November 11th, 2017

अनिल केशरी शाहमाथि तीन चुनौती

सुष्मा थापा । हालसम्म मेगा बैंक नेपाल लिमिटेडका संस्थापक सीईओ रहेका अनिल केशरी शाह पुस १७ गतेदेखि सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा जाँदैछन् । बैंकर्स संघका अध्यक्ष समेत रहेका अनिल केशरी शाहले मेगा बैंकमा दुई कार्यकाल सकेर सेञ्चुरीमा जान लागेका हुन् । नेपालका सेलिब्रेटी बैंकर भनेर चिनिने अनिल केशरी शाह हाल मेगा बैंक नेपाल लिमिटेडका सिईओ छन् । मेगा बैंकमा छँदा आफूले धेरै काम गरेको र केहि काम बीचमै छाडेर जानुपर्ने बाध्यता आइपरेको बैंकर शाहले बताए । ‘हलोदेखि हाइड्रोसम्म भन्ने नारासहित सबै नेपालीको बैंक बन्ने लक्ष्य लिएर मेगा बैंकको स्थापना भएको थियो’ बैंकिङ खबरसँग बैंकर शाहले भने ‘आजका दिनसम्म आइपुग्दा त्यो लक्ष्य पुरा भएको जस्तो मलाई लाग्छ । साना–साना उद्योग धन्दादेखि लिएर ठुला ठुला उद्योगसम्ममा हामीले लगानी गरेका छौँ ।’ शाखा, एटिमएम, ब्रान्चलेन्स बैंकिङ र रेमिट्यान्सको नेटवर्क हेर्दा नेपालको अधिकांश स्थानमा मेगा बैंकको पहुँच पुगिसकेको बताउँदै शाहले टुरिमज डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया लगायतका काम बिचमै छाडेर जानु परेको बताए ।

बैंकिङ क्षेत्रका बादशाह मानिने डाइनामिक व्यक्तित्व शाहको सेञ्चुरी यात्रा चुनौतिमय हुने देखिएको छ ।

बैंकलाई सफल बनाउने चुनौति
अनिल केशरी शाहमाथि सबैभन्दा पहिले त बैंकलाई सफल बनाउने चुनौति छ । मेगा बैंकमा हलोदेखि हाइड्रोसम्म भन्ने नारा ल्याएर चर्चा बटुलेका शाहले उक्त नारालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन नसक्दा आलोचनाहरु पनि खेप्नु परिरहेको छ । साथै, मेगा बैंकलाई अत्याधिक फाइदामा लैजान नसकेका कारण पनि उनीमाथि टिकाटिप्पणीहरु भइरहेको छ । यस्तो अवस्थामा सेञ्चुरी बैंकलाई हरेक क्षेत्रबाट अब्बल बनाउने जिम्मेवारी शाहको काँधमा छ । 

सेञ्चुरी कमर्शियल बैंक बाणिज्य बैंकमा सबैभन्दा कान्छो, वित्तिय कारोवार, व्यवस्थापन र सुशासनका दृष्टिकोणले निकै नै कमजोर अवस्थाबाट गुज्रिरहेको बैंक हो । यस्तो अवस्थामा रहेको बैंकमा अब बैंकिङ क्षेत्रमा अब्बल मानिएका र महँगो सीईओ अनिल शाहको आगमन पछि बैंकको यो गुज्रिएको स्थितिमा सुधार ल्याउला त भन्ने प्रश्न सेयर होल्डरहरुले गर्न थालेका छन् । सेञ्चुरी कमर्शीयल बैंकमा जाने औपचारिक सहमति गरिसकेका बैंकर शाहले नेतृत्व सम्हालीसकेपछि सेञ्चुरीलाई कसरी अगाडी बढाउछन् त ? भन्ने चासोको बिषय बनेको छ । सेञ्चुरीलाई कसरी अघि बढाउने भन्ने बिषयमा योजना बनाउन बाँकी रहेको बैंकर शाहले बताए । ‘सेञ्चुरी बैंकलाई अघि बढाउन कस्ता योजना बनाउनु भएको छ ?’ भन्ने बैंकिङ खबरको प्रश्नमा बैंकर शाहले भने– ‘सेञ्चुरीलाई कसरी अघि बढाउने भन्ने योजना अहिले बनाएको छैन, सेञ्चुरीमा गएपछि त्यहाँको टिमसँग छलफल गरेर सबैको राय सुझाव लिएर योजना बनाउँछु ।’

