Wednesday , July 18 2018

सम्पति शुद्धिकरणको लागि छुट्टै संयन्त्रको आवश्यकता

November 8, 2017

सबीर अली । गैरकानुनी स्रोतबाट आर्जन गरेको सम्पतिलाई कानुनी स्रोतबाट प्राप्त गरेको देखाई, उक्त सम्पतिको वास्तविक स्रोत लुकाएर प्रकृति परिवर्तन गरेर कारोबार छल्ने प्रक्रियालाई सम्पति शुद्धिकरण भनेर बुझिन्छ । सम्पति शुद्धिकरण एउटा आर्थिक अपराध हो जसले विभिन्न जटिल तथा बहुचक्रिय रुपले राज्यको संयन्त्रको दुरुपयोग गरेको पाईएको छ । सम्पति शुद्धिकरण एक आर्थिक अपराध भएको हुनाले यसले कसैको हित गर्दैन । यसले लागु औषध, आतंकवादी क्रियाकलाप जस्ता सामाजिक एवं अपराधिक समस्या निम्त्याउँछ । यसले राज्य एवं साधारण जनतामाझ नकारात्मक प्रभाव पर्छ र मुलुकमा आर्थिक मन्दी हुनुका साथै शान्ति सुरक्षामा समेत असर पर्न जान्छ ।

सम्पत्ति शुद्धिकरणका लागि बैंकिङ च्यानलको प्रयोग
विश्वव्यापी रुपमा सम्पति शुद्धिकरण जस्ता अपराध २ देखि ५ प्रतिशतको हाराहारीमा भईरहेको अनुमान गरिएको छ  । नेपाल, श्रीलंका, भुटान, बंगलादेश इत्यादि जस्ता साना अर्थतन्त्र भएका तथा अविकसित राष्ट्रलाई यसले झन् नकारात्मक असर पार्छ । शुद्धिकरणकर्ताले गैरकानुनी रुपबाट आर्जित सम्पति सर्वप्रथम बैंक तथा वितिय संस्थामा विभिन्न विधिमार्फत आफ्नो वा आफन्तहरुको खातामा जम्मा गर्ने गरेको पाईएको छ । सम्पति शुद्धिकरणकर्ताले सम्पति शुद्धिकरण गर्नको निम्ति राज्यको एउटा ठुलो संयन्त्र “बैंकिङ च्यानल” प्रायोग गरेको पाइन्छ । सम्पति शुद्धिकरणकर्ताले विभिन्न गैरकानुनी क्रियाकलापबाट आर्जन गरेको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा खण्डिकरण गरि निक्षेप सरह जम्मा गर्ने र झिक्ने गरेको पाईन्छ ।   

सम्पति शुद्धिकरणकर्ताले गैरकानुनी स्रोतबाट आर्जित गरेको रकम शुद्धिकरण गर्नको निम्ति मूलत ३ वटा चरणहरु प्रयोग गर्ने गर्छन । ति हुन् :
(क) रकम राख्ने : पहिलो चरणमा सम्पति शुद्धिकरणकर्ताले गैरकानुनी स्रोतबाट आर्जित रकमलाई विभिन्न बैंक तथा वित्तीय संस्थामा खण्डिकरण गरि वा स–साना कारोबार देखाई अन्तर बैंक रकमान्तर, धनादेश(मनि अर्डर), विद्युतीय बैंकिङ प्रणाली तथा अन्य उपयुक्त विधिबाट सो रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ ।
(ख) रकमको तहकिकरण गर्ने : दोश्रो चरणममा सम्पति शुद्धिकरणकर्ताले गैरकानुनी रुपबाट आर्जित गरेको रकमको स्रोत  एवं उत्पतिको प्रसंगमा थप अलग्याउने प्रयास गर्ने गर्दछ र यसका लागि उसले झन् जटिल एवं बहुचक्रीय वित्तीय कारोबारको सहायता लिन्छ । जस्तै सम्पति शुद्धिकरणकर्ताले सेयर तथा डिबेन्चर किनबेच गर्ने, कम अवधिको लागि बढी रकमको बीमा गर्ने, विभिन्न मुलुकमा रहेको आफन्तको नाममा विद्युतीय वित्तीय सेवाको प्रयोग गर्ने तथा अन्य विधिमार्फत थोरै थोरै गरि रकम स्थानान्तरण गर्ने इत्यादी जस्ता क्रियाकलाप देखाएर यस्तो रकम तहकिकरण गर्ने गर्दछ ।
(ग) रकम एकीकृत र मूल प्रवाहिकरण गर्ने :  तेश्रो चरण शुद्धिकरणकर्ताले विभिन्न बैंक तथा वित्तीय संस्थामा छरेर राखेकोे रकमलाई एकीकृत गरि बैधानिक (कानुनी) क्षेत्रमा लगानी गर्ने गर्छ । यस क्रममा उसले खास गरी घर जग्गामा व्यापार, अन्य व्यापार व्यवसाय, स्थायी सम्पति वा संस्थागत क्षेत्रमा लगानी गर्ने गर्दछ । यसरी पटक पटक रकमको स्थानान्तरण वा जटिल बहुचक्रीय वित्तीय कारोबार गरेर उसले गैरकानुनी (कालो) आम्दानीलाई शुद्ध गर्ने कार्य सम्पन्न गर्दछ ।

