November 13th, 2017

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ७१ करोडमाथिको कारोबार

बैंकिङ खबर । सोमबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १३.७४ अंकले बढेर १४९०.८८ अंकमा पुगेको छ । होटल र विकास बैंकबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह ७५.३१ अंकले बढेको छ । बैंकिङ, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १०.९१, १०, १४.९, १२.८, १८.५१ र १०.९९ अंकले बढेका छन् । होटल र विकास बैंक समूह क्रमशः १२.०३ र २.३ अंकले घटेका छन् । 

कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । दिनभरिमा १५८ वटा कम्पनीको १७ लाख ३० हजार पाँच सय ७२ कित्ता सेयर पाँच हजार सात सय १० पटक खरिदविक्री हुँदा ७१ करोड ४६ लाख ५७ हजार चार सय ५९ रुपैयाँको कारोबार भएको छ । आइतबार ३९ करोडको कारोबार भएको थियो । 

सोमबार गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सवा ११ करोडको कारोबार भएको छ भने प्रभु बैंक प्रोमोटरको झन्डै पौने छ करोडको कारोबार भएको छ । चिलिमे हाइड्रोको तीन करोड तथा नागरिक लगानी कोष, स्टान्डर्ड चार्टर्ड बैंक, प्राइम बैंक र नेपाल टेलिकमको दुई करोडमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

चिलिमे हाइड्रो, लक्ष्मी लघुवित्त, सिनर्जी पावर, खानीखोला हाइड्रो, ङादी ग्रुप पावर र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ८.१०, ७.४३, ७.१४, ५.७७, ५.२२ र ५.१६ प्रतिशतका दरले कमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स, अरुण काबेली पावर, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

जम्मा ४५ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । प्रभु बैंकका प्रोमोटर सेयरधनीले ६.३१ प्रतिशतका दरले गुमाएका छन् । तिनाउ डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, किसान माइक्रोफाइनान्स, वरियन्टल होटल्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नेरुडे लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]