न भयो । कात्तिक २६ गतेदेखि संचालन भएको ट्रेनिङमा झन्डै ४० विद्यार्थीहरुको सहभागीता रहेको थियो । मिडिया इन्टरनेशनलद्धारा आयोजित उक्त बैंकिङ ट्रेनिङमा बैंकिङ क्षेत्रका विभिन्न विज्ञहरुद्धारा प्रशिक्षण दिइएको थियो । तालिममा सहभागी विद्यार्थीहरुले आफूले बैंकिङ क्षेत्रबारे जान्न चाहेको जानकारीहरु बैंकिङ ट्रेनिङले प्रदान गरेको भन्दै खुसी व्यक्त गरे । तालिममा सहभागी सम्पूर्ण विद्यार्थीहरुका लागि सर्टि्फिकेट पनि प्रदान गरिएको थियो । बैंकिङ ट्रेनिङ समापन समारोहको अन्त्यमा बोल्दै मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले आगामी दिनमा पनि यस्तो ट्रेनिङहरुको आयोजना गरिने जानकारी दिए । राजधानीमा मात्र नभएर राजधानीबाहिरका क्षेत्रहरुमा पनि बैंकिङ ट्रेनिङको आयोजना गरिने उनले बताए ।

महालक्ष्मी विकास बैंकमा कृष्णराज लामिछाने
विकास बैंकर्स एशोसियसनका निवर्तमान अध्यक्ष कृष्णराज लामिछानेले आइतबारदेखि महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यभार सम्हाले । बैंकको सञ्चालक समितिको बैठकले शनिबार (कात्तिक २५ गते) लामिछानेलाई सीइओ पदमा नियुक्त गरेको थियो । महालक्ष्मीमा संस्थापक प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पदबाट राजिनामा दिएपछि बैंकको सीईओ पद रिक्त थियो । आइतबार बिहान १० बजे नै महालक्ष्मीको मूख्य कार्यालय दरवारमार्ग पुगी कार्यभार सम्हालेको लामिछानेले बैंकिङ खबरलाई बताए । ‘आजदेखि मैले महालक्ष्मी विकास बैंकको नेतृत्व लिएको छु’ लामिछानेले भने– ‘अब महालक्ष्मीलाई कसरी नम्बर वान विकास बैंक बनाउन सकिन्छ, त्यसतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।’

अन्य,

  • सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंक बीच विप्रे्रषण सम्बन्धी सम्झौता भयो ।
  • सानिमा बैंक लिमिटेड र एक्सिस बैंक बिच भारत—नेपाल रेमिटयान्स सेवा सम्झौता भयो ।
  • गण्डकी विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगरमा नयाँ शाखा स्थापना गर्यो ।
  • लक्ष्मी बैंकले कञ्चनपुरको झलारी र कैलालीको बौनियाँमा नयाँ शाखाहरु संचालनमा ल्यायो । 
  • ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखाको स्थानान्तरण गरियो ।
  • आर्ईएमई पेले बिद्युत् महशूल वापतको रकम भुक्तान गर्न सकिने सुविधा ल्यायो ।
  • ज्योति विकास बैंकले मकवानपुरको वाग्मती गाउँपालिका वडा नं. ६, फापरबारी र हेटौँडा बजारमा नयाँ शाखा विस्तार गर्यो ।
  • एनआईसी एशिया बैंकले प्युठान नगरपालिका वडा नं. ०४, जुम्रीमा नयाँ शाखा विस्तार गर्यो ।
  • गण्डकी विकास बैंकले झापा जिल्लाको विर्तामोडमा नयाँ शाखा विस्तार गर्यो ।
  • एनआईसी एशिया बैंकले जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ०५ र महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ०१ मा नयाँ शाखाहरु विस्तार गर्यो ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]