November 17th, 2017

साइबर अपराधको नयाँ अनुहार : फर्जी समाचारबाट आम्दानी 

वासिङ्टन । साइबर अपराधीहरूले फर्जी समाचारलाई आम्दानीको राम्रो माध्यमका रूपमा विकास गर्दै कम्तीमा १० अमेरिकी डलरबाट शुरूगरी विभिन्न बिषयवस्तुको गम्भीरताका आधारमा मुल्य तय गरी लिने गरेको अमेरिकामा सार्वजनिक गरिएको एक अनुसन्धानले देखाएको छ ।

‘डिजिटल स्याडोज’ नामक अनलाइन सुरक्षा फर्मले सार्वजनिक गरेको प्रतिवेदनले जनाए अनुसार प्रसिद्ध सञ्चारमाध्यमसँग मिल्दोजुल्दो नाम राख्ने, वेबसाइटको आफ्नै आकर्षक नाम दिने वा अर्काको चलेको वेबसाइटको नाममा एक दुई अक्षर छुट्टाउने र यिनै वेबसाइटबाट गलत उत्पादनको प्रवर्द्धन गरी आम्दानी गर्ने प्रवृति बढेको जनाइएको छ ।

उक्त अध्ययन प्रतिवेदनमा खोजकर्ताहरूले विभिन्न दुई हजार ८ सय सञ्चालनमा रहेका यस्ता फर्जी वेबसाइट भेटेको पाएको जनाएका छन् । कतिपय अवस्थामा ख्याति कमाएका वेबसाइटमा एक दुई अक्षर हटाएर त कतिपय अवस्थामा सक्कली जस्तो लाग्ने वेबसाइटको नाम दिएर साइबर अपराधजन्य क्रियाकलापमा लाग्ने गरेको उक्त अध्ययन प्रतिवेदनमा दावी गरिएको छ ।

केहीले रसियामा रहेका प्रचारक समूहजस्तै उपाय अपनाउने र वेबसाइटमा सामाग्री प्रकाशन गरेवापत राम्रै मुल्य लिने गरेका बताइएको छ । यस्ता अपराधीले वैध कागजातलाई सामान्य परिवर्तन गर्ने र तिनीहरूलाई भ्रामक प्रचारबाजीका लागि समाजमा लाने गरेको उक्त समूहले जनाएको छ ।

कुनै राम्रो समाचार प्रसङ्गजस्तै यसरी बनेका ‘फर्जी समाचार’लाई आफ्ना सहयोगीमार्फत वितरण गर्ने, पुनः प्रकाशन वा प्रशारण गर्ने र बजारमा ल्याउने गरेका पाइएको छ, अध्ययनमा भनिएको छ ।

अपराधीले गलत सूचनालाई जति व्यापक रूपमा प्रचार गर्न सक्यो सर्वसाधारणको मनमस्तिस्कमा त्यति नै छाप पार्ने र यही नै आम्दानीको स्रोत बनाइने गरेको प्रतिवेदनमा छ । यस किसिमका भ्रामक प्रचारहरू आजभोलि राजनीतिमा पनि देखिन थालेका र यो गम्भीर चासोको बिषय बनेको अनुसन्धानमा सम्लग्न डिजिटल स्याडोका उप–प्रमुख रिक होल्याण्डले बताए ।

यो भूराजनीतिभन्दा पर आर्थिक लाभका लागि प्रयोग हुन थालेपछि यसको प्रभाव इमान्दार व्यापार र उपभोक्ताबीच पनि पर्न थालेको हल्याण्डको भनाई छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]