November 15th, 2017

राष्ट्र बैंकले सुधार्यो एनसीसी बैंक, नाफा बढाएर १६ करोड पुर्यायो

बैंकिङ खबर । ३५ महिनासम्म नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा रहेर फुकुवा भएको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चालू आर्थिक वर्षको पहिलो महिनामा नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, एनसीसी बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १६ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ५५ प्रतिशत बढी नाफा कमाएके हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनसीसीले १२ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ७२ करोड ४६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६१ अर्ब ३८ करोड १२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ९२ प्रतिशतले वृद्धि गरी ४८ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी १२ दशमलव ३९ प्रतिशतले घटेर २१ करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९२ दशमलव ९४ प्रतिशतले घटेर एक करोड २५ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २३ करोड १४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा तीन करोड ५७ लाख रुपैयाँ राखेको छ ।

एनसीसी बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ५८ दशमलव २३ रुपैयाँ, तरलता अनुपात २८ दशमलव ८५ प्रतिशत र मूल्य आम्दानी अनुपात २७ दशमलव २२ गुणा रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा चार दशमलव २९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ११ दशमलव ६८ प्रतिशत रहेको छ ।

एनसीसी बैंकमा राष्ट्रिय स्तरका चार विकास बैंकलाई विलय गराएर हालै मात्र राष्ट्र बैंकले बैंक व्यवस्थापनबाट हात झिकेको थियो । नेपाल राष्ट्र बैंकको संचालक समितिको मिति २०७०।१०।२१ को निर्णय अनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको व्यवस्थापन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ५४ को उपदफा (१) बमोजिम राष्ट्र बैंकले एनसीसी बैंकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । इन्फ्राष्ट्रक्चर डेभलपमेण्ट, एपेक्स डेभलपमेण्ट, सुप्रिम डेभलपमेण्ट र इन्टरनेसनल डेभलपमेण्ट गरी चारवटा विकास बैंकसँग मर्जर गरी एकिकृत कारोबार गराएर राष्ट्र बैंक बाहिरिएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]