November 12th, 2017

कृष्णराज लामिछानेले सम्हाले महालक्ष्मी विकास बैंकको नेतृत्व

बैंकिङ खबर – विकास बैंकर्स एशोसियसनका निवर्तमान अध्यक्ष कृष्णराज लामिछानेले आइतबारदेखि महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिको बैठकले शनिबार (कात्तिक २५ गते) लामिछानेलाई सीइओ पदमा नियुक्त गरेको थियो । महालक्ष्मीमा संस्थापक प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पदबाट राजिनामा दिएपछि बैंकको सीईओ पद रिक्त थियो । 

आइतबार बिहान १० बजे नै महालक्ष्मीको मूख्य कार्यालय दरवारमार्ग पुगी कार्यभार सम्हालेको लामिछानेले बैंकिङ खबरलाई बताए । ‘आजदेखि मैले महालक्ष्मी विकास बैंकको नेतृत्व लिएको छु’ लामिछानेले भने– ‘अब महालक्ष्मीलाई कसरी नम्बर वान विकास बैंक बनाउन सकिन्छ, त्यसतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।’

लामिछानेको विगत
कृष्णराज लामिछाने बैंकिङ क्षेत्रमा धेरै लामो अनुभव भएका बैंकर मानिन्छन् । नेपालको जेठो बैंक नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गरेका लामिछाने यसअघि कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । अन्नपूर्ण फाइनान्सलाई स्तरोन्नती गरेर कैलाश विकास बैंक बनाएका लामिछानेले कैलाशमा विभिन्न वित्तीय संस्थालाई मर्ज गराएर वलियो विकास बैंक बनाउन सफल भएका थिए । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैकर्स एशोसियनको समेत दुई कार्यकालसम्म सफल नेतृत्व गरेका लामिछाने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को नियम अनुसार लगातार दुई कार्यकाल सिइओको रुपमा बस्न नपाइने भएपछि लामिछानेले कैलाश छाडेका थिए । 

लामिछानेले कसरी अघि बढाउछन् त महालक्ष्मीलाई ? 
महालक्ष्मीका संस्थापक प्रमुख कार्यकारी अधिकृत भट्टराईले राजिनामा दिएसँगै महालक्ष्मी विकास बैंकको सीईओमा कैलाश विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं विकास बैंकर्स संघका निवर्तमान अध्यक्ष कृष्णराज लामिछानेको चर्चा हुन थालेको थियो । लामिछाने बाहेक महालक्ष्मीको सीईओ बन्न बैंकिङ क्षेत्रमा लामो अनुभव भएका अजय मिश्र, कुमारी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय र मेगा बैंकमा लामो समयसम्म काम गरेका श्रीचन्द्र भट्ट समेतको चर्चा थियो । तर, बैंकका अधिकांश सञ्चालकहरुले लामिछानेलाई ल्याउनुपर्ने अडान राखेपछि अन्ततः लामिछाने नै नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका लामिछाने महालक्ष्मीको सीईओ बनेसँगै अब महालक्ष्मीलाई कस्तो बनाउलान् भन्ने बिषयले चर्चा पाएको छ । ‘अब महालक्ष्मीलाई कसरी अघि बढाउनु हुन्छ त ?’ भन्ने बैंकिङ खबरको प्रश्नमा लामिछानेले सबै कोणबाट महालक्ष्मीलाई नेपालको नम्बर वान विकास बैंकको रुपमा स्थापित गराउने आफ्नो लक्ष्य रहेको प्रतिक्रिया दिएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]