नयाँ टिमसँगको सहकार्य
मेगा बैंकमा दुई कार्यकाल एकै टिमसँग काम गरिरहेका अनिल केशरी शाहले अब सेञ्चुरी बैंकको टिमसँग काम गर्नुपर्नेछ । आठ वर्षसम्म एउटै टिमसँग सहकार्य गरिरहेका शाहसँग सेञ्चुरीको टिमसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने चुनौति पनि रहेको छ । 

बैंकिङ पहुँच विस्तार
अनिल केशरी शाह बैंकर्स संघका अध्यक्ष समेत भएकाले बैंकिङ पहुँच विस्तारमा समेत उनले भूमिका खेल्नुपर्ने हुन्छ । सेलिब्रेटी बैंकरको रुपमा मात्रै नभएर शाहले बैंकिङ क्षेत्रका लागि दिएका अन्य महत्वपूर्ण योगदानहरुका लागि पनि चिनिनुपर्ने छ । बैंकिङ प्रविधि, सुरक्षादेखि लिएर वित्तीय साक्षरता अभिवृद्धि र वित्तीय पहुँच विस्तारको अविभारा समेत उनकै काँधमा रहेको छ । त्यसैले, सेञ्चुरी बैंकमा रहेर अनिल शाहले सेञ्चुरी बैंकका लागि मात्र नभएर समग्र बैंकिङ क्षेत्रकै बारेमा सोच्नुपर्ने अवस्था रहेको छ । 

अनिल शाहको विगत
भीरकोटे राजा तारकबहादुर शाहका नाती हुन् अनिल केशरी शाह । उनकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत हुन् । उनका पिताको नाम डा. नारायण केशरी शाह हो । हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले दिल्ली युनिभर्सिटीबाट एमबिए गरेका छन् । उनले मार्के्िटङ विषयमा पनि स्नातकोत्तर गरेका छन् ।

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए)का अध्यक्ष समेत रहेका अनिल केशरी शाहको बैंकिङ करिअर काठमाडौँस्थित कान्तिपथमा रहेको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बाट सुरु भएको थियो । त्यहाँ उनले वित्तीय विश्लेषक भएर काम गरे । व्यवसायिक रुपमा बैंकिङ भने तत्कालिन नेपाल ग्रिण्लेज अर्थात अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंक नेपालबाट सुरु गरेका हुन् । त्यहाँ १३ वर्ष काम गरेका उनी प्रमुख सञ्चालक अधिकृत (सिओओ) सम्म भएका थिए । त्यसपछि उनी नबिल बैंकमा महाप्रवन्धकमा रुपमा छिरे । पछि प्रमुख कार्यकारी अधिकृत भएर बाहिरिए । नबिल बैंकमा उनले छ वर्ष बिताए । केही बर्षदेखि उनी मेगा बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृत छन् । 

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा एनबिएको वरिष्ठ उपाध्यक्ष भइसकेका थिए । नबिल छाडेर केही समय खाली भएपछि उनी एनबिएबाट वाहिरिएका थिए । बैंकिङ क्षेत्रमा नभएको प्रमुख कार्यकारी एनबिएको सदस्य नहुने विधानको व्यवस्था अन्तर्गत उनी वरिष्ठ उपाध्यक्ष हुँदाहुँदै त्यहाँबाट बाहिरिएका थिए । पछि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि उनी सदस्य हुँदै फेरि वरिष्ठ उपाध्यक्ष बनेका उनी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चुनिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]