November 13th, 2017

सबैभन्दा धेरै नाफा कमाउनेमा ‘नेपाल बैंक लिमिटेड’

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक लिमिटेडले सबैभन्दा धेरै मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा गिरावट आएको भए तापनि अन्य बैंकहरुको तुलनामा भने नेपाल बैंकको नाफा सबैभन्दा बढी हो । 

तीन महिनामा नेपाल बैंकले ९७ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १६.७० प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकले एक अर्ब १६ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब चार करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा चार अर्ब ७५ करोड ९३ लाख रुपैंया राखेको छ । निक्षेपमा ९२ अर्ब ७२ करोड सात लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ७३ अर्ब ६९ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १८ दशमलव ७३ प्रतिशतले बढेर एक अर्ब ३९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५१ दशमलव ९८ प्रतिशतले बढेर ७२ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २९ करोड २९ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले जोखिम व्यवस्थापन कोषमा २२ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ ।

नेपाल बैंकको निष्कृय कर्जा तीन दशमलब ४२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १६ दशमलब ५९ प्रतिशत रहेको छ । त्यस्तै, बैंंकको प्रतिसेयर आम्दानी ४८ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ९७ गुणा, प्रतिसेयर नेटवथ एक सय ५९ दशमलव १८ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ५९ प्रतिशत रहेको छ ।

प्रतिष्पर्धामा तीन बैंक
मुनाफाको आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र राष्ट्रिय वाणिज्य बैंक नेपाल बैंकसँगको प्रतिष्पर्धामा छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ८९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने नविल बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]