सम्पति शुद्धिकरण न्यूनीकरणको विधि 
KYC अर्थात ग्राहक पहिचान फारम र KYE कर्मचारी पहिचान फारमको माध्यमबाट सम्पति शुद्धिकरणकर्तालाई पहिचान गर्न सकिन्छ । साधारणतः KYC(Know your Customer) शब्दले ग्राहकको पहिचान र KYE (Know Your Employee) भनेको कर्मचारी पहिचानको लागि प्रायोग हुने एउटा मुख्य औजारको रुपमा लिन सकिन्छ । ग्राहक र कर्मचारीको पहिचान र ठेगाना यसका दुईवटा घटक हो । यसमा ग्राहक वा कर्मचारीको साचो पहिचान, ग्राहक वा कर्मचारीको खाताको लाभकारी स्वामित्व, धनको स्रोत र ग्राहकको व्यवसायको प्रकृति इत्यादि कुराहरु निर्धारण गरिएको हुन्छ, जसले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन गर्न मद्दत गर्छ । साथै शुद्धिकरणकर्ताले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीसँग नियमित प्रत्यक्ष कारोबार गरेको हुन्छ र त्यस्ता कारोबार शंकाष्पद लागेको खण्डमा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (FIU) मा शंकाष्पद कारोबार प्रतिवेदन (Suspicious Transaction Report-STR) थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोट (TTR) गम्भीरता तथा निष्पक्ष रुपले सो प्रतिवेदन पठाउनु पर्छ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहक पहिचान सिद्धान्त (KYC Norms) अनुसार आफ्ना ग्राहक पहिचान नीति (KYC Policy), ग्राहक स्वीकार्य नीति, ग्राहक पहिचान प्रक्रिया, कारोबारको नियमित अनुगमन र जोखिम व्यवस्थापनलाई मध्य नजर गरि यी चार मुख्य तत्व अनुसार फ्रेमिङ गर्न सकिन्छ । पूर्ण रुपले अनुपालन सुनिश्चित गर्नु बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कर्मचारीहरुको दायित्व एवं कर्तव्य हो ।

सम्पति शुद्धिकरणको लागी छुटै संयन्त्रको आवश्यकता
नेपाल अधिराज्यमा इजाजतपत्र प्राप्त बैंक वित्तीय संस्था बाहेक अन्य संघ संस्थाहरुले पनि वित्तीय कारोबार गरेको पाइन्छ । नेपालमा सहकारी तथा केहि गैरसरकारी संस्थाले पनि वित्तीय कारोबार गरेको पाइएको छ । कतिपय यस्ता संस्थाहरु नेपाल राष्ट्र बैंकको छातामा नपरेको हुनाले तथा यी संघ संस्थाहरुको नियामक निकाय फरक फरक भएको हुनाले यी संघ संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्न नसकेको हो । यी संस्थाहरुद्धारा स्वीकार भएको बचत तथा निक्षेपको स्रोत र लगानी गरेको ऋणको समेत नियामकद्वारा प्रभावकारी तथा नियमित अनुगमन नभएको हुनाले थप वित्तीय अपराध हुने सम्भावना हुन सक्छ । तसर्थ यी संघ संस्थाहरुको नियमति कारोबार सुरक्षित तथा वित्तीय अपराधमुक्त पार्न प्रभावकारी अनुगमन तथा सुपरिवेक्षणको आवश्यकता रहेको छ । राज्यले यस्ता संघ संस्थाहरुको लागि नियमन, अनुगमन र सुपरिवेकक्षण गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

सम्पति शुद्धिकारण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी बढ्नु राज्य र राज्यबासी समेतको लागि घातक कुरा हो । हाम्रो शरीरमा आक्रमण गर्ने क्यान्सर रोगझैँ सम्पति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी बढ्नु भनेको राष्ट्रभरि क्यान्सर फैलिनु हो, जुन राष्ट्र र हामी सम्पूर्ण नेपाली जनताहरुको लागि घातक हुन्छ । यो विषयलाई हामी सम्पूर्ण नागरिकले गम्भीरतापूर्ण लिई आ–आफ्नो तहतप्काबाट यसको नियन्त्रण गर्ने सफल प्रयास गर्नु हामी सबै नागरिकको दायित्व हो । (लेखक मुक्तिनाथ विकास बैंक लिमिटेडको वीरगंज शाखामा कार्यरत छन् ।)


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.