November 15th, 2017

सेञ्चुरी बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो ‘मल्टि करेन्सी कार्ड’

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक्सिस बैंक अफ इन्डियासँगको सहकार्यमा नेपालमा नै पहिलो पटक मल्टि करेन्सी कार्डको सुरुवात गरेको छ । साथमा इन्डो नेपाल इजि रेमिट र मोबाइल बैंकिङ एप्सको पनि शुरुवात गरेको छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधबार तीनवटै आधुनिक सेवाहरुको शुभारम्भ गरे । 

मल्टि करेन्सि कार्डमार्फत विश्वका १६ मुलुकमा जाँदा त्यहाँका मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्ने छन् । यसबाट नगद विदेशी मुद्रा सटहीमा समस्या झेलिरहेका ग्राहकहरुलाई राहत मिल्ने र अमेरिकी डलर गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा चोरी जस्ता जोखिमलाई समेत न्युनिकरण गर्ने विश्वास लिइएको छ । 

मोबाइल बैंकिङ एप्सबाट रकम भुक्तानी ट्रान्सफर तथा युटिलिटि बिल भुक्तानी गर्न सकिनेछ । त्यस्तै, इन्डो नेपाल इजि रेमिट सेवाबाट भारतमा रहेका नेपालीहरुले एक्सिस बैंकका तीन हजार पाँच सय शाखा कार्यालयहरुबाट नेपालमा पैसा पठाउन सक्नेछन् । 

कार्यक्रममा एक्सिस बैंकका प्रतिनिधि सिद्धार्थ राजले यो सेवा नेपाल र भारतका लागि अति उपयोगी हुने बताए । यो सेवा सुचारु भएसँगै अब नेपाल र भारतमा रेमिट्यान्स सेवा सरल र प्रभावकारी हुने र विभिन्न १६ राष्ट्रमा नोटको समस्या नहुने उनले बताए । त्यस्तै, अधिकांश नेपाली भारतमा काम गर्ने गरेको बताउँदै एक्सिस बैंकका प्रतिनिधि राजले पैसा पठाउँदा वा पैसा बोकेर घर आउँदा ठगिने र लुटिने समस्याको समाधानका लागि इन्डो नेपाल इजि रेमिटको व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै, नेपाल बैंकर एसोसिएनका अध्यक्ष अनिल केशरी शाहले मल्टि करेन्सी कार्डको प्रयोग गरी डलर कार्ड बोक्नुपर्ने बाध्यता र बिदेशी मुद«ा विनिमयमा मुलुकलाई भइरहेको घाटा न्युनिकरण गर्न सकिने बताए । भारतमा भएको नोटबन्दीले नेपाली अर्थतन्त्रमा पारेको असरलाई स्मरण गर्दै उनले देशका बैंकलाई सबै परिस्थितिमा जुध्न यस प्रविधिले सहयोग गर्ने बताए ।
 
कार्यक्रमका प्रमुख अतिथि एवम् डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त प्रविधिको स्वागत गर्दै यसले देशमा महत्त्वपुर्ण भुमिका खेल्ने बताए । साथमा उनले यस प्रविधिमा आउन सक्ने बाधा र जोखिम न्युनिकरणमा ध्यान दिन सल्लाह समेत दिए । यसका लागि पिन, पासवर्ड र एसएमएस अलर्ट जस्ता प्रविधिलाई जोड दिनुपर्ने उनको भनाई थियो । 

कार्यक्रमको अन्त्यमा बोल्दै सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले मल्टि करेन्सी कार्ड, इन्डो नेपाल इजि रेमिट र मोबाइल बैंकिङ एप्सले सेवाग्राहीहरुलाई सरल बैंकिङको सुविधा दिनेमा आफु विश्वस्त रहेको बताए । धार्मिक कार्य र भ्रमणका लागि जाने नेपालिलाई नयाँ बैंकिङ सुविधा लाभदायक हुने उनको धारणा थियो ।

चाँडै नै थप दुई वित्तीय संस्थाहरुसँगको एक्विजिसन प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरु गर्ने तयारी गरिरहेको सेञ्चुरी बैंकले बोनस सेयर जारी गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउने भएको छ । यसैगरी बैंकले आफ्नो एक सयभन्दा बढी शाखा सञ्जालबाट भौतिक रुपमा तथा नविनतम प्रविधिमा आधारित नयाँ सेवाहरुबाट डिजिटल रुपमा ग्राहकहरुको घरदैलोमा सरल बैंकिङ सबैका लागि भन्ने मुलमन्त्रका साथ आफ्नो सेवा विस्तार गर्दैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]