November 16th, 2017

व्यापार घाटा कम गर्न उत्पादन थाल्नुस् : गभर्नर

बुटवल : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले व्यापार घाटा कम गर्न स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन परिचालन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् । जडिबुटी, तरकारी अन्नको उत्पादनले आयात घटाउँदै व्यापार घाटा कम गर्ने भएकाले स्थानीय तहले त्यसतर्फ काम सुरु गर्नुपर्ने उनको भनाइ छ ।

रूपन्देहीको सैनामैनामा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै नेपालले सम्भावनै सम्भावना भएको मुलुकका सबै नागरिकले स्रोतसाधन सदुपयोग गर्दै उत्पादनमा जोड दिनुपर्नेमा जोड दिए । स्थानीय तहमा हुने गरेको स्रोतसाधनको परिचालन गरेरै स्थानीय सरकार चलाउनुपर्ने भन्दै केन्द्रीय सरकारको मुख ताक्ने अवस्थाको अब अन्त्य भएको उनले बताए । ‘स्थानीय तहले केन्द्रको मुख ताक्ने मात्रै गर्नुहँुदैन, बजेट परिचालन गरेर उत्पादन बढाउँदै आयात प्रतिस्थापनमा केन्द्र सरकारलाई सघाउनुपर्छ', उनले भने ।


गत आर्थिक वर्षमा नेपालमा ९ सय १७ अर्ब व्यापार घाटा भएको र त्यसलाई काम गर्न उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिइएको छ ।

गत आर्थिक वर्षमा नेपालमा ९ सय १७ अर्ब व्यापार घाटा भएको र त्यसलाई काम गर्न उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने उनले बताए । गत वर्ष २३ अर्बको चामल, १० अर्बको तरकारी तथा सात अर्ब रुपैयाँको फलफूल आयात भएको उनको भनाइ छ । युवाहरू विकसित मुलुकमा गएर अरूको देश बनाउनुभन्दा आफ्नै देशमा काम गर्दै नेपाललाई समृद्ध बनाउनुपर्ने उनले बताए ।

राष्ट बैंकले ५ प्रतिशत अनुदानमा किसानलाई ऋण दिए पनि बैंकमा ७० करोड अहिले पनि मौज्दात रहेको गभर्नर नेपालको भनाइ छ । कृषि गर्नेलाई यसबारे जानकारी दिन आवश्यक रहेको उनले बताए । ‘अनुदानको पैसा बैंकमा थुप्रिएको छ, उद्यम गर्न चाहनेलाई स्थानीय तहले सूचना दिनुपर्छ', उनले भने । दुर्गममा रहेकाहरूलाई १ प्रतिशत पूर्ण कर्जा दिइएको उल्लेख गर्दै नेपालले केही गर्न खोज्नेहरूलाई लगानीको चिन्ता नभएका दाबी गरे । अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]